दुई सातादेखि माडी नगरपालिका अन्धकारमा
माडी (चितवन) : चितवनको दक्षिणी सीमावर्ती क्षेत्र माडी नगरपालिका दुई सातादेखि अन्धकारमा छ। चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै लगिएको आठ किलोमिटर भूमिगत विद्युत लाइनमा गडबडी आएपछि माडीमा बत्ती बल्न नसकेको हो। साउन चार गतेदेखि विद्युत सेवा अवरुद्ध भएपछि माडीवासी समस्यामा परेका छन्।
सात महिनाअघि घरमा बिजुली बल्दा दङ्ग परेका माडी नगरपालिका वडा नम्बर एकका नारायणप्रसाद दवाडी वर्ष दिन नहुँदै पटकपटक विद्युत प्रसारण लाइन बिग्रिएर अन्धारमा बस्नु परेपछि अहिले दिक्क भएका छन्। ‘पहिले विद्युत नहुँदा सोलारको व्यवस्था गरेका हामी ढुंक्क थियौँ। विद्युत आएपछि सोलार निकालियो’ उनले भने, ‘करिब एक लाख रुपैयाँ खर्च गरेर पंखा, बत्ती, पानी तान्ने पम्प किनेँ। अहिले गर्मीमा न पंखा चलाउन पाइयो, न त बत्ती बाल्न नै।’ अठार वर्षपछि बल्लतल्ल गतवर्ष कात्तिकमा विद्युत सेवा पाएका माडीवासीलाई फेरि अन्धकारमै बस्नुपर्ने हो कि भन्ने चिन्ता थपिएको छ।
‘मैले २०४८ सालदेखि बरुवामा मिल राखेको हुँ। तीन महिना अघिसम्म डिजेलले नै मिल चलाउँथें’ माडी नगरपालिका एकका छविलाल भट्टराईले भने, ‘विद्युत आएपछि साढे दुई लाख खर्च गरेर बिजुलीबाट मिल चलाउन थालेको थिएँ। पटकपटक विद्युत बिग्रिँदा लगानी पनि नउठ्ने हो कि भन्ने चिन्ता लागेको छ।’ उनले एक महिनामात्र बिजुलीबाट मिल चलाउन पाएको बताए। माडीमा यसअघि गत असार ५ गतेदेखि अवरुद्ध भएको विद्युत सेवा दुई सातापछि पुनः सुरु भएको थियो। त्यसको हप्ता दिन नपुग्दै फेरि समस्या देखियो। यसरी पटकपटक विद्युत सेवा अवरुद्ध भएपनि सम्बन्धित पक्षले चासो नदिएको माडीवासीको गुनासो छ।
माडी नगरपालिकामा विद्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको जमिनमुनि बिच्छ्याइएको तारमा खराबी आएपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर तथा सूचना अधिकारी राजेन्द्र पौडेल बताउँछन्। ‘चनौलीबाट लगिएको विद्युतको तार निकुञ्जभित्र आठ किलोमिटरसम्म जमिनमुनि विच्छ्याइएको छ। जमिनमुनिको तार सात ठाउँमा गाँसिएको छ’ उनले भने, ‘जमिनमुनि बिच्छ्याइएको तारमा समस्या देखिएको तर कुन क्षेत्रमा बिग्रिएको हो भन्ने अझै पत्ता लाउन सकिएको छैन।’ यसका लागि भारतबाट मेसिन मगाएर काम गर्नुपर्ने उनी बताउँछन्। जमिनमुनिको तारमा देखिएको खराबी पत्ता लगाउन नेपालको प्रविधिले नसकेपछि खराबी पत्ता लगाउने मेसिन (केवल फल्ट फाइण्डिङ मेसिन) भारतबाट मगाइएको उनले जानकारी दिए। जमिनमुनि तार भएको ठाउँमाथि फल्ट फाइण्डिङ मेसिन लगाएपछि खराबीको संकेत प्राप्त हुन्छ। मेसिन आएपछि परीक्षण गरेर खराबी पत्ता लाग्ने र त्यसपछि मर्मत गरी विद्युत सेवा पुनः सुरु गरिने इञ्जिनियर पौडेलको भनाइ छ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकाल अवरुद्ध विद्युत सेवा तुरुन्त सुरु गराउन आफूहरुले विद्युत प्राधिकरणलाई दबाव दिएको बताउँछन्। ‘हामीले सम्बन्धित निकायमा जानकारी गराएर विद्युत सेवा छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन आग्रह गरिसकेका छौँ’ उनले भने, ‘जमिनमुनि बिच्छ्याइएको तारमा समस्या देखिएको र कुन क्षेत्रमा बिग्रिएको हो भन्ने पत्ता लगाउन भारतबाटै मेसिन झिकाउनु पर्ने भएकोले समय लागेको भन्ने जवाफ पाएका छौँ।’ एक हप्ताभित्र माडीको अवरुद्ध विद्युत सेवा पुनः सञ्चालनमा आउने विद्युत प्राधिकरणले जानकारी गराएको मेयर ढकाल बताउँछन्।
४० प्रतिशतलाई विद्युत
माडी नगरपालिकामा विद्युत सेवा पुगेपछि ४० प्रतिशत स्थानमा विद्युत सेवा विस्तार गरिएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ। अठार वर्षदेखि बिजुली बत्ती बाल्ने सपना देखेका माडीवासीले अहिले पनि राम्रोसँग बिजुली उपभोग गर्न पाएका छैनन्। माडीमा विद्युतीकरणका लागि २० करोड ८३ लाख रुपैयाँ खर्च भइसकेको छ।
करिब ४० हजार जनसंख्या रहेको माडीमा अहिले २४ वटा ट्रान्सफर्मरमार्फत् विद्युत वितरण सुरु गरिएको माडी सव–स्टेशनका प्रमुख आनन्द कुँवरले जानकारी दिए। उनका अनुसार, एक सय केभीएका १४, दुई सय केभीएका छ र ५० केभीएका चार वटा ट्रान्सफर्मरमार्फत विद्युत वितरण गरिएको छ। पश्चिम चितवनको चनौलीबाट चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर भूभागमा भूमिगत लाईन तानेर २८ किलोमिटर पर वसन्तपुरमा रहेको ट्रान्सफर्मरमा विद्युत जोडिएको छ। यससँगै प्राधिकरणले २०६६ सालमा सुरु गरेको चनौली–जगतपुर–माडी ३३ हजार केभीए प्रसारण लाईन आयोजना सम्पन्न भएको छ।
माडीका जनताले २०५५ सालदेखि बिजुलीको आशा गर्न थालेका थिए। नेपाल विद्युत प्राधिकरणले आ.व. २०५५÷५६ मा ग्रामीण विद्युतीकरण आयोजना ल्याएपछि माडीका धेरैले घरघरमा विद्युत वायरिङ गराएका थिए। त्यतिखेर घरछेउमा गाडिएका विद्युतका पोलहरु ढलेर तार भुइँमा लत्रिए, तर माडीमा बिजुली बलेन। प्रारम्भिक वातावरण परीक्षण नगरेको कारण देखाउँदै चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जभित्र तार टाँग्न नदिएपछि विद्युत प्राधिकरणले एक करोड १३ लाख २२ हजार रुपैयाँ खर्च गरेको त्यो योजना त्यसै अलपत्र बन्यो। २०६६ सालमा प्राधिकरणले पुनः २४ करोडको चनौली–जगतपुर–माडी ३३ हजार केभीए प्रसारण लाईन आयोजनामार्फत् विद्युतीकरणको काम सुरु ग¥यो। २०७० सालको सुरुमै काम सक्ने भनिएपनि पटकपटक समस्या देखाउँदै आयोजना अवधि लम्बिँदै गयो। अन्ततः गतवर्ष कात्तिकमा पहिलोपटक माडीमा बिजुली बत्ती बल्यो। अहिले त्यो बत्ती निभेको छ।
माडीमा बिजुली ल्याउने योजना २०५१ सालबाटै सुरु भएको स्थानीयवासी बताउँछन्। ‘सातौं, आठौँ र नवौँ जलविद्युत कार्यक्रम अन्तर्गत माडीमा विद्युत प्रसारण गर्ने कार्य भएको हो’ माडीवासी शोभाकर चापागाई भन्छन्, ‘२०५१ सालको योजना राष्ट्रिय निकुञ्जका कारण सम्भव भएन। २०५६ सालमा तत्कालिन जलस्रोत राज्यमन्त्री नारायण शर्मा पौडेलले सबस्टेसन ल्याउन निर्देशन दिएपछि विद्युत निर्माण कार्यको थालनी भएको हो।’ निकुञ्जभित्र जमिनमुनि बिछ्याइएको विद्युत लाईन भरपर्दो नभएकोले यसलाई व्यवस्थित गर्नुपर्ने माडीवासीको माग छ। माडीको वनकट्टादेखि बगईसम्मको चार हजार पाँच सय घरधुरीमा विद्युत सेवा पुगेको छ। सरकारले चालु आर्थिक वर्षमा माडीका सबै क्षेत्रमा विद्युत पुर्याउने लक्ष्य राखेको छ।