भारतसँग चुलिँदै व्यापार घाटा

भारतसँग चुलिँदै व्यापार घाटा

काठमाडौं : बाह्र वर्षअघि (२०६२/०६३) भारतसँगको व्यापार घाटा ६६ अर्ब थियो । भारतबाट एक खर्ब सात अर्बको सामान भित्रिँदा नेपालबाट ४० अर्बको सामान निर्यात भएको थियो । तर, गत वर्षसम्म आइपुग्दा भारतसँग व्यापार घाटा बढेर ६ खर्ब रुपैयाँ पुगिसकेको छ । गणतन्त्रको उदयसँगै नेपाल र भारतबीच व्यापारीक खाडल गहिरिँदै गएको छ ।

गत वर्ष भारतबाट ६ खर्ब ४१ अर्बको सामान भित्रियो । तर, नेपाली वस्तुको निर्यात ४१ अर्बमै सीमित भयो । १२ वर्षको अवधिमा भारतीय वस्तुको आयात पाँच खर्ब ३५ अर्बले बढिसक्दा निर्यात एक अर्बले मात्र बढेको छ । आयात उच्च दरले बढेपछि भारतसँगको व्यापारघाटा चुलिएको हो । नेपालले निर्यात बढाउन नसकेको तर भारतीय वस्तुको आयात उच्चदरले बढिरहँदा व्यापार घाटा कहालीलाग्दो बन्दै गएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्षमात्र भारतसँगको व्यापार घाटा एक खर्ब ६२ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७२÷०७३ मा भारतसँग चार खर्ब ३७ अर्ब व्यापार घाटा थियो । बर्सेनि भारतसँग व्यापारको आकार बढ्दै गइरहेको छ । व्यापारको बढ्दो आकारसँगै घाटा पनि बढ्दै गएको छ । भारतसँग बढ्दो व्यापार घाटा ठूलो चुनौती बन्दै गइरहेको विज्ञ बताउँछन् । आत्मनिर्भर बन्न सकिने कृषि उत्पादनमा समेत मुलुक भारतसँग परनिर्भर भइसकेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले पछिल्ला वर्ष भारतसँग व्यापार घाटा चुलिँदै गइरहेको देखाउँछ । मुलुकमा गणतन्त्रको उदयसँग व्यापार घाटा पनि चम्किँदै गइरहेको छ । भारतीय वस्तुको आयात बर्सेनि उछालिँदै गइरहँदा नेपाली वस्तुको निर्यात खुम्चिँदै गइरहेको छ । यसबीचमा भारततर्फ नेपाली वस्तुको निर्यात बढेर ५५ अर्बसम्म पुगे पनि पछिल्ला दुई वर्ष निरन्तर घटिरहेको छ ।

कृषि वस्तुकै आयात उच्च

गत वर्ष भारतबाट २३ अर्ब ८८ करोड रुपैयाँको चामल भित्रियो । सवा अर्बको माछामासु, १० अर्बको मकै, पाँच अर्बको गहुँ, अर्बौं रुपैयाँको खाने तेल, फलफूल पनि भारतबाट भित्रिएको छ । एक वर्षमा भारतबाट एक खर्ब ४० अर्बको पेट्रोलियम पदार्थ, ९३ अर्बको फलाम तथा स्टिल, पौने खर्बको सवारी तथा पार्टपुर्जा, ४० अर्बको खाद्यान्न पनि भारतबाट आयात गरिएको छ ।

मुलुकमै आत्मनिर्भर बन्न सकिने वस्तुमा समेत परनिर्भरता बढ्दै गइरहेको केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाइँ बताउँछन् । बढ्दो परनिर्भरताले भारतसँगको व्यापार घाटा कहालीलाग्दो बनिरहेको उनले बताए । नेपालमा उत्पादन नहुने सवारीसाधन, पेट्रोलियम पदार्थ, कृषि औजार, मेसिनरी औजार, फलाम तथा स्टिल, औद्योगिक कच्चा पदार्थको आयात झनै भयावह छ ।

राणाकालमा व्यापार नाफा

राणाकालमा नेपालको भारतसँगको व्यापार नाफामा थियो । सन् १९१३÷१४ मा भारतसँग दुई करोड २० लाख रुपैयाँ व्यापार नाफा भएको देखिन्छ । त्यस वर्ष दुई करोडको वस्तु आयात गर्दा सवा चार करोडको वस्तु निर्यात भएको थियो । यस्तै, सन् २०२०÷२१ व्यापार नाफा तीन अर्ब १४ करोड पुगेको थियो । दुई आर्थिक वर्षमा नेपालबाट क्रमशः एक करोड ५९ लाख र एक करोड ९२ लाखको चामल भारत निर्यात भएको एक तथ्यांकले देखाउँछ ।

राणाकालमा नेपालबाट ठूलो परिमाणमा चामल निर्यात हुन्थ्यो । व्यापार सन्तुलको मुख्य आधार नै चामल र दाल थियो । टीईपीसीका वरिष्ठ अधिकृत बजगाइँका अनुसार सन् ७० को दशकसम्म नेपालबाट ठूलो परिमाणमा चामल निर्यात गरिन्थ्यो । पञ्चायत कालको उत्तरार्धसम्म नेपाली धान÷चामलको निर्यात उच्च थियो । धेरै धान फल्ने तराईमा ठूला राइस मिल सञ्चालनमा थिए । नेपाली चामल, दाल र तेल भारतको कोचीसम्म पुग्थ्यो । अहिले धेरै मिल बन्द भइसकेका छन्, सञ्चालनमा रहेका पनि मृतजस्तै छन् । आर्थिक उदारीकरणसँगै नेपाली बजार विदेशी उत्पादनले ओगट्न सुरु भएको विज्ञ बताउँछन् ।

सुरुवाती समयमा नेपालबाट कृषि उत्पादन भारततर्फ निर्यात हुन्थ्यो । निर्यात गरिने मुख्य वस्तुमा चामल, दाल, तरकारी, फलफूल, छाला, जुट, घिउ लगायत हुन्थ्यो । भारतबाट यार्न, कपासका सामान, धातु, तेल, नुन, मसला, चिनी, सुर्तीलगायत आयात गरिन्थ्यो । विश्वमा भएको आधुनिकीकरणसँगै मुलुकको व्यापार घाटा चुलिन थालेको हो ।

नेपालमा खाद्यान्न उत्पादन भए पनि सवारीसाधन, कृषि औजार, मेसिनरी, इलेक्ट्रिक औजार, सूचना प्रविधिका औजार, पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल, सुनचाँदी, मोबाइलको उत्पादन सम्भव थिएन । यस्ता वस्तु आयात गरेर उपभोग गर्नुपर्ने बाध्यता भइदियो । अहिले व्यापार घाटाको प्रमुख माध्यम पेट्रोलियम पदार्थ, सवारीसाधन, सुनचाँदी, फलाम तथा स्टिल, मोबाइल हुन् । व्यापार घाटा बढाउने प्रमुख वस्तु भारतबाटै आयात गरिँदै आएको छ ।

व्यापार घाटा कम गर्न निकासी बढाउनुको विकल्प छैन । तर, नेपालबाट निर्यात गर्ने वस्तुकै अभाव देखिन्छ । नेपाली वस्तुको प्रतिस्पर्धी क्षमता झनझन कमजोर बन्दै गइरहेको देखिन्छ । साथै, भारतीय बजारमा नेपाली वस्तुको सहज प्रवेश सुविधा नहुँदा निर्यात बढाउन नसकेको व्यवसायी बताउँछन् ।

बुँदाहरु
कुल वस्तु आयातको ६५ प्रतिशत भारतबाट ।
गत वर्ष आयात ६४१ अर्ब, निर्यात ४१ अर्ब ।
एक वर्षमा चामल २४ अर्बको आयात ।
एक खर्ब ४० अर्बको पोट्रोलियम आयात ।
सवारी, फलाम÷स्टिल, खाद्यान्न उच्च आयात ।
राणाकालमा भारतसँगको व्यापार नाफामा ।
गणतन्त्रको उदयसँगै परनिर्भरता बढ्दै ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.