विद्यार्थीका साथीजस्तै होचा कदका अग्ला शिक्षक
गुल्मी : रुरु गाउँपालिका-३, थोर्गा तल्लामरुङ, गुल्मीका रविलाल ज्ञवाली झट्ट हेर्दा ५/६ वर्षको केटाकेटीजस्तै देखिनुहुन्छ । तर उमेरले उहाँ ४६ वर्ष लागिसक्नुभयो । विद्यालयमा पुग्ने जोकोहीलाई पनि लाग्ने गर्छ, ज्ञवाली शिक्षक हुनुहुन्छ वा विद्यार्थी ?
देख्दा सानो देखिए पनि पाका उमेरका ज्ञवाली गाउँकै राष्ट्रिय माध्यमिक विद्यालय थर्गाकोटका स्थायी शिक्षक हुनुहुन्छ । पढाउन थालेको उहाँले २७ वर्ष पुगिसक्यो । जन्मजातै अपांगता भएरै उहाँ जन्मनुभयो । विद्यालयमा पनि उहाँ सानै उमेरका केटाकेटीलाई नै पढाउनमा व्यस्त हुनुहुन्छ । विद्यालयले केजीदेखि ३ कक्षासम्मका विद्यार्थीलाई पढाउने जिम्मा दिएको छ । स्थायीमा नाम ननिकाल्दासम्म ज्ञवालीले ८ कक्षासम्म पढाउँदै आए पनि पछि तल्लो कक्षाका विद्यार्थीलाई पढाउन थाल्नुभएको हो ।
शारीरिक रूपमा अपांगता ज्ञवाली आफूमात्र होइन उहाँका छोरा चिरञ्जीवी पनि यस्तै हुनुहुन्छ । उहाँको उचाइ एक मिटर र तौल ४० किलोमात्र छ । साथीभाइजस्तै देखिने ज्ञवालीलाई विद्यार्थीले समेत माया गर्ने गर्छन् । छोरासमेत सोही विद्यालयमा कक्षा ८ मा पढिरहेका छन् ।
रविलालले २०४६ साल चैत २७ गतेदेखि तीन वर्ष अस्थायी रूपमा सोही विद्यालयमा पढाउनुभएको हो । त्यसपछि २०५० साल जेठ २२ गते उहाँले खुला प्रतिस्पर्धामा नाम निकाली प्रावि द्वितीय तहमा प्रवेश गर्नुभयो । ९१ जना विद्यार्थीसामु उहाँ नै 'साथीजस्तै देखिने शिक्षक' हुनुहुन्छ । शारीरिक रूपमा अपांगता भए पनि आफूलाई कुनै पछुतो नभएको उहाँले बताउनुभयो । 'भाग्यमै यस्तो भयो त के गरौँ', उहाँले भन्नुभयो, 'स्थायी जागिर खाएको छु, जसोतसो जीवन चलेकै छ ।' हाल उहाँको मासिक तलब २३ हजार पाँच सय रुपैयाँ छ ।
आफू शारीरिक रूपमा अपांगता भए पनि विद्यालय व्यवस्थापनले गर्दा पठनपाठनमा धेरै सहज भएको ज्ञवाली बताउनुहुन्छ । विद्यालयले उहाँले पढाउने प्रत्येक कक्षाकोठामा अपांगमैत्री भौतिक संरचना बनाएको छ । कक्षाकोठामा प्रयोग गरिने ब्ल्याकबोर्ड, कुर्सी, टेबुल, बेन्च सबै अपांगमैत्री छन् । 'विद्यालयको मायाले पढाउनका लागि धेरै सजिलो भएको छ', ज्ञवालीले भन्नुभयो, 'अरू कोही शिक्षक मजस्तो हुनुहुन्न । विद्यार्थी र शिक्षकहरूको माझ हामी बाबुछोरा मात्र कम उचाइका छौँ ।' सबै शिक्षक र विद्यार्थीले आफूहरूलाई मायाको दृष्टिले हेर्ने गरेको उहाँले बताउनुभयो । 'विद्यालयदेखि एक किलोमिटरजति घर पर्छ', उहाँले भन्नुभयो, 'हिँड्दै आउनेजाने गर्छु ।'
रविलाल सरले पढाएको विषय सबै विद्यार्थीले राम्रोसँग बुझ्ने गरेको विद्यालयका प्रधानाध्यापक रमेश ज्ञवाली बताउनुहुन्छ । 'स्थायीमा नाम ननिकाल्दासम्म ६ देखि ८ कक्षासम्म पनि पढाउनुहुन्थ्यो', उहाँले भन्नुभयो, 'अहिले तल्लो कक्षामा मात्र पढाउन भनेका छौं ।'
नेपाल सरकारले उहाँलाई 'ग' वर्गको अपांगता परिचयपत्र प्रदान गरेको छ । छोरा चिरञ्जीवीले भने 'ख' वर्गको अपांगता परिचयपत्र पाउनुभएको छ । आफू कम उचाइको भए पनि उहाँले अग्ली जीवनसाथी विवाह गर्नुभएको छ । जीवनसंगिनी हुमकला ज्ञवाली आफूभन्दा धेरै अग्ली रहेको उहाँले बताउनुभयो । 'घरमा केही काम गर्नु पर्दैन', उहाँले भन्नुभयो, 'सबै छोरी र श्रीमतीले नै गर्छन् ।' 'हाँस्दैखेल्दै यतिका वर्ष बिताइयो', ज्ञवाली भन्नुहुन्छ, 'थाहा पाउन्जेलसम्म यस्तै भएजस्तो लाग्छ ।' विद्यालयमा पढाउनेबाहेक घरमा उहाँले धेरै विद्यार्थीलाई अतिरिक्त कक्षासमेत पढाउने गर्नुहुन्छ । कुनै बेला घरमा ट्युसन पढ्न आउने विद्यार्थीले घरै खचाखच हुने गरेको समेत उहाँले सम्झनुभयो । उहाँका दुई छोरी र एक छोरा छन् । सबै यही विद्यालयमा पढ्छन् ।
रविलाल सरले पढाएको कुरा सबै विद्यार्थीले राम्रोसँग बुझ्ने गरेको विद्यालयका प्रधानाध्यापक रमेश ज्ञवाली बताउनुहुन्छ । 'स्थायीमा नाम ननिकाल्दासम्म ६ देखि ८ कक्षासम्म पनि पढाउनु हुन्थ्यो', उहाँले भन्नुभयो, 'अचेल तल्लो कक्षामा मात्र पढाउन भनेका छौं । सबै विद्यार्थी रवि सरले पढाएको राम्रो छ भन्छन् ।' शारीरिक रूपमै अपांगता भएकाले विद्यालय परिवारले सहानुभूति दिएर माया गर्ने गरेको उहाँले जानकारी गराउनुभयो ।
अन्य शिक्षकहरूलाई ६ घन्टीसम्म पढाउन भने पनि उहाँलाई पाँच घन्टीसम्म मात्रै पढाउन लगाइएको उहाँको भनाइ छ । 'हिँडडुल गर्न सहज होस् भनेर सबै कक्षा एकै ठाउँमा मिलाइदिएका छौँ', उहाँले भन्नुभयो । विद्यालयमा २२ जना शिक्षक र चार सयभन्दा बढी विद्यार्थी छन् ।
गुल्मीभर सञ्चालनमा रहेका सयौं विद्यालयमध्ये कार्यरत शिक्षकहरूमा कम उचाइका शारीरिक अपांगता शिक्षक उहाँमात्रै रहेको पाइएको छ ।
धेरै टाढा हिँडडुल गर्न नसके पनि आफ्नो क्षमताले सकेसम्मको काम गरेर समाज बदल्ने उहाँको अठोट छ । 'दौडधुप गर्न त सक्दिनँ', ज्ञवालीले भन्नुभयो, 'सयौं विद्यार्थीलाई शिक्षाको ज्योति दिएर सही मार्गमा डोर्याउने प्रयास गर्छु ।' उहाँले जागिरबाट अवकाश हुन अझै १४ वर्ष समय पर्खिनुपर्छ । नेपाल सरकारले ६० वर्ष उमेर पुगेपछि मात्र जागिरबाट स्वतः अवकाश हुन पाउने प्रावधान बनाएको छ ।
'हामीजस्ता अपांगतालाई ६० वर्षलाई आधार मानेर कम अवधिमै अवकाश हुन पाउने व्यवस्था मिलाउनुपर्ने हो', सरकारसँग माग राख्दै उहाँले भन्नुभयो,'अब धेरै वर्ष पढाउन शरीरले साथ देलाजस्तो छैन ।' आफूजस्ता शिक्षक एवं कर्मचारी देशमा अत्यन्तै न्यून संख्यामा भएकाले सरकारलाई कम उमेरमै अवकाश पाउने व्यवस्था मिलाइदिन उहाँले आग्रह गर्नुभयो । सबै कानुन स्थानीय रूपमै निर्वाचित जनप्रतिनिधिले बनाउने भएकाले यसतर्फ गम्भीर बन्न उहाँले जनप्रतिनिधिलाई आग्रहसमेत गर्नुभयो ।