सडक मर्मत गर्ने आश्वासनपछि यातायात सुचारु
वीरगन्ज: वीरगन्जको बसपार्कमा यातायात व्यवसायी र कर्मचारीहरुले मंगलबार बिहान ६ बजे देखि अवरुद्ध पारेको सडक बिहान सवा आठ देखि सन्चालनमा आएको छ।
वीरगन्जको रजत जयन्ति चोक देखि बसपार्क र भिस्वा होटल चोक हुँदै प्रतिमा चोक सम्मको जीर्ण सडक मर्मतको माग गर्दै यातायात व्यवसायी र कर्मचारीहरुले बसपार्क चोकमा बिहान ६ बजे देखि सडक अवरुद्ध पारेका थिए । उनिहरुले बस, ट्रक, टाटासुमो लगायतका सवारी सधानहरु बिच सडकमै रोकेर सडक अवरुद्ध पारेपछि यात्रुहरु अलपत्र परेका थिए।
यातायात व्यवसायी र कर्मचारीहरुले सवारीसाधन ठप्प पारी सडकमा चक्कजाम गरेपछि जिल्ल प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरीक्षकद्वय चक्रराज जोशी र यज्ञ प्रसाद भट्टराइको नेतृत्वमा बसपार्कमा पुगेको प्रहरी टोलीको पहलमा सडक सुचारु भएको हो। बसर्पाकमै भएको वार्तामा वीरगन्ज महानगरपालिका कार्यालयका अधिकृत राजकृष्ण ताम्रकारले मंगलवार दिउँसो देखि जीर्ण बनेको सडक मर्मतका लागि ग्राभेल खसाउने र लोडरले सम्याउने प्रतिबद्धता जनाए।
वार्तामा प्रहरी नायव उपरीक्षकद्वय जोशी र भट्टराई, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक अनिष कर्ण, नारायणी बस व्यवसायी संघका अध्यक्ष जगत साह कानु, टाटा सुमो कर्मचारीका अगुवा धर्मेन्द्र प्रसादका साथै यातायात व्यवसायी र कर्मचारीहरुको सहभागीता रहेको थियो।
सडकमा ठुल्ठूला खाल्डा भएको र वर्षामा पानीका कारण सडक हिलाम्ये हुँदा दिनहुँ सवारी दुर्घटना हुनुका साथै सवारी साधन चलाउन पनि अप्ठ्यारो भएको यातायात व्यवसायी र कर्मचारीहरुले गुनासो गर्दै आएका छन्। आफ्ना मागको सम्बोधन गर्ने सहमति भएको टाटासुमोका कर्मचारी धर्मेन्द्र प्रसादले बताए।