अपहरणको पाचौं दिनमा बालक सकुशल मुक्त
काठमाडौं : पाँच दिनअघि काठमाडौंको एक स्कुलबाट अपहरणमा परेका ६ वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सकुशल मुक्त गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशाललाई सोमबार बिहान काठमाडौं काँडाघारीबाट अपहरणमुक्त गरेको हो । विशालको अपहरणमा संलग्न भने पक्राउ पर्न सकेका छैनन् ।
अपहरणकारीको पहिचान भइसकेकाले केही दिनभित्रै पक्राउ पर्ने महानगरीय अपराध महाशाखा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेश अमात्यले दाबी गरे । 'अपहरणकारीको पहिचान भएपछि हामीले आइतबार रातभर उसको फलोअप गर्यौं । अन्ततः बालक सोमबार बिहान ५ बजे काँडाघारीको वीरेन्द्र चोकमा फेला परे', उनले भने ।
असनमा भाँडा व्यापार गर्दै आएका विजय चौधरीका छोरा विशाल गत बिहीबार क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ हाइयर सेकेन्डरी स्कुलबाट दिउँसो साढे ३ बजे अपहरणमा परेका थिए । स्कुल छुट्टी भएपछि गेटभित्र अभिभावक कुरेर बसेका विशाल एक्कासि बाहिर निस्किएर बाइकमा चढेको विद्यालय व्यवस्थापनले समेत थाहा पाएको थिएन ।
विजय छोरा लिन स्कुल पुगेपछि आफ्नो बच्चा त्यसअघि नै त्यहाँबाट निस्किसकेको सीसीटीभी फुटेजमा देखिएको थियो । परिचित व्यक्तिसँग जसरी बाहिर निस्किएर बाइकमा चढेकाले विशाललाई चिनेजानेकै व्यक्तिले अपहरण गरेको प्रहरी र विशालका आफन्तको अनुमान थियो । त्यहीअनुसार प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । तर धेरै दिन बित्दासमेत बच्चा फेला नपरेपछि अपहृत बालकका परिवार निराश देखिएका थिए ।
'धेरै दिनसम्म आफ्नो बच्चा नभेटिँदा मैले आसै मारेको थिएँ । सुरुमा प्रहरीसँग कुनै क्लु नै थिएन । तर महाशाखाको टोली चौबीसै घन्टा खटिएर मेरो बच्चालाई सकुशल मुक्त गर्यो । नेपाल प्रहरी र अपराध महशाखा भयंकर रहेछ', सोमबार खुसी हुँदै विजयले भने ।
विजयले चिनेजानेकैले आफ्नो बच्चा अपहरण गरेको दाबी गरे पनि नाम खुलाउन चाहेनन् । 'बच्चा भेटिँदा ब्यागमा उसलाई मनपर्ने बिस्कुट र चाउचाउ छ । मेरो बच्चालाई के मनपर्छ भन्ने अपहरणकारीलाई राम्रोसँग थाहा छ । त्यसैले अपहरणकारी टाढाको होइन', विजयले भने । पारिवारिक आशंकाका आधारमा अपहरणका मुख्य नाइके सुरुवातमा बच्चा खोज्न विजयसँगै लागिपरेका थिए । तर, आइतबार साँझदेखि ती व्यक्ति मोबाइलको स्विच अफ गरी सम्पर्कबाहिर रहेकाले प्रहरी र आफन्तको आशंका थप बढेको छ ।
व्यवसायी विजय चौधरीका छोरा विशाल चौधरी गत बिहीबार क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ हाइयर सेकेन्डरी स्कुलबाट अपहरणमा परेका थिए ।
'अपहरणकारीको खोजी भइरहेको छ । चाँडै पक्राउ पर्ने विश्वास लिएका छौं', महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रकाशजंग कार्कीले भने ।बच्चा अपहरणमा परेको तेस्रो दिन शनिबार दिउँसो अपहरणकारीले विजयलाई फोन गरी आफूले अर्कै बच्चा अपहरण गर्न खोज्दा विशाल परेको बताएका थिए । 'हाम्रो निर्वाचन आउँदै छ, त्यसका लागि पैसा चाहिन्छ, त्यसैले हामीलाई फिरौती ५० लाख रुपैयाँ चाहिन्छ भने । त्यसपछि मोबाइल स्विच अफ भयो र फेरि गरेनन्', विजयले भने ।
नौ वर्षमा आठौं सफलता
अपहरणकारीको निसानामा पछिल्लो समय बालबालिका पर्ने गरेका छन् । प्रहरीकहाँ आएको उजुरीका आधारमा उपत्यकाभित्र मात्र पछिल्लो नौ वर्षमा आठवटा घटनामा अपहृत बालबालिकाको सकुशल उद्धार भएको छ । यी सबै घटनामा महानगरीय अपराध महाशाखाले सफलता हात पारेको हो ।
२०६५ चैत १० गते काठमाडौंको बत्तीसपुतलीबाट अपहृत प्रशम शाहलाई केही दिनपछि विराटनगरको ट्राफिक चोकस्थित गेस्ट हाउसबाट सकुशल उद्धार गरिएको थियो । अपहरणकारीले चार लाख रुपैयाँ फिरौती माग गरे पनि प्रहरीले अपहरणकारीलाई पनि पक्राउ गर्न सफल भयो ।
त्यसको दुई वर्षपछि भारतको नयाँ दिल्लीबाट अपहृत बालिका वैभवी चतुर्वेदीलाई महाशाखाको टोलीले काठमाडौंबाट अपहरणमुक्त गरेको थियो । अपहरणकारीले बालिकाका आफन्तसँग एक लाख ५० हजार अमेरिकी डलर फिरौती माग गरेका थिए । अपहरण गर्ने सुरक्षा श्रेष्ठ पक्राउ परिन् । यसैगरी २०६८ साल वैशाख २६ गते फर्पिङ शेषनारायण डल्लुस्थित कार्डिनल इन्टरनेसनल बोर्डिङ स्कुलबाट अपहृत आठ वर्षीय कृष्णचन्द्र वाइबालाई केही दिनपछि रानीबारीबाट सकुशल अपहरणमुक्त भएका गरिएको थियो । स्कुलबाटै अपहरण गर्दै बालकका आफन्तसँग १० लाख रुपैयाँ फिरौती माग गर्ने सन्च माया तामाङ पनि पक्राउ परिन् ।
तीन वर्षअघि स्कुलबाट फर्कने क्रममा धापासी- ८ इन्द्रपुरीस्थित आवास क्षेत्रमा रहेको आफ्नो घर अगाडिबाट अपहरणमा परेका पाँच वर्षीय सिद्धान्त बजाज केही घन्टामै अपहरणमुक्त भएका थिए । अपहरणमा संलग्न आठ जना हतियारसहित विभिन्न ठाउँबाट पक्राउ परे । बालक अपहृत भएलगत्तै प्रहरीलाई जानकारी गराइएका कारण सिद्धान्तलाई तत्कालै अपहरणमुक्त गर्न प्रहरी सफल भएको थियो।
२०७१ साल जेठ १४ गते भक्तपुरको सुर्यविनायकबाट अपहरणमा परेका दुई वर्षीय बालक बिटुकुमार चौधरी केही दिनभित्रै अपहरणमुक्त भएका थिए । अपहरणकारीले अपहृतका अभिभावकसँग एक करोड फिरौती माग गरेका थिए । यस अपहरणमा चारजना पक्राउ परे । २०७२ साल जेठ २३ गते गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोका अर्याल गाउँस्थित घरअघिको चौरबाट अपहरणमा परेका १० वर्षीय सागर बन्जारा केही दिनभित्रै अपहरणमुक्त भएका थिए ।
अपहरणकारीले अपहृतका आफन्तसँग ५० लाख रुपैयाँ फिरौती माग गरेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका बन्जारालाई घाँटीसम्म पुरेर स्याउलाले छोपी सागरका आफन्तसँग फिरौती माग गरेका थिए । यस घटनामा दुईजना पक्राउ परेका थिए । अपहरणमा परेका केही बालक भने अपहृत अवस्थामै मारिएका छन् । बालक शुभम शाह, रोहित गुप्ता, विवेक शर्मा लुइँटेलको अपहरणकारीले हत्या गरेका थिए । फिरौतीपछि अपहरणमुक्त भएकी वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाकी छोरी मघा देवकोटाको अपहरणमा संलग्नलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।