माछापुच्छ्रे बैंकका शाखा विस्तार
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक ६ वटा शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर तथा दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ। सोमबार बैंकले दमक, लाहान, बर्दिबास, सुर्खेत, महेन्द्रनगर र कोहलपुर गरी ६ स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।
त्यस्तै सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका, तनहुँ जिल्लाको भिमाद नगरपालिका तथा कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकामा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले रूपन्देहीस्थित गैडहवा तथा सम्मरीमाई गाउँपालिकामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।
बैंकले शाखा सुभारम्भ भएको उपलक्ष्यमा निश्चित समयका लागि निःशुल्क डेबिट कार्ड, कर्जा शुल्कमा ०.२५ प्रतिशत छुट र लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्नेछ। त्यसैगरी बैंकले यी सबै नयाँ शाखा तथा एक्सटेन्सन काउन्टर खुल्ने स्थानमा विभिन्न सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रमसमेत आयोजना गरेको छ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकलाई कर्जा, निक्षेपलगायत सम्पूर्ण बैंकिङ सुविधा उपलब्ध गराएको छ । यसका साथै उक्त शाखामा बैंकले २४ घन्टा नै रकम झिक्न सकिने आफ्नै एटीएम सुविधासमेत उपलब्ध गराएको छ। यस बैंकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्ब चार करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्ब पाँच करोड कर्जा प्रवाह गरेको छ। सोही अवधिमा एक अर्ब ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।