मधेस आन्दोलनले उद्योग बन्द भएपछि स-परिवार विस्थापित
वीरगन्ज : ‘मेरो यो दुर्दशा मधेस आन्दोलनको ६ महिने बन्द हडताल र नाकाबन्दीकै कारण भएको हो’,जीवन रक्षाको माग गर्दै आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा सपरिवार पुगेका सन्जय कुशवाहाले भने ,‘ एक त भुकम्प गयो , त्यसलगत्तै ६ महिनासम्म लगातार बन्द हडताल र नाकाबन्दी पनि भइदिदा मेरो कारखाना सधैका लागि बन्द हुन पुग्यो,जसका कारण अहिले म करोडौंको ऋणमा डुबेको छु,घरमा बस्न सक्ने अवस्था नभएकाले सपरिवार वीरगन्जबाट विस्थापित भएर काठमाण्डौमा बस्नु परेको छ ।’
वीरगन्जको पानीटयांकी टोलमा सन्जयले चलाउदै आएको एस के इलेक्ट्रिीकल्स उद्योग (सिएफएल उत्पादन गर्ने उद्योग) महाविनाशकारी भुकम्प र त्यस लगत्तैको ६ महिने मधेस बन्द हडताल र नाकाबन्दीका कारण घाटामा गइ दुइ वर्षदेखि बन्द छ ।
उद्योग चलाउनका लागि सन्जयले कपाली तमसुक गरेर विभिन्न व्याीक्तहरुबाट लिएको ऋणको ब्याज दिनहु थपिदै गएको छ । बन्द हडताल र नाकाबन्दीका बेला कारोबार हुन नसक्दा उद्योग धराशायी भएपछि बन्द हुन पुगेको हो ।
‘बन्द हडताल र नाकाबन्दी भन्दा पहिले एकै दिनमा २०/२२ लाख रुपैया सम्मको सिएफएल चीम उत्पादन गरेर बजारमा सप्लाइ गर्थे, लिएको कर्जा (ऋण) को ब्याज पनि सजिलै तिर्दै आएको थिए’, सन्जयले भने ,‘ तर दुइ वर्ष पहिले भुकम्प गयो,त्यसपछि ६ महिनासम्म मधेसमा बन्द हडताल र नाकाबन्दी चल्यो, उत्पादन भएको चीम बजारमा सप्लाइ गर्न सकिएन,बाहिरबाट सामान पनि आउन पाएन जसका कारण उत्पादन पनि बन्द भयो, लिएको ऋण पनि तिर्न सकिन,ब्याज भने बढेको बढ्यै छ ।’
उद्योग सन्चालनका लागि कपाली तमसुक गरेर र जग्गा दृष्टिबन्धक राखेर विभिन्न ३५ जना व्याक्ति बाट चक्रे ब्याजदरमा पाँच करोड ८० लाख रुपैया ऋण लिएका सन्जयले अहिलेसम्म ब्याज मात्रै तीन करोड ८० लाख ५० हजार रुपैया तिरिसकेका छन् ।
ऋण लिने क्रममा ऋणमा लिएको रकम भन्दा दोब्बर तेब्बर रकमको कपाली तमसुक र जग्गाको दृष्टिबन्धक गरेका सन्जयलाइ ऋण दिने व्याक्तिहरुले उनको चार बिघा १४ धुर जग्गा मालोपत कार्यालयबाट रोक्का गराइसकेका छन् ।
वीरगन्जको पानीटांकी टोलमै रहेको सन्जयको पाँच तल्ले घर पनि ऋण दिने व्यक्तिले एक वर्षदेखि कब्जामा लिएर बसेका छन् ।
‘बन्दहडतालका कारण उद्योग धराशायी भएपछि मैले ऋण र ब्याज तिर्न सकिन’,उनले भने ,‘ जसका कारण म र मेरो परिवारलाइ घरमै आएर धाकधम्की र दुव्र्यवहार गर्न थालेपछि एक वर्षदेखि सपरिवार काठमाण्डौमा बसेको छु ।’
कर्जा दिनेहरुले घरमै आएर बुबा आमालाइ पनि धम्क्याउन थालेपछि आफु सहित सपरिवार काठमाण्डौमा विस्थापित हुन बाध्य भएको सन्जयले बताए । उनले भने ,‘अहिले काठमाण्डौमै बसेर दिल्लीबाट सिएफएल चिमी मगाएर बजारमा बेच्दै आएको छु ।’
उद्योग सञ्चालनका लागि लिएको कर्जा र त्यसको ब्याज तिर्नका लागि आफनो जायजेथा रहेको भएपनि ऋण दिनेहरुले रोक्का गराइ दिएका कारण ऋण तिर्न नसकेको सन्जयले गुनासो गरे ।
‘अहिले पनि घर र जग्गाको मात्रै मुल्य जोड्ने हो भने मसंग २०/२२ करोडको सम्पति छ,त्यो बेचेर भएपनि म ऋणमुक्त हुन चाहन्छु’,उनले भने ,‘ तर सबै जग्गा र घर रोक्का गरिदिएकाले बेच्न पनि सकेको छैन ।’
पर्साको बहुदरमाई गाउपालिकाको भौराटार स्थायी घर भएका सन्जय, ऋण दिने व्याक्तिहरुको धम्की र दुव्र्यवहारबाट आजित भएपछि आइतवार जिल्ला प्रशासन कार्यलय पर्सामा सपरिवार पुगेर प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाइ भेटी आफु र आफना परिवारका सदस्यहरुको जीवन रक्षाको लागि गुहार मागेका हुन् ।
सन्जय,उनका बुबा हृदयनारायण,आमा मन्जु देवी र भाइ अकलेशले प्रमुख जिल्ला अधिकारी घिमिरेलाइ भेटेर घरमा बस्ने तथा शान्ति सुरक्षाको व्यवस्था स्थानीय प्रहरी प्रशासनले नमिलाएको खण्डमा आफुहरुले सामुहिक आत्महत्या गर्ने चेतावनी पनि दिए ।
छोरो सञ्जयले व्यापारको सिलसिलामा बिभिन्न व्यक्तिहरुसंग लिएको ऋण तिर्न आफु सक्षम भएपनि ऋण दिएका व्यक्तिहरुले ऋण लिएको भन्दा बढि रकम तिर्न धाक धम्की दिएका कारण आफुहरु वीरगन्जबाट विस्थापित भइ काठमाण्डौमा बस्न बाध्य भएको सन्जयका बुबा हृदयनारायणले बताए ।
विनाशकारी भुकम्पसँगै मधेशमा बन्द हडताल र नाकाबन्दीका कारण उद्योग धराशायी बनेकाले आफुहरु ऋणमा डुबेको बुबा हृदय नारायणले पनि बताए ।
‘छोराले लिएको ऋण तिर्न म तयार छु , मसंग सम्पति पनि छ’,आइतवार प्रमुख जिल्ला अधिकारी घिमिरे सामु सन्जयका बुबा हृदयनारायणले भने ,‘ यदि प्रहरी प्रशासनले घरमा बस्ने वातावरण मिलाइ दिएन भने हामी परिवारका सबै सदस्यले फाँसी लागेर (पासो लगाएर ) आत्म हत्या गर्छौ, किनकि अब हाम्रो सामु अरु विकल्प पनि छैन ।’
प्रमुख जिल्ला अधिकारी घिमिरेले भने ऋण दिने र लिने दुबै पक्ष नै समस्यामा परेकोले दुबै पक्षलाई साउन २५ गते जिल्ला प्रशासन कार्यालयमा बोलाई छलफल गराउने तथा ऋणीले ऋण तिर्न तयार रहेको अवस्थामा यदि कसैले धाकधम्की दिन्छ भने उसलाई कारवाही गर्ने बताए ।