जिसस पर्वतमा एमाले बिजयी
कुश्मा: जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका उम्मेदवार मनोहर पौडेल बिजयी भएका छन्।
मंगलबार भएको निर्वाचनमा पौडेलले ८ मत प्राप्त गरी बिजयी भएका हुन् भने उनका निकटतम प्रतिद्धद्वी नेपाली कांग्रेसका उम्मेदवार परशुराम पुरीले ६ मत प्राप्त गरी पराजय भएका छन्। त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकै यामकुमारी राना बिजयी भएकी छिन्।
समन्वय समितिका अन्य सात सदस्य पनि एमालेलेनै जितेको छ। बिजयी सदस्यहरुमा ज्ञानबहादुर भण्डारी, बिष्णुराम बिक, कबिता बिक, नन्दलाल सुबेदी, ओमप्रसाद रेग्मी, बिष्णुमाया पौडेल, र शर्मिला नेपाली रहेका छन्।
समन्वय समितिको निर्वाचनमा जिल्लाका सात स्थानिय तहका प्रमुख र उपप्रमुख गरी १४ जना मतदाताले सहभागिता जनाएका थिए। पर्वतमा सात स्थानिय तह मध्ये चार वटामा एमाले बिजयी भएको थियो भने तीन वटा तहमा नेपाली कांग्रेस बिजयी भएको थियो।
निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै समन्वय समितिका संयोजक मनोहर पौडेलले समग्र पर्वत जिल्लाको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रको विकासका लागि आफू निरन्तर क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे।