‘भाषणले मात्र नबन्दो रैछ रंगशाला'

‘भाषणले मात्र नबन्दो रैछ रंगशाला'

काठमाडौं : दोस्रो संविधानसभा निर्वाचनपछि नेपालमा चारजना प्रधानमन्त्री भए । प्रधानमन्त्रीसँगै युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी पनि तीन फरक पार्टीका चारजनाले पाए । युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने बित्तिकै सबै मन्त्रीको एउटै भनाइ हुने गरेको छ, ‘रंगशाला निर्माण पहिलो प्राथमिकता ।' पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल र दलजित श्रीपाइली हुँदै अघिल्लो सातामात्र राजेन्द्रकुमार केसीले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दासम्म जीर्ण दशरथ रंगशालाको अवस्था भने उस्तै छ । मन्त्रालय समाल्नासाथ केसीले पनि जीर्ण रंगशालाको अवलोकन गर्न भ्याइसकेका छन् । तर, यो चार वर्षको अवधिमा जीर्ण रंगशालालाई प्राथमिकतामा राखेर यथाशीघ्र निर्माण सम्पन्न गर्ने कार्य भने अझै हुन सकेको छैन ।

गत वर्ष साउनमा पनि मन्त्री श्रीपाइलीले आफैं जीर्ण दशरथ रंगशाला पुगेर त्यहाँ उम्रिएको झारपात उखेलेर चर्चामा आउने काम गरे । एक वर्षसम्म उस्तै स्वरूपमा रहेको दशरश रंगशालाको मंगलबार नवनियुक्त मन्त्री केसीले फेरि दलबलसहित अवलोकन गरे । राखेपका सदस्यसचिवसहित सरोकारवालालाई रंगशालाको निर्माण तीव्र गतिमा सुरु गर्न उनले निर्देशन पनि दिएका छन् । मन्त्री केसीले रंगशालापरिसर निरीक्षण गर्दा अधिकांश खेलका खेलाडी निषेधित (रातो स्टिकर) लगाइएको भीआईपी स्टेडियमको हलमा आगामी प्रतियोगिताको तयारी गरिरहेका थिए ।

मन्त्रीको मंगलबारको निर्देशन पनि सन् २०१९ मा १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गर्ने जिम्मेवारी लिएको नेपाली खेलकुदको भौतिक संरचना निर्माणमै केन्द्रित थियो । दुई वर्षअघि साग आयोजनाको जिम्मेवारीसहित तत्कालीन खेलकुदमन्त्री मण्डलले झन्डा ग्रहण गरेका थिए । तर, साग आयोजनाका लागि पहिलो सर्तका रूपमा रहेको, भौतिक संरचना निर्माणको काम भने अझै सुरु हुन सकेको छैन ।

‘६ महिना÷वर्ष दिनमा सरकार र मन्त्री फेरिन्छन् । कुनै मन्त्री रंगशालाको घाँस सफा गरेर जान्छन्, कुनै मन्त्री भाषणमात्र दिन्छन् । भाषणले मात्र नबन्दो रैछ रंगशाला । धेरै नेपाली खेलाडीले अधिकतम उपलब्धि हासिल गर्नसक्ने प्रतियोगिता भनेको साग हो । साग आउन अब डेढ वर्षमात्र बाँकी छ तर रंगशाला मर्मतका लागि भर्खर टेन्डर हुँदैछ । यस्तो पाराले राखेप र सरकारको कसरी विश्वास गर्ने', नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ भन्छन् । २०७२ सालको विनाशकारी भूकम्पअघि नेपालमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अधिकांश प्रतियोगिताको भार काठमाडौंको एकमात्र दशरथ रंगशालाले थेग्दै आएको थियो ।

भूकम्पका कारण दशरथ रंगशाला जीर्ण बनेको थियो । रंगशाला परिसरको पौडी पोखरी, कभर्डहल, खेलाडी छात्रावास, मेडिकल सेन्टर र राखेप सचिवालय पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले मन्त्री र सदस्यसचिवले चाहेरमात्र कुनै पनि संरचना तत्काल बनिहाल्ने अवस्था नरहेको प्रतिक्रिया दिए । ‘रंगशालाको डीपीआर तयार गर्न प्राविधिक ढिलाइ भयो । अब १३औं सागलाई भ्याउने हिसाबले तीव्र गतिमा काम हुन्छ । सागअगाडि नै मर्मत र निर्माणको काम सकिनेछ', विष्ट भन्छन् । उनले बजेटका कारण निर्माणकार्य नरोकिने दाबी पनि गरे ।

खेलकुदको भौतिक संरचना निर्माणको काम राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाले हेर्ने गरेको छ । शाखाका प्रमुख एवं इन्जिनियर अरुण उपाध्याय खेलकुदका संरचना निर्माण कार्य कठिन रहेको बताउँदै भन्नासाथ तयार हुन नसक्ने बताउँछन् । ‘नेता र मन्त्रीको भाषणले मात्र गाह्रो छ, निर्माणको काम जादुको छडी होइन, जुन भन्नासाथ निर्माण होस्', उपाध्याय भन्छन् । उनका अनुसार दशरथ रंगशालाको साधारण प्यारापिट मर्मत गर्नमात्र अझै दुई वर्ष लाग्छ । ‘अहिले रंगशालाको ट्र्याकसँगै जोडिएको साधारण प्यारापिटको पर्खाल भत्काउनका लागि टेन्डरको काम सकिएको छ । पर्खाल भत्काएर त्यहाँ वारपार पिलर राखिनेछ । त्यसका लागि फेरि टेन्डर खोलेर बनाउँदा कम्तीमा दुई वर्ष लाग्छ', उनी भन्छन् ।

१) रंगशालाको साधारण प्यारापिट मर्मत गर्नमात्र अझै दुई वर्ष लाग्ने ।
(२) भीआईपी प्यारापिट बनाउने जिम्मा नेपाली सेनालाई दिने सैद्धान्तिक सहमति ।
(३) खेलकुद, अर्थ र रक्षा मन्त्रालयले स्वीकृति दिएपछि मात्र सेनाले बनाउनसक्ने ।
(४) काठमाडौंमा ५० हजार दर्शक क्षमताको छुट्टै स्टेडियम बनाउने योजना पनि नारामा सिमित ।
(५) पौडी पोखरी परिसर र छात्रावासको भवन भत्काउने कार्य सकिए पनि त्यहाँ के बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी ।

उपाध्यायले राखेपलाई दैनिक कामचलाउ प्रशासनिक भवनको मुख्य खाँचो भएकाले त्यसलाई पहिलो प्राथमितामा राखिएको बताए । ‘हामी अहिले जीर्ण संरचना भत्काउने काममा व्यस्त छौं । चालू आर्थिक वर्षमा राखेपको प्रशासनिक भवन निर्माण, साधारण प्यारापिट र कभर्डहल मर्मत गरिनेछ । चारतले सुविधासम्पन्न प्रशासनिक भवन र प्यारापिट निर्माण दुई वर्षमा पूरा हुनेछ । पौडी पोखरी परिसर र छात्रावासको भवन भत्काउने कार्य सकिए पनि त्यहाँ के बनाउने भन्ने विषय अझै टुंगो लागेको छैन', उपाध्यायले भने ।

भूकम्पपछि रंगशालाको भीआईपी प्यारापिट पनि काम नलाग्ने अवस्थामा छ । भीआईपी प्यारापिट बनाउने जिम्मा नेपाली सेनालाई दिने सैद्धान्तिक सहमति भएको छ । तर, त्यसका लागि युवा तथा खेलकुद, अर्थ र रक्षा मन्त्रालयले स्वीकृति दिएपछि मात्र सेनाले बनाउनसक्छ । संरचना निर्माणका लागि जनशक्ति, समय र बजेट पनि मुख्य विषय भएकाले एकैपटक सबै काम गर्न नसकिएको उपाध्यायले बताए । सरकारले चालू आर्थिक वर्षको बजेटमा खेलकुदको संरचना निर्माणका लागि ५६ करोड ४५ लाख रुपैयाँ छुट्याएको छ । यही रकमबाट देशभरको खेलकुदका भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ।

‘एउटा मैदान र स्टेडियम निर्माणका लागि कम्तीमा ३५ देखि ४० करोड रुपैयाँ लाग्छ । विनियोजित रकममध्ये एउटा प्रोजेक्टलाई वर्षमा दुई देखि तीन करोड रुपैयाँभन्दा बढी खर्च गर्न सकिने अवस्था छैन । त्यसैले बनेका हरेक संरचनलाई बहुवर्षीय योजनामा समावेश गर्नुपर्ने बाध्यता छ', इन्जिनियर उपाध्याय भन्छन् । सरकारले काठमाडौंमा ५० हजार दर्शक क्षमताको छुट्टै स्टेडियम निर्माण गर्ने भनेको पनि धेरै वर्ष बितिसकेको छ ।

जग्गा उपलब्ध भएको ठाउँमा स्टेडियम बनाउन पायक नपर्ने र पायक पर्ने सहरी इलाकामा आवश्यक जग्गा उपलब्ध नहुने समस्या देखिएको छ । समयमै आवश्यक भौतिक संरचना निर्माण नहुँदा नेपालबाट १३औं साग गुम्नसक्ने सम्भावना पनि उत्तिकै छ । १३औं साग आयोजनाको अन्तिम निर्णय आगामी सेप्टेम्बरमा बस्ने दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले गर्दैछ । १३औं साग आयोजनाका लागि श्रीलंकाले पनि दाबी गरिरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.