महिला हत्याका दोषी प्रहरीलाई सर्वश्वसहित जन्मकैद
जाजरकोट: अवैध यौन सम्बन्धपछि एक महिलालाई हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी हवल्दार कमल सुनारलाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाईएको छ।
६ महिना अघि जाजरकोट भेरी नगरपालिका–४ की २४ बर्षीया राधिका सुनारलाई हत्या गरेको अभियोगमा जिल्ला अदालत जाजरकोटले उक्त सजाय सुनाएको हो। जिल्ला न्यायाधीश लिलाराज अधिकारीको इजलासले हत्यामा संलग्न रोल्पा लिवाङ्ग स्थायी घर भएका प्रहरी हवल्दार सुनारलाई सर्वश्वसहित जन्म कैदको फैसला गरेको हाे ।
मृतक राधिकाका भाई गोविन्द महरले कमलको नाममा जबरजस्ती करणी सहित कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता गराएका थिए। कमलले जबरजस्ती करणी अभियोगबाट सफाई पाए पनि कर्तव्य ज्यानमा भने दोषी ठहर गदै अदालतले सर्वश्वसहित जन्म कैदको फैसला गरेको श्रेस्तेदार मेघनाथ चापागाईले बताए ।
राधिकाका श्रीमान बलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन्। घटना लगत्तै प्रहरीले गरेको कल डिटेलका आधारमा घटनाको रहस्य खुलेको थियो। प्रहरी अनुसन्धानबाट कमल र राधिका बीच अबैध यौन सम्बन्ध रहेको पाइएको थियो। यो कुरा राधिकाका श्रीमानले थाहा पाएपछि घरमा झगडा शुरु भएको थियो। आफ्नै श्रीमानसँग दिनहुँ झगडा पर्न थालेपछि राधिकाले प्रहरी हवलदार कमललाई विहे गर्न दवाव दिएकी थिईन। घरमा बुबा, श्रीमति, एक छोरा र दुई छोरी भएका कमलले विहेको दवावपछि हत्या गरेका थिए। राधिकाका दुई ओटा नावालक छोरा छन् ।
गत माघ २२ गते राधिकालाई विहे गर्छु भन्दै फकाएर भेरी नगरपालिका ४ पासागाड खोलामा लगेर खुकुरी प्रहार गरी उनको हत्या गरिएको थियो । शुरुमा राधिकाका पतिले नै हत्या गरेको भनि उनलाई पक्राउ गरिएपनि कल डिटेलको आधारमा प्रहरी कार्यालय भित्रै मुद्धा फाँटमा कार्यरत हवलदार कमल विरुद्ध मुद्धा दायर गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।