गुणस्तर मेन्टेन नोकियाको चुनौती
काठमाडौं : नोकिया पुनः बजारमा फर्किएको छ । विश्व फोनको बजारमा नम्बर वानदेखि धराशयी हुँदै पुनः बजारमा स्मार्टफोन लिएर फर्किएको नोकियाका लागि आफ्नो पुरानो इमेजलाई निरन्तरता दिनु सबैभन्दा ठूलो चुनौती हो । गुणस्तरीय फोन उत्पादन गर्ने कम्पनीका रूपमा परिचित नोकियालाई आफ्नो उक्त परिचयलाई ग्राहकमाझ फेरि पस्किनुपर्ने बाध्यता छ । कारण, बारोफोनबाट स्मार्टफोन आएको नोकिया विश्व स्मार्टफोनको बजारमा हजारौं पाकेको आँपको बीचमा रहेको एउटा काँचो आँपजस्तै भएको बताउँछन् व्यवसायी ।
नोकियासँग बारफोन उत्पादनको लामो र सफल अनुभव छ । तर, स्मार्टफोन उसका लागि पनि नौलो र चुनौतीको विषय हो । विश्व स्मार्टफोनको दुनियाँमा सात वर्ष अघिबाट नोकियालाई पछि छाड्दै अघि बढेका सामसङ, एप्पल, हुवावे, ओप्पोसँगको प्रतिस्पर्धा नोकियाको नेपाली बजारमा पनि हुनेछ । स्मार्टफोनको बजारमा अहिले राज गरिरहेका यी स्मार्टफोनबीच नोकियालाई आफ्नो अस्तित्व कायम गर्न ग्राहकमाझ गुणस्तरीय उत्पादन दिनुभन्दा अर्को विकल्प नभएको बताउँछन् हुवावे नेपालका लागि बजार व्यवस्थापक सुमित प्रधानांग ।
उनका अनुसार नोकियासँग आफ्नो ब्रान्ड इमेज ठूलो भए पनि यसलाई प्रोडक्टमा उतार्न सक्नु उसको चुनौती हो । ‘नोकियाले ग्राहकलाई स्मार्टफोनमार्फत सन्तुष्टि प्रदान गर्न सकेन भने बजारमा हल्ला गर्दै आएर पनि सफल हुन नसकेर फर्किएका थुप्रै चाइनिज ब्रान्डजस्तै अवस्था नोकियाको पनि आउनेछ ।’ प्रधानांग भन्छन्, ‘यदि गुणस्तरीय उत्पादनका साथ आएको हो भने, यसले फेरि पनि केही वर्षको अन्तरालमा स्मार्टफोनको दुनियाँमा तहल्का मच्चाउनेछ ।’
सीमित मोडल र थोरै उत्पादनका साथ नेपाली बजारमा भित्रिएको नोकियाका उत्पादन बजारमा अभाव सिर्जना भइसकेको छ । ‘नोकिया ६ त बजारमा ग्राहकले कम्पनीले तोकेको मूल्यभन्दा धेरै मूल्य हाल्छु भन्दा पनि पाउन सकेका छैनन्’, ताम्राकार मोबाइल व्यापार संघका अध्यक्ष जगत साउद भन्छन् । यो नोकियाप्रति ग्राहकले देखाएको विश्वास हो । सुरुकै चरणमा भएकाले मोबाइल कति गुणस्तर र किफायत छ भन्ने कुरा आकलन गर्न सकिँदैन । अबको ६ महिना अथवा एक वर्षमा नोकियाप्रति ग्राहकको प्रतिक्रिया आउनेछ । अनि मात्र नोकिया कतिसम्म प्रभावकारी र गुणस्तरीय भन्न सकिने साउद बताउँछन् । यो अवधिमा नोकियाले आफूलाई ग्राहकमाझ गुणस्तरीय उत्पादनका रूपमा फेरि पनि चिनाएको खण्डमा नोकियाले बजार कब्जा गर्नेछ।
बजारमा उत्पादन भित्रिनेबित्तिकै अभाव सिर्जना हुने भनेको नोकियाले बजारमा उत्पादन नै थोरै ल्याएर हो । एक सय २० देशमा एकै पटक स्मार्टफोन सार्वजनिक गरेको नोकियालाई अहिले उत्पादन सबै ठाउँमा पुर्याउनै धौधौ परेको बताउँछन् नेपालका लागि नोकियाको आधिकारिक वितरक प्यारामाउन्ट इलेक्ट्रोनिक्सका नेसनल सेल्स म्यानेजर राजकिरण शर्मा । उनका अनुसार कम्पनीले बजारको मागअनुसार उत्पादन भित्र्याउन सकेको छैन । ‘आएको उत्पादन बजारमा गइसकेको छ ।
बजारमा पनि पसल छनोट गरेर दिनुपरेको छ’, शर्मा भन्छन्, ‘उत्पादन नहुँदा हामीले खुलेर बजारमा जान पनि सकेका छैनौं ।’ यसले ग्राहकमा नराम्रो सन्देश जान सक्छ, त्यसैले पनि कम्पनीले बजारमा खासै उपस्थिति जनाएको छैन । सीमित बजारमा सीमित उत्पादनसाथ हामी गएका छौं, ताकि ग्राहक रित्तो हात फर्किनु नपरोस् ।
नोकियालाई अबको चुनौती गुणस्तर उत्पादन ग्राहकलाई दिनु नै भएको शर्मा बताउँछन् । उनका अनुसार बारफोनमा नोकियाले जुन कुरामार्फत सफलता हात पारेको थियो अब स्मार्टफोनमा पनि त्यसको निरन्तरता आवश्यक छ । नोकियाको गुणस्तरीय उत्पादन मन पराउने ग्राहकलाई फेरि पनि गुणस्तरीय उत्पादन दिन कम्पनीले कुनै कमी गर्ने छैन । अब नोकियाको भविष्य नै यसको गुणस्तर र किफायतीमा निर्भर रहनेछ । यदि, उत्पादन गुणस्तर र किफायती सावित भएको खण्डमा अबको एक/दुई वर्षमा नोकिया सामसङसँग प्रतिस्पर्धामा उत्रिने शर्माको भनाइ छ । उनले नोकियाको सोझो प्रतिस्पर्धा नै सामसुङसँग हुने बताए ।
तर, अन्य व्यापारी भने नोकियाले स-साना ब्रान्डसँग प्रतिस्पर्धा गर्दै अघि बढ्नुपर्ने प्रतिक्रिया दिएका छन् । ब्रान्डले मात्र नोकियालाई बजारमा सहज नहुने बताउँछन् टेली टक प्रालिका मार्केटिङ म्यानेजर राजजंग थापा । उनका अनुसार बजारमा चाइनिज ब्रान्डको बिगबिगी छ । ग्राहक सस्तो मूल्यमा नयाँ-नयाँ प्रविधिसँग जोडिएका छन् । यस्तोमा ग्राहकले उही प्रविधिका लागि नोकिायामा धेरै पैसा खर्च गर्छन् भन्ने छैन । त्यसैले नोकियाले सस्तो मूल्यमा उच्चस्तरीय प्रविधिका साथ ग्राहकलाई आफ्नो उत्पादन दिन सक्नुपर्छ । यसमा मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेतको राय पनि उस्तै छ । उनका अनुसार नोकियाका उत्पादन मूल्यले गर्दा पछि पर्न सक्नेछ । नोकियाका लागि नेपाली बजारमा मूल्य, गुणस्तर र प्रविधि सबैभन्दा ठूलो चुनौती हुनेछ ।