आदेशले उब्जाएको प्रश्न

आदेशले उब्जाएको प्रश्न

भरतपुर प्रकरणमा सर्वोच्च अदालतले जे फैसला गर्‍यो, त्यसमाथि टीकाटिप्पणी गर्ने यो सम्पादकीयको मनसाय होइन । कानुनी शासनमाथि विश्वास जगाइराख्न अदालतको फैसला मान्नुको विकल्प छैन । कानुनको सर्वोच्चता नै लोकतान्त्रिक प्रणालीको चरित्र हो । यद्यपि भरतपुर प्रकरणमा अदालतले फेरि चुनाव गर्ने जुन फैसला जारी गर्‍यो । त्यसमाथि तर्कवितर्क भएका छन्, जसमाथि थप विमर्श आवश्यक छ ।

१५ साउनमा सर्वोच्च अदालतको संयुक्त इजलासले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनामा ‘अनधिकृत कब्जा’ भएको निक्र्योलसहित पुनः मतदानको लागि निर्वाचन आयोगलाई आदेश दिएको छ । न्यायमूर्तिद्वय ओमप्रकाश मि श्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतगणनाको मागसहित दायर भएको रिटको विपक्षमा फैसला सुनाएपछि एमालेले यसलाई दुर्भाग्यपूर्ण बताएको छ भने माओवादीले स्वागत गरेको छ । दलीय आस्थाका आधारमा विभाजित कानुन व्यावसायीहरूले पनि यसको पक्ष र विपक्षमा अभिमत जाहेर गरेका छन् । जनस्तरमा पनि फैसलाले कतै गलत नजिर स्थापित गर्ने र यसखाले ‘रोग’ बारम्बार दोहोरिने त होइन भन्ने चिन्ता र चासो जाहेर भएका छन्, जसलाई नजरअन्दाज गर्न सकिँदैन ।

अदालतले कानुनी दफामा टकेर फैसला गरेको छ, तर जनस्तरमा यस फैसलाप्रति आम रूपमा सकारात्मक धारणा विकास गर्न सकेको छैन । धेरैले नैतिक बल पराजित भएको अनुभूति गरेका छन् । न्यायका आमउपभोक्ताले सन्तुष्टिको अनुभूति गर्न सकेनन् भने न्यायपालिकाप्रतिको जनआस्था बढ्दैन । त्यसैले स्वच्छ, निष्पक्ष, गुणस्तरीय र प्रभावकारी न्याय भनेर मात्र पुग्दैन, त्यो अनुभूत गर्ने तहमा देखिनु पनि पर्छ । संविधान एवं कानुनले न्यायपालिकाप्रति राखेको अपेक्षा यही हो ।

संविधानले नागरिकका हक अधिकारको संरक्षण एवं विधिको शासनलाई व्यवहारमा रूपान्तरण गर्न सुम्पेको दायित्व पूरा भयो कि भएन, न्यायपालिकाले फेरि समीक्षा गर्नुपर्ने भएको छ ।
सर्वोच्चले गरेको फैसला मान्दै चुनाव हुनेमा शंका रहेन । विमति हुँदाहुँदै पनि लोकतान्त्रिक पद्धति बढाउन चुनावी प्रक्रियामा दलहरू सहभागी हुनुपर्छ र हुनेछन् । यद्यपि फैसलापछि उठेका प्रश्नहरूमाथि समीक्षा गर्दै तिनको निरूपण पनि जरुरी छ ।

अदालतले भएका कानुनी प्रावधान र व्यवस्थाहरूलाई व्याख्या गरेका आधारमा फैसला सुनाएको छ । बनेका कानुनको व्याख्या अदालतले गर्ने हो भने बनाउने संसद्ले हो । यहा“नेर कानुन बनाउने संसद्ले पनि कानुन निर्माण गर्दा राख्ने प्रावधान र आउन सक्ने जटिलताको आकलन गर्न सक्नुपर्ने देखिन्छ । न्यायालयले पनि गलत नजिर नै स्थापित गर्न सक्ने यसखाले मुद्दामा जोखिम मालेर व्याख्यामा भन्दा बढी विवेक प्रयोग गर्ने हो कि ? सायद हेक्का राख्नुपर्छ ।

डर ‘काल पल्केला’ भन्ने हो । यसतर्फ सबै पक्षको गम्भीर ध्यान जानु आवश्यक छ । मतगणना प्रतिनिधिकै रूपमा बसेका व्यक्तिले अनधिकृत तवरले मतपत्र च्यातेर नष्ट गरेको स्वीकारोक्ति गरिसकेको अवस्थामा यसखाले आदेश आउनुले कतै विधिको शासन र कानुनी राजको अघि ‘बाहुबल’ ले प्रोत्साहन पाउने त होइन ? प्रश्न उठेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.