भरतपुर-१९ मा साउन २० गते पुनः मतदान

भरतपुर-१९ मा साउन २० गते पुनः मतदान

भरतपुर : चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान हुने भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वपक्षीय छलफल गरी पुनः मतदानको मिति तय गरेको हो।

सर्वोच्च अदालतले पुनः मतदानको आदेश दिएपछि निर्वाचन आयोगले सोमबार मिति, समय र स्थान तोकी सम्पूर्ण व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको थियो।

शुक्रबार पुनः मतदान हुने भएपछि बुधबारदेखि नै मौन अवधि लागू हुने भएको छ। ‘सर्वपक्षीय छलफलमा दलहरूले छिटो निर्वाचन गर्नुपर्ने आग्रह गरेपछि सबैको सहमतिमा पुनः मतदानको मिति तय गरिएको हो’, मुख्य सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले भने, ‘अबको एक सातामा परिणाम बाहिर ल्याउने तयारीमा लागेका छौं।’ उनका अनुसार ३६ कर्मचारी बुधबारदेखि खटिनेछन्।

लामो समय अन्योल भएका कारण अब लम्ब्याउन नहुनेमा नेताले जोड दिएका थिए। कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले अब प्रचारको जरुरी नभएको बताए। उनले भने, ‘आजैदेखि शून्य समय मानेका छौं।’ एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जनता मतदानका लागि आतुर रहेको बताए। भने, ‘जुन कलंक बेहोरियो त्यो अब नबेहोर्ने गरी निर्वाचन सम्पन्न गर्न दलबीच सहमति भएको छ।’
यसअघि तोकिएको मतदान केन्द्रलाई नै कायम गरिएको छ। सुरक्षा व्यवस्थालाई मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए।

पहिलो चरणको स्थानीय तह निर्वाचन भएको भरतपुरमा वडा नम्बर १९ को मतगणना हुँदै गर्दा जेठ १४ गते राति मतपत्र च्यातिएको थियो। त्यसपछि पुनः मतदान गराउने आयोगको निर्णयविरुद्ध परेको रिट सर्वोच्चले खारेज गरिदिएको छ।

वडा नम्बर १९ मा यसअघि भएको निर्वाचनको मतपत्र नष्ट गरिएको छ। आयोगको निर्देशनअनुसार ती मतपत्र मंगलबार जलाएर नष्ट गरिएको हो। कुल खसेको मतमध्ये दुई हजार ८ सय ७ मत जलाइएको हो। २ हजार ८ सय ९७ मत खसेको थियो। बाँकी च्यातिएको ९० मतको अवस्थाबारे बुझ्न सर्वोच्चले मागेपछि काठमाडौं लगिएको थियो।

भरतपुरका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले निर्वाचनको समाचार संकलनमा रोक लगाएका छन्। मतपत्र जलाएको तस्बिर लिन खोज्दा सुरक्षाकर्मी लगाएर रोक लगाइएको थियो। सञ्चारकर्मीलाई सुरक्षाकर्मी लगाएर लखेट्न निर्देशन दिने मुख्य निर्वाचन अधिकृत न्यौपानेको कार्यशैलीप्रति नेपाल पत्रकार महासंघ चितवनले निन्दा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.