नेपाली सर्च इन्जिन ‘भेटिन्छ डटकम'संचालनमा
काठमाडौं: इक्वेटेड भेन्चरर्सले प्रा. लि. ले नेपाली सर्च इन्जिन ‘भेटिन्छ डट कम' संचालनमा ल्याएको छ। यसमा सबै प्रकारका व्यवसायको जानकारी उपलब्ध हुने कम्पनीले जनाएको छ। नेपालका सबै प्रकारका व्यवसायको सूचना समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रशान्त पौडेलले बताए।
उनले भने, ‘व्यवसायीले आफ्नो व्यवसायलाई यसमा लिस्टिङ गराउन सक्नछन्। ब्यवसायीले आफ्नो कम्पनीको नाम, ठेगाना, इमेल, फोन नम्बरलगायतको विवरण राख्दा भेटिन्छ, डटकममा उसको मिनी वेवसाइट बन्छ।'
एक लाखभन्दा बढी व्यवसायको विवरण समावेश गरिएको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, ‘यसले नेपालबारे सम्पूर्ण जानकारी उपलब्ध गराउने छ। ब्यवसाय गर्न चाहनेहरुलाई यसले सघाउने छ। यसले काठमाडौंमा मुख्य कार्यालय राखेर तथ्यांक संकलन गरिरहेको छ। छिट्टै नेपालका अन्य सहरहरु बुटवल, नारायणगढ, पोखरा र विराटनगरमा शाखा स्थापना गर्नेछौं।'
कम्पनीले कुनै व्यवसायबारे जानकारी खोज्ने ग्राहकलाई फोनबाट जानकारी उपलब्ध गराने छ। कम्पनीले यसका लागि टोल फ्रि नम्बरको पनि व्यवस्था गरेको जनाएको छ। जोसुकैले पैसा नलाग्ने नम्बर १६६००१०२०३० मा फोन गरेर आफूलाई चाहिने जानकारी खोज्न सक्ने कम्पनीले बताएको छ।