७५५ अमेरिकी कूटनीतिज्ञले रूस छोड्नुपर्ने
मस्को : रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले ७ सय ५५ अमेरिकी कूटनीतिज्ञले तत्काल रूस छोड्नुपर्ने बताएका छन् । अमेरिकासँग लामो समयसम्म सम्बन्ध सुधार हुने सम्भावना पनि नदेखिएको पनि उनले बताए । अमेरिकाले गत साता रूसमाथि कडा प्रतिबन्ध लागू गरेको प्रतिक्रियामा पुटिनले यस्तो कदम चालेका हुन्।
यसअघि रूसी विदेश मन्त्रालयले अमेरिकाले सेप्टेम्बरसम्म अमेरिकी कूटनीतिज्ञको संख्या घटाएर ४ सय ५५ मा झार्नुपर्ने स्पष्ट पारेको छ । यति नै संख्यामा अमेरिकीमा रूसी कूटनीतिज्ञ रहेका छन् । पुटिनले रोसिया २४ टेललिभिजनसँगको प्रत्यक्ष प्रसारणमार्फत यस्तो जानकारी दिएका हुन् । ‘रूसस्थित अमेरिकी दूतावास र महावाणिज्य दूतावासमा एक हजारभन्दा बढी व्यक्तिले काम गर्दै आएका छन्’, उनले भने, ‘७५५ व्यक्तिले रूसमा आफ्नो काम काम गर्न बन्द गर्नुपर्छ ।’
आफूले अमेरिकासँगको सम्बन्ध सुधार हुने अपेक्षा गरे पनि त्यो सम्भव नभएको उनले खुलासा गरे । पुटिनले भने, ‘हामीले सम्बन्ध सुधार हुने सोचेका थियौं, हामीले पर्खियौं । यदि सम्बन्ध सुधार भयो भने पनि छिटै हुने अवस्था देखिँदैन ।’ अमेरिकी सिनेटले बिहीवार एक विधेयक पारित गरी सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रूसले साइबर आक्रमण गरेको र सन् २०१४ मा क्रिमिया रूसमा विलय गरेको भन्दै कडा प्रतिबन्ध लागू गर्ने निर्णय गरेको थियो ।