'ओछ्यानबाटै चुँडिए मुटुका टुक्रा'
सुर्खेत : बेलुकीको खाना खाएर परिवारका सबै सदस्य एउटै ओछ्यानमा सुते । भोलिपल्ट बिहानै उठेर घरधन्दामा जुट्ने उनीहरूको योजना थियो । सबैजना मस्त निदाएका थिए । मध्यराति घरमाथिबाट ठूलो ढुंगा खस्यो । ढुंगाले घर नै च्यापेपछि उनीहरू भाग्नै पाएनन् । छिमेकी पुग्दा तीन जनालाई मृत भेट्टाए । दुई जनाको भने बेहोस अवस्थामा उद्धार भयो ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा आइतबार मध्यराति भएको यो घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित काव्रा गाउँमा घरमाथि भीरबाट खसेको ढुंगाले च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो । घटनामा स्थानीय बुदे सार्कीका दुई छोरी र एक छोराको मृत्यु भएको छ । एउटै ओछ्यानमा सुतेका बुदे र उनकी श्रीमती बेलुलाई भने छिमेकीले घाइते अवस्थामा उद्धार गरेका छन् । १० वर्षीया ललिता, आठ वर्षीय लंकबहादुर र पाँच वर्षीया कल्पनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही वडाका वडाध्यक्ष रंगबहादुर सार्कीले भने, 'परिवारका सबै जना एउटै ओछ्यानमा सुतेका रहेछन्, बच्चालाई बचाउन सकिएन । बाबुआमालाई मात्र घाइते अवस्थामा बाहिर तान्यौं, उनीहरूको पनि अवस्था गम्भीर छ ।' बुदे बोल्न सक्ने अवस्थामा छैनन् । तर, कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएकी बेलुलाई शरीरको चोटले भन्दा सँगै सुतेका सबै सन्तान गुमाउँदाको पीडाले पोलेको छ । काखैबाट तीन सन्तान खोसिएपछि उनी भक्कानिएकी छन् । पीडाको घाउ थप बल्झिएको छ । बेलुले पोखेको पीडा उद्धृत गर्दै वडाध्यक्ष रंगबहादुरले भने, 'खाना खाएर एउटै ओछ्यानमा सुतेका थियौं, मेरो घरमा के यस्तो विपत्ति आइलाग्यो ? ओछ्यानबाटै मेरा मुटुका टुक्रा चुँडिए, निस्ठुरी दैवले हामीलाई पनि किन सँगै लगेन ? '
कालिकोटको सान्नीत्रिवेणी-६, काव्रागाउँमा भीरबाट खसेको ढुंगाले घर च्याप्दा तीन जना बालबालिकाको ओछ्यानमै ज्यान गएको हो ।
मृतक तीनै जना स्थानीय सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत थिए । बालबालिका घरको भित्तातिर र अभिभावक छेउतिर सुतेका थिए । ढुंगाले घरको भितातिर बढी च्यापेका कारण बालबालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुदे र बेलुलाई थप उपचारका लागि सोमबारै जिल्ला अस्पताल भर्ना गरिएको छ । घटनामा अन्य तीन स्थानीय पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य भएकाले स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यसैबीच, उद्धारका लागि गएको सेना र प्रहरीको टोली घटनास्थल पुगेका छन् । भीरबाट खसेको उक्त ढुंगाका कारण गाउँका अरू आठवटा घर पनि जोखिममा छन् । उक्त ढुंगा जुनसुकै बेला तल खस्न सक्ने भन्दै जोखिममा रहेका परिवारलाई विद्यालयमा सारिएको छ । ढुंगाले च्यापेपछि घरमा रहेका पशु पनि मरेका छन् ।
सेनाले उक्त ढुंगा हटाउन विस्फोट नै गर्नुपर्ने अवस्था रहेको र विस्फोटका लागि माथिल्लो निकायबाट आदेश चाहिने भन्दै सेनाको टोली घटनास्थलबाट सोमबारै फर्किएको छ । प्रमुख जिल्ला अधिकारी गिरीधार सुवेदीले उक्त ढुंगा हटाउन केही दिन लाग्ने बताए । विस्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ । स्थानीयले भने ढुंगा नहटाउँदासम्म घरमा नबस्ने बताएका छन् ।