नेपाली दर्शनमाथि छलफल
काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली दर्शनका विविध पक्ष' माथि विज्ञहरूले छलफल गरेका छन् । प्रतिष्ठानको दर्शन विभाग र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा चारवटा विभिन्न दर्शनका विषयमा कार्यपत्र प्रस्तुत गरिएको हो । विष्णु प्रभातले ‘प्र्रकृतिपूजक बोन दर्शन : संक्षिप्त परिचय', डा.भक्त राईले ‘किरात राई मुन्दुमको तत्वव मीमांसा', डा.चन्द्रकुमार सेर्माले ‘किरात धर्म, मुन्धुम दर्शन', र किरण राईले ‘प्रेमवाद दर्शनको परिचय' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कवि तथा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले दर्शनलाई नजिकबाट बुझ्न कार्यक्रम अत्यन्तै उपयोगी भएको उल्लेख गरे । उनले धर्म र दर्शनले मानव जीवनमा पार्ने प्रभावका बारे यस्तो गोष्ठीले प्रस्ट पार्ने बताए । ‘दर्शन मानव जीवनको दर्पण हो । यसले व्यक्तिगत जीवनमा महत्ववपूर्ण प्रभाव पार्छ', उनले भने । नेपाल दर्शनको उद्गमभूमि भएको जनाउँदै नेपालमै उत्पत्ति भएका चारवटा दर्शनबारे बताए ।
मुन्धुमी दर्शनदेखि बौद्ध दर्शन, सत्यहाङ्मा पन्थी किरात दर्शन र प्रेमवादसम्मको उत्पत्ति नेपालमै भएको जानकारी दिँँदै दर्शनको सही व्याख्या र प्रचारप्रसारमा ध्यान पु¥याउन जरुरी भएको औंल्याए । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले छुट्टै दर्शन विभागको स्थापना गरेर नेपाली दर्शनमा बहस र छलफलको परम्परा बसाएको बताए ।