कतारमा नेमारको स्वास्थ्य परीक्षण
दोहा : बार्सिलोनाका युवा स्ट्राइकर नेमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) जाने सम्भावना बलियो बनेको छ । नेमारले सोमबारमात्र पीएसजीमा अनुबन्धनका लागि मेडिकल परीक्षणसमेत पूरा गरेका छन् । नेमारले कतारमा गएर पीएसजीका मालिक अल खेलाफीको रोहबरमा मेडिकल परीक्षण गराएको समाचार कतारको समाचारपत्र अल वाटन क्लेम्सले प्रकाशित गरेको छ ।
ब्राजिलियन स्टार नेमार पीएसजी जाने हल्ला चल्दै गर्दा उनका हितैषी लियोनल मेसीले पनि नेमारको बिदाइ गरिसकेको समाचार बाहिर आएको छ । बार्सिलोनाका स्टार अर्जेन्टिनी खेलाडी मेसीले आफ्ना समकक्षीलाई भावनात्मक रूपमा बिदाइ गरेको समाचारमा जनाइएको छ । मेसीले नेमारको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन् । शुक्रबारमात्र प्रिसिजनको अभ्यासका लागि अमेरिका गएको बार्सिलोनाबाट नेमारले अभ्यास छाडेका थिए ।
नेमारले सहकर्मीसँग झगडा गरेपछि उनी पीएसजी जाने कुरा अझै सतहमा आएको थियो । सोमबार नेमारले कतारमा पुगेर स्वास्थ्य परीक्षण गर्नु र मेसीले समेत उनको बिदाइ गरेको खबरले उनी पीएसजी जाने निश्चित भएको समाचारमा उल्लेख छ । पीएसजीले नेमारका लागि १९ करोड ८० लाख पाउन्डको कीर्तिमानी रकम प्रस्ताव गरेको छ ।
पीएसजीको कीर्तिमानी उक्त प्रस्तावलाई बार्सिलोनाले समेत स्वीकृति जनाइसकेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्ताेमेउले बार्सिलोनासँग नेमारलाई रोक्नसक्ने क्षमता नभएको बताएका छन् । पीएसजीले लामो समयदेखि नेमारलाई भित्र्याउन ठूलो कसरत गर्दै आएको थियो । पीएसजीले नेमारको नाम र नम्बर लेखिएको जर्सी बनाउने तयारीसमेत थालिसकेको छ ।