शिक्षकलाई अनलाइनबाटै तालिम
काठमाडौं : शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइन विधिबाट तालिम दिन सुरु गरेको छ ।प्रत्यक्ष रूपमा सञ्चालन गरिएको तालिम प्रभावकारी नभएको विश्लेषण गर्दै केन्द्रले अनलाइनबाट तालिम दिएको हो । केन्द्रका उपनिर्देशक शिव सापकोटाका अनुसार फेस टु फेस तालिम खर्चिलो भएको, शिक्षकलाई उपलब्ध गराउन कठिन भएको लगायतका समस्या देखिएकाले नयाँ मोडल अपनाइएको केन्द्रले जनाएको छ ।
यसअघि शिक्षकलाई तालिम दिने प्रशिक्षकलाई पनि यस्तै विधिबाट तालिम सम्पन्न गरिएको थियो । 'फेस टु फेस' तालिम सञ्चालन गर्दा प्रभावकारी नभएको, खर्चिलो हुँदै गएको र विद्यालयभन्दा बाहिर जानुपर्दा शिक्षकहरूलाई समस्या परेकोले अनलाइन विधिबाट तालिम सञ्चालन गरेका हौं', सापकोटाले भन्नुभयो, 'परीक्षणका रूपमा सुरुआत गरेको यो तालिम सफल रहेमा देशभरि नै कार्यान्वयनमा ल्याइनेछ ।'
हालसम्म कुनै पनि तालिम नलिएका शिक्षकहरूलाई यस विधिबाट तालिम दिने निर्णय भएका कारण कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकहरू छनोट गरिएको छ । कक्षा १० सम्म अध्यापन गर्ने प्रायः सबै शिक्षकले तालिम लिइसकेकाले कक्षा ११ र १२ मा अध्यापन गर्दै आएका अधिकांश शिक्षकहरूले तालिमको अवसर नै पाएका छैनन् । उहाँका अनुसार ४० जना त्यस्ता शिक्षकलाई तालिममा समावेश गरिएको छ ।
अनलाइन पेसागत विकास तालिममा सहभागीहरूलाई सफ्टवेयर उपलब्ध गराइन्छ । उनीहरूले आफ्नो कम्प्युटर अन गरेपछि सफ्टवेयरले प्रशिक्षकले दिएको परियोजना कार्य हेर्न सक्छन् र सोहीअनुरूप कार्य पूरा गर्नुपर्छ । प्रशिक्षार्थीले सफ्टवेयर प्रयोग गरे नगरेको थाहा हुनसक्ने बनाइएको छ । तसर्थ नियमित रूपमा परियोजना कार्य गर्नैपर्ने हुन्छ । केन्द्रले मुडल नामक सफ्टवेयर प्रयोगमा ल्याएको छ ।
पहिलो तीन दिनसम्म कक्षाकोठामा प्रशिक्षार्थी शिक्षकलाई राखेर अभिमुखीकरण गरिएको छ । ती शिक्षकलाई इन्टरनेटको प्रयोग गरी कसरी तालिममा सहभागी हुन सकिन्छ भन्नेबारेमा प्रशिक्षण दिइएको थियो । तीनमहिने तालिम सुरु गरिएको छ र यसलाई एक वर्षको बनाउने प्रस्ताव अगाडि सारिएको छ । 'नियममै एकवर्षे अनलाइन तालिम लिएको हुनुपर्ने व्यवस्था प्रस्ताव गरेका छौं', उहाँले भन्नुभयो । कार्यरत शिक्षकले आधारभूत र माध्यमिक तहमा प्रथम, द्वितीय र तृतीय श्रेणीमा नै यस्तो तालिम लिनसक्ने व्यवस्था गरिँदैछ ।
पाठ्यपुस्तक र पाठ्यक्रम बेगरको शिक्षण विधि, शिक्षणमा अन्तरक्रिया विधि, सामूहिक कार्य, ठूला कक्षा व्यवस्थापन, बालमनोविज्ञान, इन्टर्नसिप लगायतका बारेमा प्रशिक्षण दिइनेछ । सापकोटाले कार्यथलोमा बसेर तालिम लिन सकिने बताउँदै तालिम सम्पन्न भइसकेपछि शिक्षकको पेसागत विकास तालिमको एक महिनासरहको मान्यता दिइने बताउनुभयो ।