सबैसँग न्यायो र मित्रवत् सम्बन्धः परराष्ट्र मन्त्री
काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दक्षिण एसियाली मुलुकसहित सबै मित्रराष्ट्रसँग नेपालको सम्बन्ध न्यायो र मित्रवत् रहेको बताएको छन्।
परराष्ट्र मन्त्रालयमा बंगलादेशको राष्ट्रिय सुरक्षा विद्यालयका प्रतिनिधिमण्डलसँग मंगलबार भएको अन्तर्क्रियामा उनले सबै मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध राखेर अगाडि बढ्ने बताए। नेपाल संयुक्त राष्ट्र संघ र असंलग्न आन्दोलनको सक्रिय सदस्य भएको उल्लेख गर्दै मन्त्री महराले राष्ट्र संघको वडापत्र तथा पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनबाट निर्देशित परराष्ट्र नीतिको पक्षमा रहेको बताए।
मन्त्री महराले बंगलादेशसँग प्रजातान्त्रिक मूल्य र मान्यता एवम् विकासका चुनौती पनि समान रहेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणा बनाएर अगाडि बढ्न सकिने बताएको उनका प्रेस संंयोजक हरि लामिछानेले जानकारी दिए।
सो अवसरमा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालमा लगानीका लागि उपयुक्त अवसर भएको बताउँदै कानुनी रुपमा पनि लगानीका लागि उपयुक्त अवसर सिर्जना गरिएको बताए। रासस