व्यापार घाटा चुनौती

व्यापार घाटा चुनौती

 

गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब रुपैयाँको वस्तु नेपाल भित्रिए । तर निर्यात ७४ अर्ब ७१ करोडमै सीमित हुन पुग्यो । एक रुपैयाँको वस्तु बेच्दा १३ रुपैयाँको वस्तु किन्यौं । आयात उच्च (२७ प्रतिशत) वृद्धि भएपछि वर्षभरिको व्यापार घाटा नौ खर्ब नौ अर्ब पुगेको छ । यो व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २९ प्रतिशत बढी हो । एकै वर्षमै व्यापार घाटा दुई खर्ब पाँच अर्बले बढेको छ । भारतसँग मात्र ६ खर्बको घाटा बेहोर्नुपर्‍यो । कुल व्यापारको एकतिहाइ भारतसँग हुँदै आएको छ । आत्मनिर्भर हुन सकिने कृषिजन्य वस्तुमा समेत परनिर्भरता बढ्दै जाँदा व्यापार घाटा कहालिलाग्दो बन्दैछ । गएको वर्ष २४ अर्बको धान÷चामल भित्रियो ।

तराईमा प्रशस्त धान, दाल, तेलहन उत्पादन हुन्थ्यो, सो उत्पादन भारत, बंगलादेश हुँदै खाडी मुलुकसम्म पुग्थ्यो । तराईका चामल पहाड र हिमाली भेगतिर लैजान सडक थिएन, अधिकांश निर्यात नै हुन्थ्यो । पहाडका मानिस मकै, कोदो, फापर उत्पादन गरी खान्थे । यसले व्यापार सन्तुलन कायम गरेको थियो । समयको परिवर्तनसँगै पहाडका कुनाकाप्चासम्म सडक सुविधा पुग्यो । तराईको चामल पहाड, हिमालतिर पुग्न थाल्यो । पहाडका मानिस मकै, कोदो उत्पादन गर्नुभन्दा चामल किनेर उपभोग गर्न थाले । नेपालीमा उपभोग संस्कृति बढ्दै गयो, तर उत्पादकत्व बढ्न सकेन ।

वैदेशिक रोजगारमा गएकाले मनग्गे रेमिट्यान्स पठाउन थाले । हातमा पैसा भएपछि अल्छीपना बढ्न थाल्यो, अन्ततः किनेर खाने संस्कृति हाबी भयो । जनशक्ति निर्यात गरी आवश्यक सामान आयात गर्ने देशमा परिणत भएको छ । अनाज उत्पादन हुने खेतबारी बाँझै छन् । सहरी क्षेत्रको उर्वर भूमि कंक्रिटमा रूपान्तरण भएको छ । कुनै समयमा धान निर्यात गर्ने मुलुकका वासिन्दा भारतबाट चामल नभित्रिए भोकै बस्नुपर्ने अवस्था छ । सरकारले कृषि उत्पादकत्व बढाउने उपयुक्त नीति ल्याउन जरुरी छ ।

नेपालमा उत्पादन नहुने सवारी साधन, पेट्रोलियम पदार्थ, मेसिनरी औजार, इलेक्ट्रोनिक्स सामान, फलाम तथा स्टिल, सुनचाँदी, लत्ताकपडाको आयात झनै कहालीलाग्दो छ । नेपालबाट उच्च निर्यात हुनेमा कार्पेट, चिया, कफी, तरकारी, हस्तकला पर्छन् । तर आयातको तुलनामा निर्यात कतिसम्म नगण्य छ भने ७४ अर्ब रुपैयाँको सामान बेच्ने देशले एक खर्ब ४० अर्बको पेट्रोलियम र १७ अर्ब रुपैयाँको बिजुली आयात गरेको छ ।

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक हुँदा पनि व्यापार घाटा कहालीलाग्दो छ । यसमा सुधार गर्न निर्यात बढाउनुपर्ने हो । तर हामीसँग निकासी गर्ने वस्तुकै अभाव छ । कच्चा पदार्थ अभावका कारण विदेशबाट कच्चा पदार्थ आयात गरी निकासी गर्न प्रतिस्पर्धी हुँदैन । कृषिको व्यावसायीकरण गरी खाद्यान्नमा आत्मनिर्भर हुन असम्भव छैन । यति मात्र हैन, उच्च हिमाली भेगमा बहुमूल्य हुने कृषि उत्पादन गरी निर्यातको सम्भावना पनि नभएको हैन । तर कृषिको विविधीकरण, निर्वाहमुखीबाट व्यावसायिक खेती प्रणालीको विकास नै अहिलको उच्च आवश्यकता हो ।

कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्न सके मात्र खर्बौंको आयात प्रतिस्थापन हुन्छ । कतिपय औद्योगिक वस्तु स्वदेशमै उत्पादन गर्न सकिन्छ । पछिल्लो समय मुलुक सिमेन्ट, चिनी, माछामासुमा करिब आत्मनिर्भर हुने संकेत देखिएको छ । अहिले ऊर्जा अभावले औद्योगिक उत्पादन महँगो हुने गरेको छ । सरकारले ऊर्जा समस्या हल गरे मात्र पनि नेपालको औद्योगिक वस्तुको निर्यात बढ्नेछ ।

नेपालले वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्न असम्भव छ । नेपाल पर्यटन र जलविद्युत्का लागि ठूलो सम्भवना भएको मुलुक हो । ठूलो संख्यामा खर्चालु पर्यटक भित्राउन र प्रशस्त जलविद्युत् उत्पादन गरी निर्यात गर्न सकेमा व्यापार घाटा सन्तुलनमा ल्याउन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.