पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित
इस्लामावाद : पाकिस्तानको संसद्ले पूर्वप्रधानमन्त्री नवाज शरिफको सत्ताधारी दल पाकिस्तान मुस्लिम लिग- नवाज (पिएमएल-एन) का तर्फबाट नेता शहिद खकान अब्बासी मंगलबार प्रधानमन्त्री निर्वाचित भएका छन्।
पाकिस्तानी सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारमा संलग्नताको आशंका गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसद्मा निर्वाचन भएको थियो। अब्बासीलाई संसद्को ३४२ सदस्य संख्यामा २२१ मत प्राप्त भएको थियो।
प्रधानमन्त्रीका लागि विभिन्न ६ जनाको उम्मेदवारी रहेकोमा प्रमुख प्रतिपक्षी दल पाकिस्तान पिपुल्स पार्टीका सैयद नभीद कमार उनका प्रतिस्पर्धी रहे। कमारले जम्मा ४७ मत प्राप्त गरेका थिए। त्यसैगरी पाकिस्तान तेहरिक-ए-इन्साफका शेख रसिद अहमद ले ३३ मत प्राप्त गरेका थिए भने जमात ए इस्लामीका शाहिवजादा तरिक उल्लाहले जम्मा चार मत पाएका थिए।
शरिफले आफ्नै भाइ शहवाज शरिफलाई प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई उनको पाकिस्तान मुस्लिम लिग- नवाज (पिएमएल-एन)ले स्वीकार गरेपछि हाललाई अन्तरिम प्रधानमन्त्रीका रूपमा सत्ताधारी दलले शरिफका विश्वासपात्र पूर्व तेलमन्त्री शहिद खकान अब्बासीलाई अघि सारेको छ।
शहवाज नेशनल एसेम्बलीको सदस्यमा निर्वाचित भएपछि अब्बासीले राजीनामा दिने र उनको ठाउँमा प्रधानमन्त्री बनाई शरिफका भाई शहवाजलाई ल्याउने सत्ताधारी दलको योजना रहेको छ। अब्बासी अन्तरिम प्रधानमन्त्री निर्वाचित बनेपछि उनलाई प्रतिपक्षी दलका सदस्यहरूले समेत बधाई दिएका छन्।