'उत्तर कोरियाको विषयमा चीनलाई दोष दिएका छैनौं'

'उत्तर कोरियाको विषयमा चीनलाई दोष दिएका  छैनौं'

वासिङटन : उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्ट गरेको छ ।उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको बताएका थिए ।

यसका साथै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले बारम्बार यसरी घातक रूपमा आणविक परीक्षण गरिरहँदा पनि चीनले कुनै कारबाहीका लागि पनि पहल नगरेको दाबी गरेका थिए । राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटर अकाउन्टमा उत्तर कोरियाको आतंकका बारेमा चीनले चासो नदिएको बताएका थिए । यसले संसारलाई अप्ठेरो पार्ने अवस्था आउँदा पनि चीन शान्ति र निशस्त्रीकरणका लागि नबोलेको ट्रम्पको कथन थियो । तर अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले भने राष्ट्रपतिको उक्त भनाइको बचाउ गरेका छन् ।

उनले अमेरिकाले यस विषयमा चीनलाई दोष दिएको नभई उत्तर कोरियाको यस कार्यका विरुद्धमा लड्न चीनको साथ चाहिने कुरामात्र अमेरिकाले गरेको प्रस्ट पारे । वासिङटन डिसीमा पत्रकारहरूसँग कुराकानी गर्दै विदेशमन्त्री टिलरसनले यस्तो धारणा राखेका हुन् । उनले भने, 'हामीले चीनलाई केही भनेका होइनौँ बरु अब उत्तर कोरियाका विरुद्ध लड्नका लागि हामीलाई चीनको पनि साथ चाहिन्छ मात्र भनेका हौँ ।'

उत्तर कोरियाले यही जुलाई महिनाको पहिलो साता गरेको पछिल्लो शक्तिशाली परीक्षणपछि विश्वमा नयाँ तरंग उत्पन्न भएको छ । उक्त परीक्षण यसअघिको भन्दा निकै शक्तिशाली रहेको र यसले निकै टाढासम्म मार हान्न सक्ने भएकाले यस विषयमा विश्वका नेताहरूले आ-आफ्ना प्रतिक्रिया दिएका छन् । राष्ट्रपति ट्रम्पले दिएको उक्त प्रतिक्रियापछि सोमबार चीनले यस विषयमा चीनलाई नमुछ्न आग्रह गर्दै चीन अमेरिका व्यापार र उत्तर कोरियाको आणविक कार्यक्रम बिल्कुनै फरक विषय भएकाले यससँग जोडेर कुनै कुरा नगर्न भनेको थियो ।

चीनका वाणिज्य उपमन्त्री ओएन केमिङले गत सोमबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, 'चीन-अमेरिका व्यापार सम्बन्ध र उत्तर कोरियाको आणविक कार्यक्रम यी दुईवटा बिल्कुलै फरक विषय हुन् । त्यसैले यिनलाई जोडेर कुरा गर्नुको कुनै अर्थ छैन ।'

उता बुधबार वासिङटन डिसीमा आयोजना भएको नियमित पत्रकार भेटका क्रममा अमेरिकी विदेशमन्त्री रेक्सले अमेरिका उत्तर कोरियासँग वार्ता गरेर पछिल्लो विकसित समस्याको समाधान खोज्न तयार रहेको पनि जानकारी दिए । 'उत्तर कोरियाको निशस्त्रीकरणका लागि हामी पनि ऊसँग वार्ताका लागि तयार छौँ र चीनजस्तो देशले पनि यसका लागि अमेरिकालाई सहयोग गर्नुपर्दछ', उनले भने ।

उत्तर कोरियाका दुस्मन हैनौं

अमेरिकाले उत्तर कोरिया आफ्नो शत्रु नभएको बताएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग वार्ता गरेर समस्या समाधान गर्न चाहेको बताएका छन् । उनले भने, 'हामी तपाईं (उत्तर कोरिया) को शत्रु होइनौं ।' टिलरसनले अमेरिकी सरकारले उत्तर कोरियामा सेना पठाउने वा युद्ध गर्ने कुनै मनस्थिति नभएको स्पष्ट पारे । उनले वर्तमान सरकारविरुद्ध विद्रोह गराउने वा अमेरिकी सेना पठाएर तनाव गर्ने जस्ता काम नगरिने बताए ।

उनले भने, 'उत्तर कोरियाका लागि हामी शत्रु पनि होइनौं र खतरा पनि होइनौं । यद्यपि तपाईंले हामीलाई निकै खतराको रूपमा देख्नुभएको छ ।'यद्यपि केही अमेरिकी सिनेटरले भने राष्ट्रपति ट्रम्पले उत्तर कोरियामाथि आक्रमण गर्न सक्ने दाबी गरेका थिए । रिपब्लिकन सांसद लिन्ड्से ग्राहमले उक्त आक्रमणको बारेमा बताएलगत्तै टिलरसनको यस्तो स्पष्टीकरण आएको हो ।

उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

आगामी सेप्टेम्बर १ तारिखदेखि आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ ।औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकाका सबै राहदानी गैरकानुनी बनाइने घोषणा गरिएको छ ।

यो प्रतिबन्ध एक वर्षका लागि लगाइने अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । उत्तर कोरिया प्रतिबन्धको घोषणा पहिलोपटक गत महिनामा नै भएको थियो । उत्तर कोरियाको भ्रमणको क्रममा जेल परेका अमेरिकी विद्यार्थीको मृत्युपछि यो प्रतिबन्धको घोषणा गरिएको थियो । तर यसको निश्चित मिति भने तय भएको थिएन । अमेरिकी विद्यार्थी ओट्टो वार्मबिएर प्योङयाङ भ्रमणका क्रममा जेल परेको र त्यसै क्रममा उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक भई उनी कोमामा गएका थिए ।

कोमामा रहेको अवस्था उनको मृत्यु भएको थियो । युनिभर्सिटी अफ भर्जिनियाका २२ वर्षीय ती विद्यार्थी वार्मबिएरलाई उत्तर कोरियाका विरुद्ध प्रचार गरेको आरोपमा उत्तर कोरियास्थित एक होटेलबाट पक्राउ गरी एक वर्षभन्दा बढी थुनामा राखिएको थियो । उनको स्वास्थ्य स्थिति अत्यन्त नाजुक अवस्थामा पुगेर कोमामा नै उनलाई घर फर्काइएको थियो । तर उनलाई बचाउन भने सकिएन ।

वार्मबिएरको मृत्युपछि यस्ता दुःखान्त घटना र निर्दोष नागरिकको हत्या रोक्ने प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका थिए । वार्मबिएरको मृत्यु नै तनाव सिर्जना भएको अवस्थामा उत्तर कोरियाले हालै दुईपटकसम्म गरेको शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण विश्वव्यापी खतरा बन्दै गएको निष्कर्षमा अमेरिकाको रहेको छ । केही दिनअघि मात्र राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जेबीच पनि यसै विषयमा फोनवार्ता भएको थियो ।

'उहाँहरूको कुराकानीको निष्कर्ष केही समयदेखि उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले विश्वमा सुरक्षा चासो बढाएको मात्र नभई यसले खतरा पनि बढाउँदै लगेको छ भन्ने हो', ह्वाइट हाउसले जनाएको छ ।

उत्तर कोरियाको विषयमा चीनलाई नजोड्न चीनले अमेरिकालाई आग्रह गरेको दुई दिनपछि अमेरिकाले पनि यस विषयमा चीनलाई कुनै आरोप नलगाइएको स्पष्ट गरेको छ ।उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणको विषयसँग जोडेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको आइतबार चीनले उत्तर कोरियाको आणविक परीक्षणको विषयमा चासो नदिएको बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.