शंखरापुर नगरपालिकाको अगुवाईमा लिखु गाउपालिका अध्यक्षको जग्गा प्लटिङमा डोजर

शंखरापुर नगरपालिकाको अगुवाईमा लिखु गाउपालिका अध्यक्षको जग्गा प्लटिङमा डोजर

काठमाडौ : जिल्ला मालपोत कार्यालयले शंखरापुर नगरपालिका वडा नम्बर ६ मा रहेको सफलता हाउजिङको १७ रोपनी जग्गा विक्री गर्न रोक लगाए लगत्तै नगरपालिकाको अगुवाईमा स्थानीय बासिन्दाले हिमपाइप निकालिदिएका छन् ।

रामेछापको लिखु गाउपालिकाका अध्यक्ष गोविन्दबहादुर खडका र सरस्वती गुरुङले बिछयाएको हिमपाइप सोमबार नगरपालिकाको अगुवाईमा स्थानीय बासिन्दाले निकालिदिएका हुन । प्रतिवाद गर्न आएका खडका र गुरुङका प्रतिनिधिलाई पिटेर पठाइदिएका थिए ।वडाको सिफारिस विना नै खडका र गुरुङले जग्गा विक्री गर्न थालेपछि जिल्ला मालपोत कार्यालयले सफलता हाउजिङको जग्गा विक्रीमा रोक लगाएको थियो ।

नाइखोलामा हिमपाइप राखेर बाटो बनाएपछि वडाले जग्गा विक्री गर्न सिफारिस रोकेको थियो । वडाको सिफारिस विना नै सफलता हाउजिङले एक कित्ता जग्गा विक्री गरेको थाहा पाएपछि स्थानी बासिन्दा आक्रोशित बन्दै आएका थिए । मालपोत कार्यालयलाई कुनै पनि खोला,खोल्सी र राजकुलो छोप्न नपाइने सरकारी निर्णयको वारेमा नगरपालिकाले जानकारी गराएपछि मालपोतले विक्री गर्न रोक लगाएको थियो ।

शंखरापुर नगरपालिकाको आकस्मिक बैठकले नाइ खोलामा खोल्सा लुकाइ प्लानिङको बाटो करीव चार रोपनी तत्काल खोल्न जग्गाधनीलाई खवर गर्ने र आइतवार भित्र खोल्न लगाउने निर्णय गरेको थियो । जग्गाधनीले नगरपालिकाको निर्णयलाई वेवास्ता गरेका भन्दै शंखरापुर नगरपालिकाको अगुवाईमा सोमबार हिमपाइप हटाइएको हो ।

शंखरापुर नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले अन्नपूर्णसँग भने ‘मेयर,उपमेयर,७ नम्बर वडा अध्यक्ष र म आफै लागेर स्काभेटेर र डोजर प्रयोग गरेर हिमपाइप हटाइएको छ ।’ जग्गाधनी खडका र गुरुङले तीन महिना पर्खिदिन आग्रहसहितको निवेदन नगरपालिकामा दिएका थिए। ‘उहाँहरुको त्यस्तो निवेदन भएपनि स्थानीय बासिन्दाको दवाव र नगरपालिकाको निर्णयलाई कार्यान्वयन गरिएको हो’ वडा अध्यक्ष श्रेष्ठले भने ।

लुतो वा छालाजन्य रोग लाग्दा नाइखोलाको पानीले नुहाँउदा र सफा गर्दा निको हुन्छ । शंखरापुर नगरपालिकाका मानिसहरु त्यहि नाइखोलामा नुहाउने र छाला सम्बन्धी रोग लाग्दा सफा गर्न जाने गर्थे । ‘लुतो आउँदा वा हात खुट्टा चिलाउँदा हामी नाइखोलामा नुहाउन वा सफा गर्न जान्थ्यौ’शंखरापुरका माधव श्रेष्ठले भने ‘त्यहाँको पानीमा छालाजन्य रोग निको पार्ने रासायनिक तत्व पाइन्थ्यो,त्यसैले छालजन्य रोग निको हुन्थ्यो ।’


कुनै पनि खोला,खोल्सी र राजकुलो छोप्न नपाइने गरी सरकारी निर्णय विपरित नाइखोलामा हिमपाइप बिच्छयाएर बाटो बनाइएको थियो । नाइखोला शंखरापुर नगरपालिका वडा नम्बर ९,१० र १२ हुँदै बग्ने हाल वडा नम्बर ६ स्थित साविक पुखुलाछी गाविस वडा नम्बर ७ क को कित्ता नम्बर १४५ मा बग्थ्यो । साँखुको बज्रयोगिनी,घुमारचोकको पानी नाइखोलामा बग्थ्यो । बर्षा याममा भेल आउने खोलालाई सफलता हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालिका तर्फबाट गोविन्दबहादुर खडका र सरस्वती गुरुङको नाममा दर्ता गरिएको थियो ।
कित्ता नम्बर ८०,७०५,२८२,७०६,७१९ र ४४ को जग्गाहरु एकीकरण गरी प्लानिङ गर्नका लागि ती कित्ताका जग्गाहरु मध्ये ७०५ र ७०६ को वीचमा र वडा नम्बर ६ क को कित्ता नम्बर ८० र वडा नम्बर ७ क को वीचमा रहेको कित्ता नम्बर १४५ को नाइ खोला बग्ने बाटो हो ।
करीब चार रोपनी जग्गामा वस्ती विकास,शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत मार्गदर्शन ०७२ बमोजिम स्थानीय निकायबाट योजना अनुमति नलिइ हिम पाइप राखिएको थियो । खोलाले चर्चेको सार्वजनिक जग्गा डोजर चलाई जग्गा सम्याएर प्लटिङ गरिएको थियो । 

खोलामा राखिएको हिमपाइप तत्काल हटाउन लगाई खोलालाई पूर्ववत अवस्थामा खुला राखी धार्मिक खोला र खोलाले चर्चेको सार्वजनिक जग्गा संरक्षण गराउन स्थानीय प्रविण श्रेष्ठले शंखरापुर नगरपालिका कार्यालयमा ०७३ पुस ११ गते निवेदन दिएका थिए । सो निवेदन उपर छानवीन नगरी गोविन्द बहादुर खडकालाई पुर्ने मौका दिएको र निजले खोला पुरेर करीव पाँच करोड रुपैया वरावरको खोलाको जग्गामा बाटो बनाएको स्थानीय बासिन्दाले बताएका छन् ।

खडकाको निवेदन बमोजिम निजको जग्गाहरुमा पहिलेदेखि आठ मिटरदेखि १२ मिटरसम्मको बाटो रहेको भनी शंखरापुर नगरपालिका वडा नम्बर ६ का तत्कालीन वडा सचिव न्हुछेबहादुर नकर्मीबाट ०७३ फागुन ३० मा सिफारिस दिएका थिए । सोही सिफारिसका आधारमा ऐतिहासिक एवं धार्मिक महत्व रहेको नाइ खोलामा हिमपाइप राखी पुरेर ६ मिटरदेखि आठ मिटरसम्मको बाटो बनाइएको थियो ।

कुनै पनि खोला खोल्सी र राजकुला छोप्न नपाउने सरकारी व्यवस्थालाई काठमाडौ उपत्यका विकास प्राधिकरणले पनि वेवास्ता गरेको आरोप स्थानीयले लगाएका छन् ।

सो जग्गा प्लटिङ गर्न दिने काठमाडौ उपत्यका विकास प्राधिकरणको जिल्ला आयुक्तको कार्यालयले ०७३ चैत ३१ गते निर्णय गरेको थियो । प्राधिकरणको निर्णय प्रचलित कानुन विपरित अनियमित रहेको स्थानीयबासीको तर्क छ । सो निर्णयमा शंखरापुर नगरपालिकाका तत्कालीन वडा सचिव,नापी शाखा साँखुका प्रमुख समेत अख्तियारको दुरुपयोग गरेको आरोप उनीहरुले लगाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.