तीन पुस्ताका तीन कुरा,सामूहिक पुनर्निर्माण हुन्न पूरा
भक्तपुर : वि.स. २०७२ वैशाख १२ मा भूकम्प गएको दुई वर्ष पूरा भइसकेको छ । तर अझै पनि अधिकांश भूकम्प पीडितहरुले आफ्नो घर तथा आवास पुनर्निर्माण गर्न सकेका छैनन् ।
सरकारले घोषणा गरेअनुसार आवास पुनर्निर्माणमा अनुदान दिन ढिलाइ गर्दा भक्तपुरमा पुनर्निर्माणको गति धेरै सुस्त छ । आफ्नै लगानीमा घर बनाएकाहरुले पनि कहिले निर्माण सामग्रीको अभाव त कहिले निर्माणकर्मीहरुको अभावले काम निरन्तर गर्न सकिरहेका छैनन् ।
कति ठाउँमा घरपरिवारमा बाबु, छोरा र नाति पुस्ताको कुरा नमिलेर पुनर्निर्माण कार्य थाँती रहँदै आएको छ ।
पुस्तान्तरणले गर्दा बाबुको कुरा छोरालाई चित्त नबुझ्ने र बाबुछोरा दुवैको कुरामा नाति पुस्ता सहमत हुन नसक्दा भक्तपुर नगरमा एउटा सामूहिक पुनर्निर्माण कार्य प्रभावित हुन पुगेको हो ।
भक्तपुर नगरपालिकाको साविक वडा नं ११ र १२ तथा हाल ४ र ५ वडास्थित भूकम्पले पूर्ण क्षति पुरयाएका तीनसय ३५ घरको सामूहिक पुनर्निर्माण गर्ने उद्देश्यले खँला सामुदायिक विकास संस्था स्थापना गरिएको थियो ।
उक्त संस्थाले भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको प्रमुख आकर्षण भैरवनाथ र भद्रकालीको रथ गुड्ने खँःला र ५५ हात लामो लिंगो ठड्याइने योसिंखेललाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित उक्त सामूहिक पुनर्निर्माण योजना अघि बढाइएको थियो ।
तर तीन पुस्ताका तीन विचारले गर्दा उक्त सामूहिक पुनर्निर्माण योजना कार्यान्वयन गर्न समस्या भएको संस्थाका अध्यक्ष रामसुन्दर भेले बताउँछन् ।
‘सामूहिक रुपमा पुनर्निर्माण गरिँदा गुणस्तर कायम गर्न सजिलो हुन्छ’, उनले भने, ‘निर्माण सामग्री ढुवानी, मजदुर व्यवस्थापनलगायत सबैमा कम खर्च हुन्थ्यो तर तीन पुस्ताका तीन विचारले गर्दा सामूहिक पुनर्निर्माण गर्न सकिरहेका छैनौं ।’
उनका अनुसार पहिलो पुस्ताको नाउँमा घर तथा जग्गा छ तर उनीहरु आफ्नो स्वामित्व गुमाउन चाहँदैनन् । दोस्रो पुस्ता भने पहिले पहिलो पुस्ताको नाउँमा रहेको घर तथा जग्गा आफ्नो नाउँमा ल्याउन चाहन्छन् । उनीहरु आफ्नो लगानीबाट घर पुनर्निर्माण गर्नेभन्दा सरकारले दिने अनुदान र ऋणको मुख ताकिरहेका छन् ।
तर तेस्रो पुस्ता जुन अहिलेको नयाँ पुस्ता हो, उनीहरु समाजमा प्रतिस्पर्धा बढेकाले भएको सम्पत्ति वा जग्गामै चाँडै घर पुनर्निर्माण गरेर अरु व्यापार व्यवसायमा लागौं भन्ने सोचाइ राख्छन् । उनीहरु उत्साहित र ऊर्जावान छन् तर उनीहरुसँग न घरजग्गा छ न त पैसा नै । उनीहरुलाई बाबु तथा बाजे पुस्ताले विश्वास गर्न सकिरहेका छैनन् । जुन अधिकांश नेपाली युवाहरुको समस्या हो । उनीहरुको हात खाली छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले समेत ऋण दिन पत्याइरहेको छैन । किनकि ऋणको लागि आवश्यक घरजग्गा बाबुबाजेको नाउँमा छन् ।
अध्यक्ष भेलेका अनुसार पहिलो पुस्ता आफूहरुकै कारण नयाँ पुस्ताले गरिखान सके राम्रो भन्ने सोचाइ राख्छ । उनीहरु आफ्नो कारण आफ्ना छोरानातिहरु अरुभन्दा पछि नपरुन् भन्ने सोचका छन् । तर दोस्रो पुस्ता आफ्नो स्वामित्वमा केही नभए पनि अधिकार राख्छन् । तर उनीहरु अघि नसर्दा पुनर्निर्माण प्रभावित भएको संस्थाको आर्थिक, राष्ट्रिय तथा स्थानीय जनसम्पर्क उपसमिति संयोजक रोशन भोयद्यो बताउँछन् ।
उनले दुई वडाका तीन सय ३५ भूकम्प प्रतिरोधी घरको पुननिर्माण गर्न करिब दुई अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
उक्त योजनाको लागि गःहिटी तथा योसिंखेल क्षेत्रको पूरा नक्सांकनसँगै थ्रीडी डिजाइन तयार गरिसकिएको उनले जानकारी दिए ।
व्यवसाय सञ्चालन गर्न मिल्ने गरी ससाना घरहरुलाई मिलाइने उक्त योजनामा उल्लेख छ । जुन पछि आवश्यकताअनुसार व्यक्तिलाई छुट्याइदिने व्यवस्थासमेत रहेको छ । सम्पूर्ण घरमा ठाउँले दिएसम्म व्यवसायिक ढंगबाट आवश्यक पूर्वाधारले युक्त बनाउने संस्थाको उद्देश्य थियो तर पुस्ताबीचको द्वन्द्वले गर्दा उक्त योजना कार्यान्वयन हुन सकिरहेको छैन ।
तर सामूहिक रुपमा हुन नसके पनि उक्त क्षेत्रमा व्यक्तिगत रुपमा करिब एक दर्जन घर गुरुयोजनाअनुसार नै पुनर्निर्माण भएको संस्थाले जनाएको छ ।