बालविवाह अन्त्य गर्न जनप्रतिनिधिको घरदैलो अभियान

बालविवाह अन्त्य गर्न जनप्रतिनिधिको घरदैलो अभियान

बैतडी : जिल्लाको पुरचौडी नगरपालिका वडा नं १ का नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान थालेका छन् । वडामा क्रियाशील बालक्लब, महिला समूह, महिला स्वास्थ्य स्वयंसेविकासंगै जनप्रतिनिधि पनि बालविवाह अन्त्यका लागि घरदैलो अभियानमा लागेका हुन्।

बालविवाहले पार्ने असर र बालविवाह गरेमा हुने कानुनी कारबाहीका बारेमा नागरिकलाई जानकारी दिनका लागि घरदैलो अभियान थालिएको पुरचौंडी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेशबहादुर गडालले बताए । उनले भने ‘बालविवाहले समग्र समाजमा समस्या निम्त्याएको छ, यसको अन्त्य गर्नैपर्छ । यसको अन्त्यका लागि हामीले वडा कार्यसमितिको पहिलो बैठकबाट निर्णय समेत गरिसकेका छौं । सो निर्णय कार्यान्वयनका लागि हामीले घरदैलो अभियान सञ्चालन गरेका हौं ।’

वडामा रहेका प्रत्येक बस्तीमा पुगेर अन्तरपुस्ता संवाद गरेर बालविवाह अन्त्यका लागि पहल गरिने वडा अध्यक्ष गडालले बताए । उनले भने ‘घरका बुढापाका र किशोरकिशोरीलाई एकैठाउँ राखेर बालविवाहले पार्ने असरका बारेमा बुझाउँछौं, यसले बालविवाह अन्त्य हुने हामीले विश्वास लिएका छौं ।’

जनप्रतिनिधिसंगै बालक्बल र महिला समूहका प्रतिनिधिहरुले सो अभियानमा साथ दिएका छन् । प्रत्येक बस्तीमा पुगेर बालविवाह अन्त्यका लागि घरदैलो गरिरहेको नगरस्तरीय बालसञ्जालका लालबहादुर भण्डारीले बताए । उनले भने ‘हामीले साविवको हाट गाविसलाई बालविवाहमुक्त बनाउनका लागि पहिलेदेखि नै पहल गरेका थियौं । यसमा नयाँ जनप्रतिनिधि आएपछि हामीलाई थप बल पुगेकोे छ । पुरचौंडीको वडा नं १ लाई बालविवाहमुक्त बनाएर छोड्छौं ।’

पुरचौडी नगरपालिकालाई स्वास्थ्यको नमूना नगरपालिका बनाउने अभियान सञ्चालन गरेको र यसमा बालविवाह अन्त्य गर्नु अनिवार्य भएकाले बालविवाह अन्त्यको अभियान शुरु भएको हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताए । ‘बालविवाहका कारण खासगरी महिलाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्रभाव असर परिरहेको छ । जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गर्नु निकै स्वागतयोग्य छ ।’ उनले भने, ‘बालविवाह अन्त्यका लागि अब कानुन अनुसार ठोस कार्ययोजना बनाएर जानुको विकल्प छैन् ।’

बालविवाह अन्त्यका लागि जनप्रतिनिधिहरुले थालेको अभियान निकै सकारात्मक भएको पुरचौंडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजेन्द्रबहादुर नेगीले बताए । जनताले मत दिएर चुनेका प्रतिनिधिले घरघरमा गएर आग्रह गरेपछि बालविवाह अन्त्य हुने विश्वास उनले व्यक्त गरे ।

बैतडी बालविवाह बढी हुने जिल्ला मध्ये पर्ने भएकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । गत असार १४ गते भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि बालविवाह अन्त्य गर्ने कुरालाई प्राथमिकतामा राखेका छन् । धेरै जसो स्थानीय तहका जनप्रतिनिधिहरुले एक बर्षको अवधिमा आफ्ना स्थानीय तहलाई बालविवाहमुक्त बनाउने घोषणा समेत गरेका छन् । करीब डेढ बर्षअघि बैतडीमा सम्पन्न भएको बालिका सम्मेलनले बैतडीलाई २०७५ सालभित्र बालविवाहमुक्त जिल्ला बनाउने प्रतिबद्धता समेत गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.