स्कूलबाट पुस्तक बेच्ने प्रवृत्ति रोक्न माग
काठमाडौं : विद्यालय हाता भित्रैबाट कापि तथा अन्य स्टेशनरी बेच्ने प्रवृत्तिलाई रोक्न स्टेशनरी व्यवसायीहरुले माग गरेका छन् । पढाउने नाममा विद्यालय सञ्चालकले विद्यार्थीसंग मोटो नाफा कमाउने उद्देश्यले सस्तो सामग्रीलाई पनि चर्को मूल्यमा बेच्ने गरेको आरोप पनि उनीहरुले लगाएका छन् ।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकास सापकोटालाई बुधबार ज्ञापन पत्र बुझाउँदै नेपाल स्टेशनरी तथा पुस्तक व्यवसायी महासंघ काठमाडौं, शाखाका पदाधिकारीहरुले भने,‘सरकार विद्यालयहाताबाट पाठ्यपुस्तक, कापि लगायतका स्टेशनरी सामग्री बेच्न पाइदैन भन्छ । तर स्कुलहरुले मनपरी रुपमा यसरी बेचिरहँदा पनि सरकारले कुनै कारवाही गर्न सकेको छैन ।’
शिक्षा मन्त्रालयले २०६९ सालमा जारी गरेको संस्थागत विद्यालय सञ्चालन मापदण्डले विद्यालय हाताबाट पाठ्यपुस्तक, कापि तथा अन्य स्टेशनरी सामग्री विक्रि वितरण गर्न प्रतिवन्ध लगाएको छ । सर्वोच्च आदालतले पनि २०६८ सालमा विद्यालय हाताबाट यस्ता गतिविधि रोक्नुपर्ने फैसला गरेको थियो ।
महासंघका अध्यक्ष घनश्याम खनालले व्यापारीको शैलीमा विद्यालय सञ्चालकले टाइ, बेल्ट, मोजा, युनिफर्म बेचेर विद्यार्थीलाई ठगिरहेको आरोप लगाए । ‘विद्यार्थीहरु बजारमा उपलब्ध मूल्य भन्दा धेरै महंगो रकम तिरेर यस्ता सामग्री किन्न बाध्य भएका छन्’ खनालले भने । ज्ञापन पत्र बुझ्दै काठमाडौंका जिल्ला शिक्षा अधिकारी सापकोटाले यस्ता गतिविधि नियन्त्रण गर्न शैक्षिक संस्थामा अनुमगन गरिने बताए ।