पाँच किलो सुपारीसहित भारतीय महिला पक्राउ
मोरङ: विराटनगर भन्सार कार्यालयको-१ नम्बर ढाट नजिकै सोमबार विहान एक महिलालाई भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल-भारत सीमानाको दशगजा नजिकै देखिएकी भारत बथनाहाकी ४५ वर्षीय जाहादा खातुनको शरीर अस्वभाविक देखिएपछि प्रहरीले खानतलासी गरेर नियन्त्रणमा लिएको हो।
खानतलासी गर्दा शरीर भरी सुपारी 'फिट' गरेर भारत कटाउन लागेको प्रहरीले जनाएको छ।प्रहरीले पाँच किलो सुपारी सहित खातुनलाई पक्राउ गरेको छ।शरीर भरी सुपारी 'फिट' गरेर बाहिरबाट कपडा लगाएर हिंडिरहेको अवस्थामा उनलाई प्रहरीले फेला परेको हो।
कपडाको भित्री भागमा गोजी बनाएर त्यहाँ पनि सुपारी हालेर लग्ने गरेको पाइएको छ। सीमा प्रहरी चौकीले विराटनगर भन्सार नाकाको बाटो हुँदै तस्करी गरेर भारततर्फ कटाउन लागिएको अवस्थामा एक सातामा ४५ किलो सुपारी बरामद गरेको छ।
सबै सुपारी महिलाको शरीरमा 'फिट' गरेर लुकाईछिपाई भारततर्फ तस्करी गर्न खोज्दा नियन्त्रणमा लिइएको चौकीका प्रमुख प्रहरी नायव निरीक्षक दीपक यादवले बताए।
उनका अनुसार सीमावर्ती नाकाबाट महिलाको प्रयोग गरेर दैनिक ठूलो परिणाममा भारततर्फ सुपारी तस्करी हुने गरेको पाइएको छ।'दैनिक जसो सुपारी बरामद हुन थालेको छ,' यादवले भने, 'अरु तरिकाले कटाउन नसकिएपछि महिलाको शरीर भित्र ‘फिट' गरेर लैजाने गरेको पाइयो।'
सीमावर्ती क्षेत्रमा महिला प्रहरीको उपस्थिती न्यून भएको र पुरुष प्रहरीले महिलाको शरीर खानतलासी गर्न नमिल्ने अवस्थाको फाइदा उठाउँदै तस्करहरुले भारततर्फ गर्ने गरिएको सुपारी तस्करीमा महिलाको प्रयोग गर्न थालेको मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले बताए।
'प्रक्रिया पूरा गरेर लैजाँदा भन्सार बुझाउनु पर्ने हुन्छ। त्यही भएर नियमसंगत रुपमा सुपारी भारत लैजानेहरु भन्सारमा नआएको दुई वर्ष भयो,' विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भने, 'सुपारी आयात पनि विगत भन्दा कम परिणाममा भइरहेको छ। तर तस्करी भने भइरहेको छ भन्ने जानकारी आएको छ।'
तस्करी हुन थालेसँगै सीमावर्ती क्षेत्रमा सुपारी तस्करहरुको चलखेल र उपस्थिती बढेको भन्सार कार्यालयले बताएको छ। नेपालमा उत्पादित सुपारी भारत तर्फ निकासीका लागि अनुमति दिने गरिएपनि तेस्रो मुलुकबाट आयात गरेर हुने गरेको निकासीमा भने कडाई गरिएको भन्सार प्रमुख बस्नेतले बताए।
'भन्सारबाट जान नसकिरहेको अवस्थामा धमाधम सुपारी भारत पुग्नुले त्यहाँ धेरै ठूलो आर्थिक चलखेल भएको प्रष्ट हुन्छ,' उनले भने, ‘नेपाल र सशस्त्र प्रहरीले नियन्त्रणका लागि चासो दिनु पर्ने देखिएको छ।'
विराटनगरमा प्रति किलोग्राम दुई सय ७० रुपैयाँ पर्ने सुपारी भारतको कानपुर पुर्याउँदा भारतीय तीन सय रुपैयाँ भन्दा बढी हुने गरेको छ। विशेष गरेर तेस्रो मुलुकबाट ल्याइएको सुपारी नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो।
मोरङ प्रहरी प्रमुख एसपी भण्डारीले सीमावर्ती क्षेत्रबाट सुपारी तस्करी नियन्त्रणका लागि कडाई थालिएको बताए। ‘सुपारी तस्करीको सूचना केही समयदेखि आइरहेको छ,' उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न प्रहरीको विशेष टोली नै परिचालन गरिएको छ।'