सहरमा कर्मचारी, गाउँपालिका रित्तै
राक्सिराङ (मकवानपुर) : राक्सिराङ गाउँपालिकाको जेठ ३१ गते बसेको पहिलो बैठकले पूर्वपश्चिम राजमार्गदेखि गाउँपालिकाको केन्द्र चैनपुरसम्म ६ किमि मोटरबाटो खन्ने निर्णय ग¥यो । आउँदो दसंैसम्म गाउँपालिका केन्द्रमा मोटरबाटो पु¥याउने लक्ष्य राखेको गाउँपालिकाले एक करोड रुपैयाँ बजेट पनि छुट्ट्याएको छ । तर, प्राविधिक कर्मचारी नहुँदा गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी काम थाल्न सकेको छैन ।
'बजेट पनि आइसक्यो, बाटो खन्ने निर्णय गरेको डेढ महिना बित्दा पनि प्राविधिक कर्मचारी नहुँदा काम अलपत्र छ', राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने, 'कर्मचारी अभावले गाउँपालिकाको कार्यालय खोल्नेबाहेक अरू काम हुन सकेको छैन ।' बिभिन्न शीर्षकमा ९ करोड रुपैयाँ विकास बजेट खर्च गर्ने गाउँपालिकाको निर्णय छ ।
तीनजना वडा सचिवको भरमा गाउँपालिका सञ्चालन गर्नुपरेको मल्लले गुनासो गरे । '१० वडा तीनजना सचिवले हेर्नुपरेको छ, कार्यकारी अधिकृत र लेखा अधिकृतबाहेक अरू कर्मचारी सरकारले पठाएको छैन', मल्लले भने, 'सरकारले हातखुट्टा बाँधेर फटाफट काम गर भनेझैँ भएको छ ।' गाउँपालिकामा ३६ जना कर्मचारीको दरबन्दी छ ।
कर्मचारी अभावले निर्णय कार्यान्वयनमा पनि समस्या भएको छ । जनताले विकासको अनुभूति गर्न पाएनन् । टंक लामा -अध्यक्ष, कैलाश गाउँपालिका
राक्सिराङजस्तै कैलाश गाउँपालिका पनि चारजना सचिवको भरमा चलेको छ । 'कर्मचारी अभावले निर्णय कार्यान्वयनमा पनि समस्या भएको छ', गाउँपालिका अध्यक्ष टंक लामाले भने, 'सरकारले कर्मचारी खटाउन ढिलाइ गर्दा जनताले गाउँपालिकाको अनुभूति गर्न पाएका छैनन् ।' भौगलिक बिकटताका कारण खटाएका कर्मचारी पनि गाउँपालिका आउन नमान्ने गरेको उनले बताए । 'मोटर चल्ने सबै सुविधा भएको क्षेत्र कर्मचारीको रोजाइमा पर्ने गरेको छ', उनले भने, 'पहुँचका आधारमा कर्मचारी खटाउने परिपाटीले पनि समस्या भएको हो ।'
जिल्लाको पूर्वी वाग्मती गाउँपालिका पनि कर्मचारीको पर्खाइमा छ । 'जिल्लादेखि केन्द्रसम्म कर्मचारीका लागि पहल गरिसकेँ', गाउँपालिका अध्यक्ष सर्केश घलानले भने, 'प्रमुख जिल्ला अधिकारी कर्मचारी खोजेर लैजानू भन्छ, सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन हुँदै छ भनेर पन्छिने गरेको छ ।' जिल्लाका हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाबाहेक गाउँपालिका दरबन्दीअनुसार कर्मचारी छैनन् ।
जिल्लामा कर्मचारी व्यवस्थापन तथा परिचालनको जिम्मेवारी पाएका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दवाडीले जिल्लाका रहेका ३८ जना कर्मचारीलाई गाउँपालिकामा खटाएको बताए । 'मैले जिल्लामा मिलाउन सक्ने कर्मचारी खटाएको छु', उनले भने, 'मसँग नभएका कर्मचारी मन्त्रालयबाट नपठाएसम्म कसरी खटाउनु ? '