करोडौंको झ्याउ जंगलमै नास
काठमाडौँ : संकलन र निर्यात गर्न सरकारले बन्द गरेपछि बार्षिक चार हजार केजी झ्याउ जंगलमै कुहिएर गएको छ । रुखमा पाइने तेस्रो प्रजातिको झ्याउ निकासीमा सरकारले बिना कारण रोक लगाएपछि बार्षिक करोडौ राजश्व खेर गएको हो । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी (साइटिस)को सूचिमा नपरेको झ्याउलाई सरकारले विना आधार २०६७ सालदेखि संकलन र निकासी बन्द गरेको छ । २०५८ सालमा प्रशोधन गरेर मात्र निकासी गर्न पाउने व्यवस्था गरेको थियो । निकासीमा रोक लगाएपछि करोडौको झ्याउ जंगलमै खेर गएको छ ।
बार्षिक रुपमा जंगलमा उत्पादन हुने झ्याउको अवस्था अध्ययन नहुदाँ १६ बर्षदेखि करोडौं राजश्व खेर गएको वन विभागका प्रवक्ता इश्वरी पौडेलले बताए । ‘कहाँ कति छ भनी पक्ता लगाई संकलन, निकासी खुल्ला गर्नु आवस्यक छ, झ्याउ गरीब तल्लो वर्गले संकलन गर्ने भएकाले उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्नाले खुल्ला आवश्यक छ,’ पौडेलले बताए, ‘झ्याउ हुनु र नहुनुमा कुनै बैज्ञानिक र पर्यवरणीय आधार छैन ।’
झ्याउ निकासी बारे अख्तियार दुरपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले सरोकारवालालाई राखेर व्यवस्थित गरी निकासी गर्न निर्देशन दिएको छ । बार्षिक करीब चार हजार केजी उत्पादन हुने गरेकाले खुल्ला गरे राज्यकोष बढ्ने विभागको भनाई छ । जंगलमा पाइने बस्तुलाई दुरुपयोग गर्न नहुने तर सदुपयोग गर्न नपाउने भए जंगलको अर्थ नहुने भन्दै बिना आधार निकासीमा रोक लगाएको जडिबुटी एसोसिएसन नेपालका महासचिव टंकप्रसाद शर्माले बताए ।
गरीबको नुनतेल खाने आधार बन्द गर्न झ्याउ संकलन गर्दा रुख काटिन्छ भन्ने कच्चा आधार प्रस्तुत गर्नु लज्जास्पद भएको शर्माले बताए । संकलन बन्द गर्नुले वातावरणमा पार्ने राम्रा र नराम्रा असरलाई उल्लेख गरी सुधार गर्न सबैलाई अनुरोध गर्नु पर्ने उनले माग गरे।
झ्याउ ठूलो रुखमा नभई बुट्यानमा मात्र हुने गर्दछ । नेपालमा पाइने झ्याउ तीन हजार दुई सय मिटरसम्म बढी हुने त्रिभुवन विश्वविद्यालय सहप्राध्यपक झ्याउ अनुसन्धानकर्ता चित्रबहादुर बानियाले बताए । ढुसी र लेउ मिलेर तेस्रो प्रजाति झ्याउ (लाइकेन) बन्छ । विश्वमा पाइने ५२५ जातको झ्याउ दुई सयदेखि सात हजार चार सय मिटरसम्ममा पाइएको वानियाको अध्यनले देखाएका छ । नेपालमा मात्र पाइने झ्याउ ‘इन्डेमीक’ प्रजाति हो यी मध्ये ‘इभर नियाट्रम सिराटम’ प्रजातिको झयाउ मानिसले खाने गरेको वानियाले बताए ।
नेपाल र चीनको युनानमा अचार बनाएर खाने गरिन्छ भने भारतको आसाममा धुलो पाउडर बनाएर मसलाको रुपमा प्रयोग गर्ने गरेको बानियाको भनाई छ । पर्यवरणीय आवश्कता भन्दा पनि झ्याउ बृद्धि हुन समय लाग्ने, चाहेर उत्पादन गर्न नसकिने र वायूप्रदुषणले यो लोप हुने भएकाले संकलन रोक्नु उचित भएको बताए ।
मनोमानी हिसाबले रुख काटिन्छ भनेर झ्याउ संकलन रोक लगाउनु राज्यले आफ्नो श्रोत गुमाएको वन सरोकारवालाहरुको भनाई छ । झ्याउ बिषेश गरी भारतमा निर्यात हुने गरेको छ । साइटिसको सूचीमा नपरेको यो तेस्रो प्रजातिको वनस्पतिलाई सरकारले केही समयअघि प्रसोधन गरेर बिक्री गर्ने वर्गमा राखेको थियो । तर लोठसल्ला, सुगन्धकोकिला, जटामसी, सर्पगन्धा जस्ता जडिबुटीसँग तुलना गरेर प्रतिबन्ध लगाउनुले राज्यले आम्दानीको श्रोत पहिचान गर्न नसकेको जडिबुटी व्यवसायीहरुको आरोप छ । झ्याउलाई लाइचेन सप अंग्रेजी नामले चिनिन्छ । वनस्पति विभाग र जडिबुटी उत्पादन तथा प्रसोधन कम्पनी लिमिटेडको सिफारिसमा सरकारले २०६७ पुस २६ गते राजपत्रमा सूचना प्रकाशित गरी निकाशी बन्द गराएको हो ।
वन विभागका महानिर्देशकको संयोजकत्वमा गठन भएको कार्यदलले झ्याउ व्यवस्थापनका लागि प्रतिवेदन तयार गरी एक बर्षअघि मन्त्रालयमा बुझाएको छ । तर पनि कुनै काम अघि बड्न नसकेको विभागको भनाई छ । झ्याउ टिप्न जाँदा रुख काट्ने डरले प्रतिबन्ध लगाएको वन प्राविधिकको भनाई छ । झ्याउको कुनै वैज्ञानिक र पर्यवरणीय आधार नभएको प्राविधिकहरु बताउछन् । झ्याउ लोप हुनु र जंगलमा धेरै हुनुमा कुनै फरक नभएकोले यकीन तथ्याङक राखेर संकलन गर्नु पर्ने प्राविधिकहरुको तर्क छ । झ्याउको पौष्टिक महत्व बढी रहेकाले परम्परागत खानाको रुपमा खाने गरेको पाइन्छ।