टाटाको एस हुपर टिपर नेपाली बजारमा
काठमाडौं: टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ। कम्पनीले आइतबार एक विशेष कार्यक्रमबीच यो टिपर नेपालमा सार्वजनिक गरेको हो।
कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले आजको बढ्दो सहरीकरण, जनसंख्याको चाप, पुराना तथा साँघुरा सडक गल्ली भएको हाम्रोजस्तो देशमा फोहोर-मैला सहज रुपमा संकलन गर्न र व्यवस्थापन गर्न टाटाको एस हुपर टिपर विकल्पका रुपमा स्थापित हुने बताए।
कार्यक्रममा फोहोर-मैला व्यवस्थापन संघका पदाधिकारीलगायत टाटा मोटर्सको प्रतिनिधिको उपस्थिति थियो। कार्यक्रममा संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो झन्झटिलो भएकाले आधुनिक विकल्पका रूपमा हुपर टिपर प्रयोगमा ल्याउन सकिने बताए। घर–घरबाट फोहोर संकलन गर्न सकिने र संकलित फोहोरलाई सजिलै लोड अनलोड गर्न मिल्ने १.८ क्युबिक मिटर क्षमता भएको यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोर राख्न दुईवटा छुट्टै कम्पार्टमेन्ट रहेको छ ।
सानो साइजको र राम्रो टर्निङ र्याडियस भएको गाडी भएकाले सहरका साँघुरा बाटोमा पनि सजिलै गएर फोहोर संकलन गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले जानकारी दिए ।
पावर-टेक-अफ यान्त्रिक व्यवस्था भएको टिपर चालकलाई प्रयोग गर्न सजिलो हुने गरी बनाइएको छ । संकलित फोहोरलाई ठूलो कम्प्याक्टर गाडीमा अनलोड गर्न सजिलोका लागि टु वटन रिमोट राखिएको छ । बलियो र आकर्षण डिजाइनका साथ बजारमा आएको यो गाडीमार्फत ८५-९० डिग्रीसम्म ढल्काएर फोहोर मैला अर्को गाडीमा खन्याउन सकिनेछ ।
संकलित फोहोरमैला गाडीबाट नखसोस् र दुर्गन्ध पनि नफैलियोस् भनेर दुवै कम्पार्टमेन्टलाई छोपेर बन्द गर्न गाडीमा रोली कभर पनि राखिएको कम्पनीले जनाएको छ।