पहिरोको जोखिममा एक सय २६ घर
साँगुरीगढी (धनकुटा) : साँगुरीगढी गाउँपालिका ६ मझुवाका अमृत मगरले चार वर्षअघि डेढ लाख रुपैयाँ ऋण लिई घर बनाए। घरनजिकैको खहरे साचा खोलामा आएको पहिरोले घरजग्गा लगिदिएपछि एक वर्षमै उनी विस्थापित भए।
खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएका उनको घरसँगैको जग्गा पहिरोले लगिदिएपछि अहिले उनी अर्काको जग्गामा बसिरहेका छन । घरसहित १० रोपनी जग्गा रहेको उनको अहिले ३ रोपनी मात्रै बाँकी छ। ‘बर्सेनि पहिरोको क्षेत्र बढ्दै छ । त्यो जग्गा पनि पहिरोले कुन दिन लैजाने हो, टुंगो छैन।’ स्थानीय छिमेकी खड्ग मगर, खिला मगर र उत्तम मगरको घर पनि पहिरोले लगिसकेको छ। पुस्तौंदेखि बसिरहेको थातथलो पहिरोले लगे पनि अमृतजस्तै उनीहरू पनि विस्थापित छन।
मझुवा गाउँस्थित साचा खोलाको शिरमा विगत केही वर्षयता गइरहेको पहिरोको कारण उक्त गाउँका २७ घरपरिवार अहिले त्रासमा छन् । अन्य घरपरिवार पनि विस्थापित हुने क्रममा छन् । साचा खोलाको पहिरो फैलिएर अहिले बस्तीसम्म आइपुगेको स्थानीय यमबहादुर मगरले बताए । मझुवा गाउँको माटो कमेरे एवं फुस्रो भएका कारण हिउँदमा सुक्खा र बर्खामा हिलोसहितको पहिरो जाने उनले बताए।
२०७२ सालको भूकम्पपछि बढी मात्रामा पहिरो जान थालेको उनको भनाइ छ। ‘अन्य घरपरिवार पनि विस्थापित हुने क्रममा छन्’, उनले भने । पहिरोले १ सयभन्दा बढी जग्गा कटान गरिसकेको यमबहादुर मगरले बताए । कुनै बेला पाँच मिनेटमा खोल्सीको दूरी पार गर्न सकिन्थ्यो। तर, अहिले आधा घन्टाभन्दा बढी समय लाग्ने गरेको अन्य स्थानीय बासिन्दाको भनाइ छ।
मुक्तेनमा उस्तै त्रास
मुक्तेन गाउँमा पनि मझुवाको जस्तै त्रास छ । उक्त गाउँमा १ सय घरपरिवारको बसोवास छ । तर, अहिले पहिरोको त्रासले १० घरपरिवार विस्थापित भइसकेको स्थानीय रनबहादुर मगरले बताए । यहाँको माटो पनि कमेरे र फुस्रो भएकाले हिउँद–बर्खा दुवै समयमा पहिरो गइरहन्छ । गाउँका दुई ठाउँमा ठूला पहिरो गएका छन् । ९० सालको भूकम्पदेखि पहिरो गइरहेको छ । ‘२०४५ र २०७२ सालको भूकम्पले धक्का दिएपछि धेरै मात्रामा पहिरो जान थालेको हो’, उनले भने, ‘पहिरो रहेको स्थानमा दर्जनभन्दा बढी घर थिए । तर, अहिले त्रासले सबै विस्थापित भइसके।’
सडक सञ्जालबाट विच्छेद
भेडेटारको नाम्जेबाट मझुवा हुँदै मुक्तेनसम्म कृषि सडक बनेको छ। तर केही महिनाअघि साचा खोलामा आएको पहिरोले मुक्तेन गाउँसम्म पुग्ने सडक सञ्जालको सम्बन्ध विच्छेद भएको छ । यहाँका स्थानीयको पेसा कृषि हो। गाउँभरि नै सिजनअनुसार तरकारी खेती हुन्छ । तर, अहिले पहिरोले सडक बगाएपछि बजारसम्म तरकारी बोकेर ल्याउनुको विकल्प नरहेको मुक्तेनका स्थानीय मोहन मगरले बताए। गाउँमा अहिले अकबरे खुर्सानी, नास्पाती, काँक्रालगायत कृषिजन्य वस्तु उत्पादन भइरहेका पनि बजार नपाउँदा गाउँमै कुहिने अवस्था सृजना भएको छ।
विद्यार्थीलाई समस्या
मुक्तेन गाउँमा प्राविसम्म पढाइ हुने विद्यालय छ। तर प्रावि तहभन्दा माथिका विद्यार्थी पढ्न नाम्जेस्थित ग्रामीण जनता माध्यमिक विद्यालयमा आउनुपर्छ। मुक्तेनबाट करिब १ सय जना विद्यार्थी पढ्न नाम्जेको विद्यालयमा जान्छन्। पहिरोले बाटो बगाएपछि भीरबाट जोखिम मोलेर विद्यालय जान्छन्। पहिरोभन्दा माथि मान्छे हिँड्ने पैदल बाटो बनाए पनि जोखिम छ।