रेणु दाहाललाई गाली गर्ने देवी ज्ञवालीका छोराविरुद्ध साइबर क्राइम मुद्दा
काठमाडौं : चितवनको भरतपुर महानगरपालिकाको मेयर पदका उमद्वारा एमाले नेता देवी ज्ञवालीका छोरा निरब काठमाडौंबाट पक्राउ परेका छन्।
वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनका क्रममा निरबले भरतपुर महानगरपालिकाकै मेयर पदकी प्रत्यासी रेणु दाहालबारे सामाजिक सन्जालमा अपशब्द लेखेको भन्दै चितवन प्रहरीमा जाहेरी परेको थियो। चितवन प्रहरीले काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेपछि यस सम्बन्धमा अनुसन्धान अगाडि बढेको थियो।
गत असार ३ गते दर्ता भएको मुद्दामा प्रहरीले ३५ दिने हद म्यादभित्र पक्राउ गर्न नसकेपछि केही दिनअघि सरकारी वकिलमार्फत् अदालतमा मुद्दा पेश गरेको थियो।
काठमाडौं जिल्ला अदालतले पक्राउ आदेश जारी गरेपछि निरबको खोजी थप तिव्र पारिएको थियो। महानगरिय अपराध महाशाखाको टोलीले २५ वर्षिय निरबलाई पुतलीसडकबाट नियन्त्रणमा लिएको हो।
‘साइबर क्राइममा मुद्दा दर्ता भएको ३५ दिनभित्र अदालतमा मुद्दा पेश गर्नुपर्छ। तर, हामीले प्रमाण संकलन गरे पनि अभियुक्तलाई पक्राउ गर्न सकेका थिएनौं। अदालतले आदेश दिएपछि निरबलाई पक्राउ गर्न सफल भयौं’, काठमाडौं प्रहरी परिसरका एक अधिकारीले भने।
प्रहरीले निरबलाई बुधबार नै काठमाडौं जिल्ला अदालत पेश गरेको छ। सरकारी वकिलले निरबविरुद्ध पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना मागदाबी गरेका छन्। साइबर क्राइम सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतले मात्र हेर्छ।
जेठ १४ गते राति भरतपुर महानगरपालिकाको मतगणनाका क्रममै मतपत्र च्यातिएपछि निरबले रेणुलाई गाली गरेर सामाजिक सन्जालमा लेखेका थिए।
भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा शुक्रबार पुन मतदान हुँदै छ। रेणुका श्रीमान् अनिल कुमार पाठकले निरबविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।