को हुन् नेपालका ब्राह्मण र कति छन् ?

को हुन् नेपालका ब्राह्मण र कति छन् ?

यो कठिन प्रश्न होइन । यसको उत्तर नेपालको तथ्यांक विभागले नै दिएको छ । सन् २०११ को तथ्यांकअनुसार नेपालको जनसंख्या करिब दुई करोड ६० लाख देखाएको थियो । त्यसको १२.२ प्रतिशत जनसंख्या ब्राह्मण भएको पाइएको छ । अंकमा भन्दा यो करिब ३२ लाख २६ हजार ९०३ देखिएको छ । यिनीहरू नेपालका सबै भागमा फैलिएर बसेको पाइएको छ ।

adityaman_4हाम्रो समाजको एक अध्ययनमा जनकलाल शर्माले नेपालका ब्राह्मणहरूबारे केही विस्तृत चर्चा गरेका छन् । उनको भनाइअनुसार ब्राह्मणहरू पाँच भागमा विभक्त थिए ः सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र उत्कल । सारस्वतहरू सरस्वती नदीको किनारबाट नेपालतर्फ पसेका थिए । त्यसैकारण उनीहरूको हाँगालाई सारस्वत भनिएको हो । तर उनीहरू कालान्तरमा कान्यकुब्ज समुदायमा सम्मिलित भइसकेका छन् । अर्को हाँगा कान्यकुब्जहरू कनौजबाट हिमाली भेकतिर पसेका थिए ।

यिनीहरू दुई भागमा विभाजित भएका छन् । एउटा पूर्वीया भनिन्छ भने अर्को कुमाइ । कुनै कालमा डोटी र कुमाउँ दुई अलगअलग राज्य थिए । यिनको सीमारेखा महाकाली नदी थियो । लामो राजनीतिक विभाजनका कारण महाकालीपूर्वका पूर्वीया र त्यसभन्दा पश्चिमका कुमाउँनिवासीलाई कुमाई भनिएको हो । पूर्वीयाहरूले लामो समयसम्म कुमाउँसित लड्नुपरेकाले उनीहरू एकजुट भएर बसेका थिए र एउटै वर्गमा आबद्ध भए । तर कुमाउँमा त्यस्तो मेलमिलाप हुन सकेन । त्यहाँ धनी भए पाका र गरिब भए काँचा कुमाई भन्ने भेदभाव उत्पन्न भयो । तिनै प्राचीन समयका कुमाउँनिवासी ब्राह्मणका सन्तति आज पनि कुमाइँ ब्राह्मण कहलाउँछन् र पूर्वका पूर्वीया ।

वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ ।

अर्को हाँगा गौड ब्राह्मणहरू सर्वप्रथम सेनहरूका साथ नेपाल पसेका थिए । यिनीहरूमा पनि कुलिन र अकुलिन दुई प्रकारको भेद रहेको पाइन्छ । सेनहरूको राज्य समाप्त हुनासाथ यिनीहरूको अस्तित्व पनि समाप्त भयो । यिनीहरूमध्ये केही कान्यकुब्ज समुदायमा विलीन भए भने केही वैवाहिक कारणबाट अन्य जातिमा मिल्न गए ।

नेवारी समाजमा गंगोल थरको जुन समूह छ, त्यो यिनै गौड ब्राह्मणका सन्तति मानिन्छन् । मैथिल ब्राह्मणहरू कोशी र बागमती नदीबीचको तराईमा बसोबास गरेको पाइन्छ । यिनीहरू पनि मूलको हिसाबले ठूलो र सानो भन्ने भेदभाव राख्छन् । मैथिलहरू जो पहाडतिर पसे, उनीहरूको संख्या सारै कम भएकाले कान्यकुब्ज समुदायमा प्रवेश गरेका छन् । यिनीहरू आज पनि मि श्र, ओझा आदि थरबाट पहाड पर्वतमा विभूषित भएका पाइन्छन् । उडिसा प्रदेशबाट नेपाल आएका ब्राह्मणलाई उत्कल भनिन्छ । यिनीहरूले आफ्नो अलग अस्तित्व बनाएर राखेका छैनन् । यिनीहरू पहिल्यै कान्यकुब्ज समुदायमा समाविष्ट भइसकेका छन् ।

वर्ण विभाजनमा ब्राह्मणहरू सबभन्दा माथिल्लो स्तरको मानिन्छ । त्यसको मुख्य आधार प्राचीन ग्रन्थहरूलाई मानिन्छ । हुन पनि केही ग्रन्थहरूमा यसको कारण पनि दिइएको पाइन्छ । मनुस्मृतिमा भनिएको छ ः अध्यापन मध्ययनं याजनं तथा । दानं प्रतिग्रहं चैव ब्राह्मणानामकल्पयत् । पढ्नु पढाउनु, यज्ञ गर्नु गराउनु, दान दिनु लिनु । यी ६ वटा कार्य ब्राह्मणको लागि बनाइएका छन्।

यी कार्यहरू अहिले पनि यो वर्गबाट गरिन्छ । तर त्यसका अतिरिक्त उनीहरू अरू पेसामा पनि सक्रिय भएका छन् । नेपालको सन्दर्भमा सरकार र प्रशासन उनीहरूकै हातमा गएको छ । राज्यको कार्य यही वर्ण व्यवस्थाअन्तर्गत क्षेत्रीय समुदायलाई सुम्पिएको छ । यसको माने या वर्ण व्यवस्था लागू छैन या यसमा विकृति आएको छ । समाजले कुन चाहिँलाई आत्मसात् गर्ने र कुन चाहिँलाई परित्याग गर्ने ? यसको खुलासा गर्नु आवश्यक देखिन्छ ।

महाभारतका साप्तिक पर्वमा योभन्दा कडा भनाइ पाइन्छ । अदान्तो ब्राह्मणोऽसाधुः । जसले इन्द्रियहरूलाई वशमा गर्न सकेको छैन, ऊ सच्चा ब्राह्मण हुनै सक्दैन । यो त झन् कठिन अनुशासन र आत्मसंयमको मुद्दा अगाडि सारियो । यो भनाइलाई अनुसरण गर्ने हो भने पूर्णरूपले साधुसन्तहरू मात्र यो वर्गमा सामेल हुन सक्ने देखिन्छ । यसले यो समाजमा ठूलो संकट नै उत्पन्न गर्छ । इन्द्रियहरूलाई बसमा राख्न ठूलो साधना र त्याग गर्नुपर्ने हुन्छ । केही व्यक्तिविशेषबाहेक अरूमा यसअनुकूलको व्यवहार र चरित्र पाउन कठिन हुन्छ । यसकारण यो सूक्ति पनि चरितार्थ भएको पाइन्न ।

यसैगरी महाभारतको कर्ण पर्वमा भनिएको छ ः ब्राह्मणस्या श्रुतं मलम् । याने वेदको ज्ञान नहुनु ब्राह्मणको लागि कलंक हो । यसको माने ब्राह्मण हुने उसैलाई मात्र अधिकार हुन्छ, जसलाई वेदको राम्रो ज्ञान हुन्छ । अब सवाल उठ्छ- वेदको ज्ञान नहुने ब्राह्मणलाई के भन्ने ? यसमा प्राचीनता र आधुनिकताको द्वन्द्व लुकेको देखिन्छ । यसको निराकरण गर्नु पनि आवश्यक छ।

यिनै विश्वास र धारणालाई माहाभारतको वन पर्वमा अरू बलियो रूपमा प्रस्तुत गरिएको पाइन्छ । चतुर्वेदोऽपि दुर्वृत्तः स शूद्रादतिरिच्यते । योऽग्निहोत्रपरो दान्तः स ब्राह्मण इति स्मृतः ।। चारै वेदका ज्ञाता ब्राह्मण यदि दुराचारी भए भने ऊ शूद्रभन्दा घटिया मानिन्छ । जो मानिस वेदबारे केही थाहा छैन तर जसले आफ्ना इन्द्रियहरूलाई बसमा गरेको छ भने उनी सच्चा ब्राह्मण हुन् । यसबाट के थाहा हुन्छ भने ब्राह्मण शब्द गुण, उपलब्धि, सच्चरित्रसित जोडिएको छ न कि जन्मसित ।

जनकलाल शर्माले आफ्नो विश्लेषणमा ब्राह्मणहरू उपाध्याय ब्राह्मण र जैसी ब्राह्मणमा विभक्त भएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, उपाध्याय ब्राह्मणको मर्यादा जैसीभन्दा माथिल्लो तहमा मानिन्छ । तर यो माथिल्लो तहमा हुने कारण भने देखिँदैन । कारण मनुस्मृतिअनुसार वृत्तिको लागि जसले वेदको कुनै अंश वा वेदांग पढाउँछ, त्यो उपाध्याय कहलाउँछ । एक देशे तु वेदस्य वेदांगान्यपि वा पुनः । योऽध्यापयति वृत्यर्थमुपाध्यायः स उच्यते ।। उनको भनाइअनुसार वेदाध्ययनको अधिकारी ब्राह्मण मात्र हुँदैन । क्षेत्रीय पनि हुन सक्छ । यस तर्कबाट जसले वेदको अध्ययन र अध्यापन गर्न सक्छ, ऊ उपाध्याय कहलाउन सक्छ । यदि यस तर्कलाई स्वीकार गर्ने हो भने ब्राह्मण शब्द वेदसित गाँसिएको देखिन्छ ।

यसबाट के खुलासा हुन्छ भने न तथ्यांक विभागले निकालेको ब्राह्मणको संख्या सही मान्न सकिन्छ, न त ब्राह्मण थरबाट पहिचान भएकोलाई ब्राह्मण भन्न मिल्छ । प्राचीन ग्रन्थहरूमा उल्लेख गरिएका आधारलाई मान्ने हो भने यो सद्चरित्र, वेदका विद्वान् र त्यसमा उल्लेख गरिएका व्यवसायमा लागेकालाई मात्र ब्राह्मणको पहिचान दिनुपर्‍यो । तर अर्को सवाल उठ्छ-त्यसो गर्ने हो भने त्यो सीमाभित्र नपर्नेलाई के भन्ने ? यदि वर्ण व्यवस्थालाई अन्यत्र भएको मान्ने हो भने यी सवाल खडा हुँदैनन् । कि प्राचीन धारणालाई मानेर त्यसैअनुसार गर्नुपर्‍यो कि आधुनिकतालाई अपनाएर यसतो विभेद त्याग्नुपर्‍यो । एउटा आधार नरोज्ने हो भने हामी भ्रममा रहनेछौं ।




प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.