भू-माफिया विरुद्ध मेयर, स्कुल देखि रिसोर्टसम्म कारवाहीमा
इटहरी: नेकपा एमालेबाट इटहरीको मेयरमा उम्मेदवार दिँदै गर्दा द्वारिकलाल चौधरीले ऐलानी जग्गा खोज्ने र खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने प्रतिबद्धता जनाएका थिए। चुनाव जितेर मेयर बनेपछि उनी अहिले इटहरीका ऐलानी जग्गा र पैनीको खोजी थालेका छन्। उनले सार्वजनिक जग्गा खोज्न थालेपछि इटहरीका भू-माफियामा पहिरो नै गएको छ।
सोमबार उनले इटहरीस्थित नेपाल डिभएम ग्लोबल एकेडमी (नेपाल दयानन्द वैदिक मिसन) सँग स्कुलले चर्चेको जग्गाको कागजात मागे। उक्त स्कुलले कम्पाउण्ड लगाएको झण्डै चार बिगाहा क्षेत्रफलमध्ये साढे तीन बिगाहा क्षेत्रफल ऐलानी जग्गा भएको मेयर चौधरीको दावी छ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा उक्त स्कुलको कम्पाउण्डभित्र महिला क्रिकेट प्रतियोगिता गरिएको थियो। अन्तर्राष्ट्रिय स्तरको विद्यालयको रुपमा प्रचार गर्दै महंगो शुल्क लिँदै आएको स्कुल आफै सरकारी जग्गामा बनेको चर्चा लामो समयदेखि थियो। बुढी खोला किनारको उक्त स्कुलको ठूलो कम्पाउण्डभित्र सरकारी तथा ऐलानी जग्गा पनि परेको आशंका गर्दै मेयर चौधरीले जग्गाको खोजी थालेका हुन्।
मेयर चौधरीले ऐलानी जग्गा खोजेर त्यस्ता जग्गामा पार्क बनाउने र नगरको अन्य काममा लगाउने उद्देश्यअनुसार उक्त स्कुल पुगेको बताए। उनले नक्सा र श्रेष्ता भिडाएर स्कुलले भोग चलन गरेको नम्बरी र ऐलानी जग्गा निकाल्न लागेको जानकारी दिए।
उनले चार विगाहा क्षेत्रफल चर्चेको स्कुलको आफ्नो जग्गा आठ कठ्ठा मात्र रहेको दावी गर्दै बाँकी क्षेत्रफलको भोगाधिकार, अढाई तले भवन बनाउन नक्सा पास लगायतका प्राविधिक र नियमसंगत काम भए, नभएको बारे बुझ्न सुरु गरेको जनाए।
मेयर चौधरीले सामाजिक कार्यको आवरणमा भू-माफियाले इटहरीका जग्गा हडपेको उल्लेख गर्दै सबैको छानविन हुने र जग्गालाई उपमहानगर अन्तर्गत ल्याइने बताए। उनले इटहरीमा धेरै ऐलानी जग्गा मिचिएको बारेमा आफूले पटक-पटक त्यसै नबोलेको भन्दै नगरको सम्पत्ति नगरलाई फर्काउन आफू प्रतिबद्ध रहेको बताए।
स्कुलले पनि ऐलानी जग्गा भएको स्वीकार गर्दै नगरपालिकासँगको समन्वयमा जग्गा लिजमा लिन समेत आफूहरु तयार रहेको जनाएको छ । स्कुलका अध्यक्ष ध्रुव सुब्बाले जमिन ऐलानी भएपनि भोगचलन गर्नेले आफूहरुलाई बेचेको बताए । उनले कित्ता काँट भइसकेको जमिन भएको जनाउँदै उतिखेरै दर्ताको प्रक्रियामा समेत गइसकेको बताए।
उनले सुर्य रायमाझी, मयूरध्वँज फुयाँल, लक्ष्मी पौडेललगायतले त्यो जग्गा आफूहरुलाई बेचेको बताउँदै त्यहाँ स्कुल नबनेको भए सुकुम्वासी बस्तीले भरिने दावी गरे। उनले वैदिक मिसनअन्तर्गत खोलिएको नेपालको एकमात्र स्कुल भएकोले सहयोग गर्न आग्रहसमेत गरे।
रिसोर्टलाई पनि चेतावनी
मेयर चौधरीले केहि वर्षअघिदेखि इटहरी ४ मा सञ्चालनमा आएको रोयल रिसोर्टलाई पैनी मिचेर बनाएका संरचना भत्काउन मौखिक निर्देशन दिएका छन्।
खोला, पैनी मिचेर घर तथा संरचना बनाउँदा इटहरी बजार वर्षेनी डुबानमा पर्ने गरेको छ। संरचना आफै नभत्काए, उपमहानगरपालिकाले भत्काउने र लागेको खर्च रिसोर्टबाटै भर्पाइ गर्ने चेतावनी मेयर चौधरीले दिएका छन ।
होटल सञ्चालक कार्कीलाई होटलको नाममा रहेको जग्गाको धनीपूर्जा लिएर छलफलका लागि नगरपालिकामा आउनसमेत चौधरीले भनेका छन्। यस्तै नगरका पुराना पोखरीको संरक्षणमा पनि उनले चासो दिएका छन्। इटहरी ४ मा रहेको नापी नगरिएको तर चौधरी परिवारले उपभोग गरिरहेको पोखरीलाई पनि उपमहानगरपालिका अन्तर्गत ल्याउने पहल थालेका छन्। उक्त पोखरी चार कठ्ठा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ।