रूपन्देहीमा सकियो रोपाइँ
लुम्बिनी: समयमै पर्याप्त पानी परेका कारण रुपन्देहीमा यस वर्ष रोपाइँ सम्पन्न भएको छ।
यस वर्ष किसानले पानी र मागअनुसार मलखाद पाएका कारण उत्पादन अपेक्षाअनुसार हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख भोजराज सापकोटाले बताए। जिल्लामा ६९ हजार ४०० हेक्टरमा धान खेती गरिन्छ।
यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमअन्तर्गत मर्चवारको असुरैनामा १०० हेक्टर क्षेत्रफलमा धानको ब्लक र जिल्लाका विभिन्न ठाउँमा २४ वटा पकेटमा धान खेती गरिएको छ।
गत वर्ष तीन लाख ५२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। दुई वर्षयता रुपन्देहीमा चैतेधान खेती शुरु गरिएको छ । उत्पादन बढी भएपछि किसान चैतेधानतर्फ आकर्षित भएका हुन्।
जिल्लामा यस वर्ष ७४ हेक्टरमा चैतेधान गर्दा ३८० मेट्रिक टन उत्पादन भएको छ। जिल्लामा अगौटे जात, मध्यम जात र पछौटे जातको धान लगाइन्छ।
राधा ४, सावित्री, रामधाम र सावा मनसुली, गोरखनाथ, लोकनाथ, मयूर र मनिषा जातको धान समेत किसानको रोजाइमा पर्छ। सुख्खा तीन, हर्दिनाथ एक, मकवानपुर एक, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनिषा, पृथ्वी, सुरज, चाँदनी सोणसावा एक, सावा सव एक, गोल्डेन मन्सुली, कालानमक जातको समेत धान लगाउने गरिएको छ।
कार्यालयका अनुसार खेतीयोग्य ८२ हजार ६२२ हेक्टर जमिनमध्ये १० हजार ८०० हेक्टरमा मात्रै बाह्रै महिना सिँचाइ सुविधा छ। यो कुल खेतीयोग्य जमिनको करिब १३ प्रतिशत हो। सिँचाइयुक्त क्षेत्र बढाउन जिल्लामा हाल साना-ठूला गरी २० वटा सिँचाइ आयोजना सञ्चालनमा छन्। रासस