खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध: मन्त्री केसी
काठमाडौँः युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताएका छन्।
उनले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै खेलाडीलाई प्रतिस्पर्धी बनाउनका लागि के गर्न सकिन्छ र तालिममा के कस्ता समस्या छ भन्ने पहिचान गर्न आवश्यक रहेको बताए।
मन्त्री केसीले राष्ट्रिय टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानीसमेत गरे। एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गरे।
त्यसक्रममा राखेप सदस्य सचिव विष्टले विभिन्न खेल संघका पदाधिकारीका साथै प्रशिक्षकका बारेमा जानकारी दिएका थिए। मन्त्री केसीसँग मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि थिए। रासस