सीडीओ फेरिए, क्षतिपूर्ति पाइएन

सीडीओ फेरिए, क्षतिपूर्ति पाइएन

भक्तपुर : भक्तपुरमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिँदा पनि मध्यपुर थिमी नपा ८ का पीडित किसानले क्षतिपूर्ति पाउन सकेका छैनन् । भक्तपुरको मध्यपुर थिमी नपा ८ बोडे र काठमाडौंको मूलपानी जोड्ने सडक फराकिलो गर्ने क्रममा ठेकेदारको गल्तीले २०७३ साल असोज ४ गते किसानको नगदेबालीमा बाढी पसेको थियो ।

उक्त बाढीले स्थानीय एघार जना किसानको १५ रोपनी क्षेत्रफलमा लगाइएको गाँजर र सागलाई पूर्ण रुपमा सोत्तर बनाएको थियो । यसरी क्षति व्यहोर्नेहरुमा इन्द्रकृष्ण जोशी, तुईलाल तको, रोहन सापाल, सुनकुमार चक्रधर, श्यामकृष्ण कोजू, रामकृष्ण बाडे रहेका छन् ।

त्यस्तै सूर्यमान अवाल, धर्मरत्न बाडे, चन्द्रकुमार सिन्केमन, विजय तको र सुनिल घजूको खेतमा लगाइएको गाँजर तथा साग बाढीले पुरै पुरिएको थियो।

उक्त बाढीले ३७ लाख ५० हजार रुपैयाँ बराबरको गाँजर र साग खेतीमा क्षति पु¥याएको प्राविधिक प्रतिवेदन जिल्ला प्रशासन कार्यालयलाई गएको असोज १८ गते नै उपलब्ध गराएको थियो ।

कृषि कार्यालयले क्षति मूल्यांकन गरिसकेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलको संयोजकत्वमा २०७३ साल मंसिर २३ गते बसेको बैठकले बाली क्षति भएका किसानहरुलाई तत्कालै क्षतिपूर्तिवापत ६ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस्तै कृषि विकास कार्यालयबाट मूल्यांकन भई आएअनुसारको बाँकी क्षतिपूर्ति रकम ६ महिनाभित्र उपलब्ध गराउन सडक विभागमा अनुरोध गर्ने निर्णयसमेत उक्त बैठकले गरेको थियो ।

तर उक्त निर्णय भएको नौ महिना बितिसक्दा पनि पीडित किसानहरुले कुनै क्षतिपूर्ति पाउन नसकेको पीडित किसानहरुले गुनासो गरेका छन् ।
पीडित किसान ज्ञानकुमार मकैले निर्णयानुसार पटकपटक डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि कुनै क्षतिपूर्ति पाउन नसकिएको बताए ।

उनले आफ्नो दैनिक खेतीकिसानी काम छाडेर सडक र प्रशासन धाउँदा उल्टै क्षतिपूर्ति रकम पाउनेभन्दा घाटामात्र सहनुपरेको सुनाए । त्यस्तै अर्का पीडित किसान धर्मरत्न बाडेले बाढीले बगाएर आफ्नो उब्जाउ जमिनमा बालुवा, माटो थुपार्दा अहिलेसम्म राम्रो उत्पादन लिन नपाएको दुःखेसो पोखे ।

‘क्षतिपूर्ति रकम त पाएनांै पाएनौं, भएको खेतमा समेत बाढीले ल्याएको बालुवा, ढुंगामाटोले राम्रो उत्पादनसमेत लिन पाएका छैनौं’, उनले भने ।
किसानहरु पटकपटक कार्यालयमा गुनासो लिएर आएपछि तेजप्रसाद पौडेलको ठाउँमा सरुवा भई आएका हालका प्रजिअ द्रोण पोखरेलले २०७३ साल पुस ११ गते पुनः सर्वदलीय बैठक बोलाएर पीडित किसानहरुलाई पहिल्यै भएको निर्णयानुसार ६ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको थियो।

सडक निर्माण ठेकेदार सन्तोषी पीआर जेभी कन्स्ट्रक्सनले ११ जना पीडित किसानलाई उक्त क्षतिपूर्ति रकम उपलब्ध गराएका थिए ।

उक्त बैठकले पनि बाँकी क्षतिपूर्ति रकम उपलब्ध गराउन सडक विभागमा पहल गर्ने निर्णय गरेको थियो तर उक्त निर्णय भएको आठ महिना बित्दा पनि क्षतिपूर्ति रकम नपाएको पीडित किसानहरुको गुनासो रहेको छ । किसानहरुका अनुसार विभिन्न चरणको बैठकमा भएको सहमतिअनुसार ठेकेदारले किसानहरुलाई बीमावापतको रकमसमेत उपलब्ध नगराएको आरोप लगाएका छन् ।

डिभिजन सडक कार्यालय भक्तपुरले भने सडक विभागबाट नै रकम नआएकाले किसानलाई दिन नसकिएको बताएको छ । कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले आफूहरुले विभागमा पहल गरिरहेको सुनाए । ‘जिल्लाको सर्वदलीय निर्णयानुसार सडक विभागमा पहल गरिरहेका छौं’, उनले भने, ‘विभागबाट आएपछि न दिने हो ।’

उनले बीमा रकम पाउने आशमै निर्माण व्यवसायीले पीडित किसानहरुलाई ६ लाख रुपैयाँ क्षतिपूर्ति दिएको बताए । तर निर्माण व्यवसायीले पाँच लाख ९० हजारमात्रै बीमाको रकम पाउन सकेको उनको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.