नेपालमा चीन विरोधी गतिविधि नभएकोमा प्रशंसा
काठमाडौं : चीननिकट नेपाल विज्ञ हु सिसेङले तिब्बतीको गैरकानुनी प्रवेश नियन्त्रणमा नेपालले खेलेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।नेपाल-चीन दौत्य सम्बन्धको ६२ औं वर्षगाँठका अवसरमा बेइजिङस्थित नेपाली दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा सिसेङले सन् १९७४ यता दलाई लामा नेपाल प्रवेश गर्न नसकेको समेत बताए । 'नेपाल सरकार स्वतन्त्र तिब्बतका गतिविधि नियन्त्रण गर्न र तिब्बतीको गैरकानुनी प्रवेश रोक्न चीनसँग मिलेर काम गरिरहेका छन्', उनले भने, 'सन् २००५ यता नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या न्यून छ ।'
तत्कालीन राजा ज्ञानेन्द्रले लिएको कडा नीतिपछि गैरकानुनी रूपमा नेपाल प्रवेश गर्ने तिब्बतीको संख्या घट्न थालेको उनले बताए । 'विगतमा वार्षिक सरदर २ हजार तिब्बती गैरकानुनी रूपमा नेपाल पसेर तेस्रो देश जाने गरेको भए पनि पूर्वराजा ज्ञानेन्द्रको शासनकालपछि संख्या घटेर एक सयमा झरेको छ', उनले भने । नेपालले चीनबारे लिएको मित्रतापूर्ण नीतिकै कारण दलाई लामा कहिल्यै नेपाल प्रवेश गर्न नसकेको उनको भनाइ थियो । 'सन् १९७४ यता नेपालले कुनै पनि चीनविरोधी गतिविधि आफ्नो भूमिमा हुन दिएको छैन । चीनलाई नेपालबाट कुनै समस्या आएन । चीन र नेपाल एकअर्काको आधारभूत स्वार्थका विषयमा संवेदनशील छन्', उनले भने ।
नले चीनले भारत र नेपालसँगका मामिलामा व्यवहार गर्दा सतर्कता अपनाउनुका साथै कहिल्यै पनि नेपाललाई चीन र भारत कसैको पनि पक्ष लिन बाध्य नपारेको बताए । छिमेकी भारतसँगको हाम्रो सम्बन्ध भने बेलाबखत उत्पन्न हुने विवादका कारण अप्ठ्यारोमा पर्दै आएको उनले बताए । 'म अहिले यो सोच्न थालेको छु कि पाकिस्तानले किन भारतसँगको सम्बन्ध सामान्यीकरण गर्नुअघि कास्मिर मुद्दा हल गर्न चाहन्छ । यस सन्दर्भमा चीन र भारतले उनीहरूको सम्बन्ध सामान्यीकरण अहिलेसम्म गर्न सकेका छैनन्', भारत र चीनबीच डोक्लाम क्षेत्रको विवादबारे संकेत गर्दे उनले भने।
'चीन र नेपालबीच विश्वासको आधारमा सम्बन्ध अघि बढेको छ भने हामी एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैनौँ । यसको एउटा प्रस्ट उदाहरण हो माओवादी नेतृत्वको १०बर्से द्वन्द्वमा चीनले कहिल्यै समर्थन गरेन', उनले भने, 'तर चीनले वार्तामार्फत द्वन्द्व समाधान गर्न राजनीतिक दलसँग यदाकदा आग्रहचाहिँ गरेको थियो । चीनले नेपालमा अहस्तक्षेपकारी नीति अख्तियार गरेको थियो ।' चीनले माओवादीलाई कहिल्यै सहयोग नगरेको बताउँदै उनले नेपालको विकास र एकताका लागि माओवादीलाई हतियार बिसाउन र वार्तामार्फत मूलधारको राजनीतिमा जान प्रोत्साहनचाहिँ गरेको बताए ।