१६ बर्षपछि हत्या आरोपित पक्राउ
विर्तामोडः इलाका प्रहरी अनारमनी झापाले एउटा हत्या प्रकरणका आरोपितलाई हत्या भएको १६ बर्षपछि पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक केशवकुमार थेबेले सोमबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरि हत्याका आरोपित व्यक्ति भीमबहादुर भट्टराईलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरीका अनुसार उक्त हत्याकाण्ड २०५८ साल फागुन २६ राति ११ः ३० बजे झापा र इलामको सीमामा पर्ने सुखानी खोलामा भएको हो। हत्याका आरोपित भट्टराईले खुदुनावारी भुटानी शरणार्थी शिविरका ५५ बर्षीय शन्तबहादुर अधिकारीको हत्या गरेको प्रहरीको भनाइ छ। प्रहरी नायव उपरीक्षक थेबेले दिएको जानकारी अनुसार भट्टराईले खुकुरी प्रहार गरि अधिकारीको हत्या गरेका थिए।
थेबेले भने, ‘त्यो बेला मृतकका दाजु धनबहादुर अधिकारीले जाहेरी दिएका थिए । हामी उक्त घटनाको फाइल पल्टाएर हेर्दा र हत्याराको हुलिया भएको मान्छे खोज्दै जाँदा पक्राउ गर्न सफल भयौैं ।’ मुलुकी ऐन अनुसार कर्तब्य ज्यान मुद्धामा सर्वश्वसहित जन्मकैदको फैसलाको माग दाबी गर्दै जिल्ला अदालत झापामा मुद्धा दर्ता गर्ने तयारी भइरहेको थेबेले बताए।
प्रहरीले बताए अनुसार हत्या आरोपित भट्टराई ताप्लेजुङ आम्बेगुदिनका बासिन्दा थिए । त्यसपछि उनी अर्जुनधारा ३ मा स्थायी बसोबास गर्दैथिए । प्रहरीलाई छल्दै उनी धेरै बर्ष बैदेशिक रोजगारीका लागि मलेसिया गए। त्यहाँ पनि उनी केही बर्ष जेल परेको प्रहरी नायब उपरीक्षक थेबेले बताए । भट्टराईले आफूलाई प्रहरीबाट जोगाउन केही बर्ष क्याम्बोडिया तथा भियतनाममा पनि बसेको प्रहरीको भनाई छ।
प्रहरीले बताए अनुसार हत्या भएको दिन भट्टराईले खुकुरी किनेर मादक पदार्थ सेवन गरि शिविरमा चौकीदारी काम गर्ने शन्तबहादुर अधिकारीलाई टर्च लाइट मागेका थिए । तर अधिकारीले टर्च लाइट दिन इन्कार गरेपछि केही माथि लगेर राति भट्टराईले उनको सोही खुकुरी प्रहार गरि हत्या गरेको बताइएको छ । हत्या गरिएका अधिकारीका आफन्तलाई सम्पर्कमा ल्याउने काम भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले बताएको छ।