फोरजी सेवा देशभर पुर्‍याउँदै टेलिकम

फोरजी सेवा देशभर पुर्‍याउँदै टेलिकम

काठमाडौं : नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) सेवा देशैभर पुर्‍याउने गरी कार्ययोजना तयार गरेको छ । द्रुत गतिको मोबाइल इन्टनरेटमा आधुनिक सेवा र सुविधा थप गर्दै देशैभर सेवा पुर्‍याउने गरी कार्यायोजना तयार पारिएको नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिइन् ।

संसद्को सार्वजनिक लेखा समितिमा सोमबार राजभण्डारीले टेलिकमले हाल डाटा सेवामा मात्रै सीमित फोरजीलाई भ्वाइस, भिडियोसहितको उच्च गतिको डाटा स्पिड पनि दिन लागेको बताइन् । हाल करिब पाँच लाख ग्राहकको पहुँचमा पुगेको यो सेवा काठमाडौं र पोखरामा मात्रै सीमित छ । टेलिकमले आवश्यक तयारी गरिरहेको र सञ्चालक समितिमा पेस गरेर तत्काल बोलपत्र आह्वान गर्ने गरी फोरजी सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । टेलिकमले गत पुसदेखि फोरजी सेवा सञ्चालन गरेपछि यसका प्रयोगकर्ता २७ टीबी पुगेका छन् । यस अघि टेलिकमको मोबाइल डाटा प्रयोगकर्ता दैनिक १६ टीबी मात्रै थिए ।

टेलिकमका अनुसार हाल एक करोड ५१ लाख जीएसएम मोबाइल प्रयोगकर्तामध्य ७० देखि ८० प्रतिशत ग्राहक सक्रिय छन् । यीमध्य डाटा प्रयोगकर्ताको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । टेलिकमले पछिल्लो समय कुराकानीभन्दा मोबाइल इन्टरनेटलाई नै प्राथमिकता दिएकाले पनि डाटा प्रयोगकर्ता बढेको टेलिकमको भनाइ छ ।

टेलिकमले सार्वजनिक गरको तथ्यांकअनुसार गत जेठसम्ममा डाटा प्रयोगकर्ताको संख्या ८३ लाख ९५ हजार छ । यो तथ्यांक २०७३ असारको तुलनामा सात लाख ८८ हजारले डाटा प्रयोगकर्ता बढेको पनि उल्लेख छ ।

टेलिकमले कमायो १५ अर्ब नाफा

नेपाल टेलिकमले आव २०७३/०७४ मा करपछिको नाफा करिब १५ अर्ब ४२ करोड रुपैयाँ भएको अनुमान गरेको छ । आगामी वर्ष ४९ अर्ब ५९ करोड रुपैयाँ आम्दानी गर्ने र १६ अर्ब २९ करोड रुपैयाँ नाफा गर्ने लक्ष्य रहेको टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् । उनका अनुसार टेलिकमले आर्थिक वर्ष २०७३/२०७४ को चैतसम्ममा ३३ अर्ब २९ करोड रुपैयाँ आम्दानी गरेको थियो । यस्तो आम्दानीबाट १७ अर्ब ५३ करोड खर्च गरेर ११ अर्ब २० करोड नाफा गरेको थियो । यस्तो नाफा करपछि अघिल्लो वर्ष २०७२/७३ मा १३ अर्ब ६८ करोड रहेको पनि टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले आम्दानी बढाउन र दीर्घकालीन लाभका लागि विभिन्न तीनवटा जलविद्युत् कम्पनीमा लगानी गरेको छ । यो कम्पनीले निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीमा ६ प्रतिशत, ३७ मेगावाटको त्रिशूली तीन ‘बी’ मा ३० प्रतिशत र नेपाल विद्युत् विकास कम्पनीमा १० प्रतिशत लगानी गरेको छ । ३५ अर्ब २९ करोड लागतको माथिल्लो तामाकोसीमा ६ प्रतिशतले हुन आउने ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको टेलिकमको भनाइ छ । त्रिशूली ३ बी मा भने आयोजना लागत आठ अर्बको ३० प्रतिशत रकम लगानी गरको उल्लेख छ ।

टेलिकम सरकारी कम्पनी भएकाले पनि यसले अन्तरआबद्धता शुल्क नतिरेका यूटीएल, स्मार्ट टेलिकम, सीजी कम्युनिकेसन र हेल्लो नेपाललाई सेवा दिइरहेको बताइन् । यी चारवटै कम्पनीले टेलिकमलाई तिर्नुपर्ने रकम ३५ करोडभन्दा बढी छ ।

प्रतिस्पर्धी बन्न निर्देशन

संसद्को लेखा समितिले टेलिकमलाई सेवा र गुणस्तरमा प्रतिस्पर्धी बन्न निर्देशन दिएको छ । टेलिकमले गरेको लगानीको तुलनामा सेवाको गुणस्तर र उपलब्धि कमजोर देखिएकाले बजारमा खरो रूपमा प्रतिपस्र्धा गर्न सक्ने तीन महिने कार्यायोजना एक साताभित्र पेस समितिले टेलिकमलाई निर्देशन दिएको छ । टेलिकमलाई देशैभर फोरजी सेवा पुर्‍याउने कार्ययोजना १५ दिनभित्र तयार गर्न र समितिसमक्ष पेस गर्न पनि निर्देशन दिइएको छ । टेलिकमको आम्दानी घट्दै गएको बजार हिस्सा र सेवाग्राहीअनुसार बजार बढ्न नसकेकाले यसले नाफा बढाउने योजना तय गरेर पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।

समितिको बैठकमा सांसद रामहरि खतिवडाले टेलिकमको अन्तर्राष्ट्रिय कलबाट भएको आम्दानी घट्दै गएको र यसका नाफामा असर गरेको विषय उठान गरे । उनले टेलिकमको नाफा घट्नुको अर्थ निजी कम्पनीको बजारहिस्सा मात्रै बढ्दै जानु भएको भन्दै टेलिकमलाई प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्न आग्रह पनि गरे । ९२ प्रतिशत सरकारी लगानीको यो कम्पनीले गर्ने नाफा र यसको बजार रणनीतिले यसको भावी अवस्थाको चित्रण गर्ने समितिमा बोल्ने सांसदको भनाइ छ ।
इन्फोहाल करिब पाँच लाख ग्राहकको पहुँचमा पुगेको फोरजी सेवा काठमाडौं र पोखरामा मात्रै सीमित छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.