पाँच दिनभित्र कामको सूची बुझाउन मन्त्रीको निर्देशन
काठमाडौँ : सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मन्त्रालय मातहतका ललितपुरस्थित कर्मचारी प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, कर्मचारी प्रशिक्षण प्रतिष्ठान र निजामती किताबखानाको निरीक्षण गर्दै तिनका प्रमुखलाई पाँच दिनभित्र तत्काल गर्नुपर्ने र दीर्घकालीन कामको सूची मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्।
उनले ती निकायलाई संघीयताको संरचनानुसार अगाडि बढाउनसमेत निर्देशन दिएको उनको सचिवालयले जनाएको छ। उनले दुई प्रतिष्ठानलाई चाँडै संघीय संरचनानुरुप सात वटै प्रदेशमा कर्मचारीलाई तालिमको व्यवस्थापन गर्न तथा निजामती किताबखानालाई संघीय संरचनामा लैजानका लागि योजना बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गरे।
निरीक्षणका क्रममा प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने, कर्मचारी प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक शैलेन्द्र गिरी र किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले आ–आफ्ना निकायको अवस्थाबारे मन्त्री बस्नेतलाई जानकारी गराएका थिए। रासस