आमाले ज्यान फालिन, बाबुले अर्की च्यापे,बिचल्लीमा छोराछोरी
धादिङ : मैदीका विकास मगर र सुनिताबाट बिपिन र एलिना जन्मिए । विपिन अहिले ११ बर्षका भए । एलिना नौ बर्षकी भइन । विकासले अर्की श्रीमती भित्रयाए भने सुनिताले आफनो ज्यानै फालिन । विपिन र एलिनाले न बाबुको माया पाए, न आमाको न्यानो काख नै पाए । उनीहरु मावलीमा हुर्किए । अहिले पनि उनीहरु मावलीमै छन् ।
विपिन र एलिना कालिका आधारभुत विद्यालयमा पढछन । विपिन र एलिना दुवै पढाइमा अब्बल छन । मावलीकी हजुरआमा सावित्रीले भनिन, ‘पाँच कक्षापछि घर नजिकैको विद्यालयमा पढाइ हुन्न, आँफै के खाउ र के लाउ भन्ने अवस्थामा छौ, कतिन्जेल सकौला र अव यिनिहरुको प्राण धान्न । आफ्नै आँखाले विजोग हेर्न भन्दा पढाउने र खान लाउन दिने मान्छे भेटे जिम्मा लाउँथे ।’
‘आफूले सकुञ्जेल त जसोतसो नातिनातिना पालौला,तर आफु नसक्ने भएपछि यी बालबच्चाको के हुने हो भनेर सधै चिन्ता लागेको छ’सावित्रीले भनिन ।
१४ महिना लामो कष्टपूर्ण सिरिया बसाइ र ठुलो संघर्षपछि २०७२ असार ३१ गते सकुशल नेपाल फर्किएकी धादिङ निलकण्ठ नगरपालिका वडा नं ८ कि सुनिता मगर गएको जेठ १६ गते पोखरा लेखनाथ महानगरपालिकास्थित संगमटोलको एक घरमा आफ्नै कोठामा मृत फेला परेकी थिइन ।
वैदेशिक रोजगारीमा जाने क्रममा श्रम स्वीकृति नै नभएको द्धन्दग्रस्त मुलुक सिरियामा बेचिएकी सुनिताको विषयमा अन्नपुर्ण पोष्ट अनलाइनले लगातार समाचार प्रकाशित गरेपछि देश तथा विदेशबाट सुनितालाइ नेपाल झिकाउन पहल भएको थियो ।
भारतको बाटो हुँदै रोजगारीको लागि लैजाने क्रममा श्रम स्वीकृति नै नभएको द्धन्दग्रस्त मुलुक सिरियामा दलाल मार्फत बेचिएकी सुनिता मगरको विषयमा २०७१ चैत २१ गते अन्नपुर्ण पोष्टमा समाचार छापिएपछि फिनल्याण्डमा बस्दै आएका धादिङकै बालकृष्ण श्रेष्ठले सुनितालाइ नेपाल फर्काउने हवाइ जहाजको टिकटका लागि आवश्यक रकम संकलन गर्न अभियान चलाएका थिए ।
सुनितालाइ नेपाल फर्काउनको लागि थप तीन लाख रुपैया घरवेटीलाइ बुझाउनुपर्ने भएपछि ‘आमा म सिरिया मै मर्ने भए’ शीर्षकमा २०७२ असार १७ गते फेरी सुनिताको आवाजसहित समाचार अन्नपुर्ण पत्रिका तथा अनलाइनमा प्रकाशित भएपछि उनको उद्धारको लागि पैसा जुटेको थियो ।
सुनितालाइ सकुशल नेपाल फर्काउनको लागि सुनिता बसेको घरको साहूलाइ तीन लाख बुझाउनुपर्ने भएपछि बालकृष्ण श्रेष्ठकै पहलमा नेपाल मगर संघ हङकङकी अध्यक्ष चन्द्रज्योती मगरले उक्त पैसा उपलब्ध गराएपछि सुनिताको नेपाल फिर्ती सम्भव भएको थियो ।
सुकशल नेपाल फर्केको दुई वर्षपछि अन्ततः सुनिता आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परिन । उनले झुण्डिएर आत्महत्या गरेको चिकित्सकको रिपोर्ट र पुलिसले भनेको भएपनि सुनिताको माइती परिवारले आँफै आत्महत्या गरिन भनेर स्वीकार्न सकिरहेको छैन । सुनिताकी आमा सावित्री मगर भन्छिन, ‘तेत्रो पिडा र आतङक सहेर विदेशमा बसेकी छोरीले कसरी झुण्डिएर ज्यानै फाल्न सक्छिन ।’ सुनिताको आत्महत्या प्रकरण परिवारलाइ रहस्यमय लागेको छ ।
२०७२ असार ३१ गते घर फर्किएपछि सुनिता केही समय घरमै बसिन । सिरियामा बेचिएर घर फर्किएको भनेर गाउँमै बस्न अलि असहज भएको उनले गुनासो पनि गर्ने गरेको आमा सावित्रीले बताउने गरेकी थिइन । नेपालमै बसेर बालबच्चाको लालनपालनको लागि काम गर्ने सोच बनाएकी सुनितालाइ महिला हिंसा विरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले उत्तरी धादिङको त्रिपुरेश्वरमा संचालन गरेको स्नेह केन्द्रमा उनीजस्तै हिंसामा परेका महिलाहरुसंग काम गर्ने अवसर दियो । त्यहाँ काम गरेको ६ महिनामा प्रोजेक्ट सकिएपछि उनी फेरी पोखरा गएको आमा सावित्रीले बताइन ।
‘छोरी पोखरा गएर सिलाइ कटाइ तालिम लिएकी थिइन’ सावित्रीले भनिन,‘सिलाइ कटाइ पुरै सिकिसके, अव म आँफै पसल राख्छु भनेकी छोरीले २४ घण्टा नवित्दै आत्महत्या गरी भनेर कसरी पत्याउनु ।’काम बिशेषले गत जेठ १५ गतेसम्म पोखरामै रहेकी सुनिताकी आमा सावित्री १६ गते धादिङ फर्किएकी थिइन । उनी घर नआइपुग्दै सुनिता झुण्डिएको खवर आइपुग्यो सावित्रीको मोवाइलमा ।
‘विहान भर्खर आफुलाइ गाडी चढाएर घर पठाएकी छोरी आँफै झुण्डिइ भनेर मलाइ पटक्कै विश्वास छैन’कुराकानीको क्रममा सावित्रीले भनिन, ‘छोरीको लास म नआइकन यताउती नगर्नु भनेकी थिए, म फेरी पोखरा पुग्दा त लाशको पोष्टमार्टम समेत भइसकेको रहेछ ।’
पोखराबाट आफु धादिङ फर्कनु केही दिनअघि छोरीको छिमेकीसंग ठुलो झगडा परेको सावित्रिले बताइन । सावित्री त्यही हुँदा उनीहरु बसेको ठाउ भन्दा केही परका छिमेकीसंग सुनिताको झगडा परेको थियो । झगडा गर्न हुन्न भनेर आफुले समेत सम्झाइ बुझाइ गरेर त्यो दिनको झगडा मत्थर पारेको सावित्रिलाइ यही झगडा नै छोरीको मृत्युको कारण बन्न पुगेको शंका छ । सावित्रीले भनिन, ‘म नआइकन लास नचलाउनु भनेकी थिए, म जाँदा पोष्टमार्टस समेत भइसकेको रहेछ, बोलिदिने मान्छे कोही नहँुदा अन्यायमा परियो,पुलिस डाक्टर र त्यहाँका स्थानीयहरुको मिलेमतोमा मेरी छोरीलाइ मारेर झुण्ड्याइएको हो भन्ने शंका लागेको छ मलाइ ।’
छोरी सिरियामै अलपत्र पर्दा रुदै फोनमा ‘मेरो छोराछोरीको अवस्था के भनेर सुनिताले सोध्ने गरेको सावित्रीले बताइन । विदेश जाँदा आफ्नो छोरा छोरी विपिन र एलिनालाई सुनिताले माइतीको जिम्मा लगाएकी थिइन । सुनिताले छोरा छोरीलाई माइतीलाई नै सुम्पेर संसारबाटै विदा भइन । छोरीले सकुशल नेपाल फर्किएपछि पनि आँफैले संसार छोडेर जानै नसक्ने भन्दै आफ्नो छोरीको हत्या भएको सावित्रीको आशंका छ । उनले सत्य तथ्य छानविनको माग गरेकी छिन ।