एक वर्षमै थपिए साढे चार लाख सवारीसाधन
काठमाडौं : आर्थिक वर्ष २०७३/७४ मा देशभर चार लाख ४४ हजार दुई सय ५९ वटा सवारीसाधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आव २०७२/०७३ माभन्दा गत आवमा एक लाख चार ९४ बढी सवारीसाधन दर्ता भएका छन् । सहरी क्षेत्रमा ट्राफिक समस्या बढिरहेकै बेला ठूलो संख्यामा सवारीसाधन थपिएका हुन् । आव २०७२/७३ मा देशभर तीन लाख ४३ हजार सात सय ५६ सवारीसाधन दर्ता गरिएको थियो । गत आर्थिक वर्ष सबैभन्दा बढी मोटरसाइकल थपिएका छन् । यस अवधिमा देशभर तीन लाख ५४ हजार मोटरसाइकल प्रयोगकर्ता थपिएको विभागको तथ्यांकले देखाउँछ ।
अघिल्लो आवमा जम्मा दुई लाख ६७ हजार मोटरसाइकल दर्ता भएका थिए । यो संख्या गत आवभन्दा ८८ हजार कम हो । सवारी जाम र बिग्रँदो सडक अवस्थाका कारण पनि मोटरसाइकलमा आकर्षण बढ्दो छ । सरकारले सवारीसाधनमा लगाएको उच्च भन्सारदरका कारण पनि नेपालीको आम्दानीमा मोटरसाइकल र स्कुटर नै सहज बनेका हुन् ।
तर, राष्ट्र बैंकले माघदेखि अटो लोनमा कडाइ गरेपछि निजी सवारी कार/जिप तथा भ्यानको दर्तामा भने अघिल्लो आवभन्दा सात हजार ६९ कम भएको छ । अघिल्लो आवमा २८ हजार तीन सय ६८ कार/जिप तथा भ्यान दर्ता भएका थिए ।
सरकारले सार्वजनिक सवारीसाधनमा दिएको भन्सार छुटका कारण सार्वजनिक सवारीमा प्रयोग हुँदै आएको बसको संख्यामा भने केही मात्रमा वृद्धि आएको छ । विभागका अनुसार गत आव आव २०७२/०७३ भन्दा बस दर्ता झन्डै एक हजारले बढेको छ । अघिल्लो आवमा ४३ सय ५४ बस दर्ता भएका थिए भने गत आवका ५३ सय ४२ दर्ता भएको छ ।
देशभर अहिलेसम्म दर्ता भएका सवारीसाधनको संख्या २७ लाख ८४ हजार छ ।
भारतीय नाकबन्दीका बेला इन्धन अभावकै कारण दर्ता ह्वातै दर्ता बढेको ई-सिक्साको दर्ता भने गत आवमा गिरावट आएको छ । गत आवमा २२ सय ई-सिक्सा दर्ता भएको छ भने अघिल्लो आवका यो संख्या ११ हजार भन्दा बढी थियो । यसैगरी गत आवका टेम्पो दर्ताको संख्या पनि अघिल्लो आवभन्दा १५ हजार बढेको छ । गत आवमा देशभर गरी १७ हजार भन्दा बढी टेम्पो दर्ता भएको छ भने अघिल्लो आवका यो संख्या २६ सयको हाराहारीका थियो ।
यस्तै भूकम्पपछिको पुनर्निर्माण तथा विकास निर्माणले तीव्रता पाउँदा डोजर/क्रेन/एक्साभेटर र ट्रकको दर्ता पनि चार हजार तीन सय ८४ ले बढेको छ । अघिल्लो आवमा ८३ सय २८ डोजर/क्रेन/एक्साभेटर ट्रकको दर्ता भएको थियो भने गत आवमा यो संख्या १२ हजार सात नाघेको छ । यसैगरी मिनीबस/ट्रक दर्ता यो वर्षभने अघिल्लो वर्षको तुलनामा झन्डै २६ सयले गिरावट भएको छ । तर, माइक्रोको संख्या भने सबैभन्दा न्यून छ । गत आवमा आठ सय ४१ वटा माइक्रो दर्ता भएका छन् ।
देशभर अहिलेसम्म दर्ता भएका सवारी संख्या २७ लाख ८४ हजार छ । यसमा मोटरसाइकल मात्रै २१ लाख ८९ हजार रहेको विभागले जनाएको छ । यसैगरी सवा दुई लाख कार/जिप/भ्यान दर्ता हुँदा सार्वजनिक सवारीको दर्ता अहिलेसम्म ४६ हजार मात्रै छ । यसैगरी अहिलेसम्म देशभरमा २३ लाख मिनी बस/ट्रक, ७८ हजार डोजर/क्रेन/एक्साभेटर तथा ट्रक दर्ता भएका छन् । साथै ४५ हजार पिक अप, ५७ सय माइक्रो, २९ हजार टेम्पो, एक लाख ३० हजार ट्र्याक्टर पावरटेलर, १४ हजार ई-सिक्सा र सात हजारभन्दा बढी अन्य सवारीसाधन प्रयोग भएको विभागले जनाएको छ ।