सशस्त्रका सुराकी नै तस्करीमा मुछिए
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा मुछिएका सशस्त्र प्रहरीका सइ सञ्जीव मानन्धर विमानस्थलकै घुमुवा प्रहरी रहेको खुलेको छ। गलत काममा लाग्ने व्यक्ति र निकायको सुराकी गर्ने जिम्मेवारी पाएका मानन्धर स्वयं सोमबार दुई किलो सुन तस्करीमा मुछिएपछि विमानस्थलको सुरक्षा संयन्त्रमाथि नै प्रश्न उब्जिएको छ।
सशस्त्र प्रहरी बलअन्तर्गतको सुरक्षा महाशाखाबाट सूचना संकलनका लागि विमानस्थलमा खटिएका मानन्धरको झन्डै आठ वर्षदेखि सरुवा भएको छैन। लामो समयदेखि एकै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरवाही भएको सशस्त्र प्रहरी उच्च स्रोतले जनाएको छ।
दुई किलो सुनसहित पक्राउ परेका पोखराका लेखबहादुर रिजाली र कास्कीकी पार्वती गुरुङले बयानका क्रममा मानन्धरलाई पोलेपछि विमानस्थल प्रहरीले तीनै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको छ। विमानस्थल प्रहरी प्रमुख डीआईजी पंकज श्रेष्ठले तीनै जनालाई भन्सार कार्यालयमा बुझाइएको जानकारी गराए।
उक्त महाशाखाका इन्चार्ज डीएसपी गोपी चन्द हुन्। महाशाखा प्रमुखमा एसएसपीको दरबन्दी रहे पनि पहुँचका आधारमा चन्दले जिम्मेवारी सम्हाल्दै आएका छन्। चन्दले लामो समय विमानस्थलका घुमुवाको सरुवा नगर्दा बेथिति बढेको स्रोतले जनाएको छ। स्रोतका अनुसार आईजीपी सिंहबहादुर श्रेष्ठलाई गलत रिपोर्टिङ गरेका कारण पनि सुराकीमा खटिएकाहरूको सरुवा नभएको हो। तत्कालीन महानिरीक्षक कोषराज वन्तले चन्दलाई महाशाखा इन्चार्ज बनाएका थिए।
महाशाखाअन्तर्गत विमानस्थलमा पनि डीएसपीकै दरबन्दी छ। चन्दले विमानस्थलको प्रमुखसमेत आफैं भएको बताउँदै आएका छन्। उनले विमानस्थल प्रवेशको विशेष पाससमेत लिएका छन्, जुन गैरकानुनी रहेको विमानस्थल स्रोतले जनाएको छ।
पाँच वर्ष एकै ठाउँ बस्दा घुमुवाले आफ्नै ‘कनेक्सन' बनाउने र त्यसलाई आधार बनाएर अनेक काममा संलग्न हुने गरेको देखिएको छ। सिंगापुरमा खरिद गरेको दुई किलो सुन सोमबार मलेसियन एयरलाइन्सबाट काठमाडौं ल्याउने क्रममा रिजाली र गुरुङ पक्राउ परेका थिए।