आमासँगै जेलमा बसेकी सीमाको उद्धार हुँदै
सुर्खेत : कालिकोटमा आमासँगै जेलभित्र सजाय भोग्दै आएकी नाबालिकाको उद्धार हुने भएको छ। दुई वर्षदेखि आमासँगै जेलभित्र रहेकी सीमाको उद्धारका लागि आवश्यक प्रक्रिया सुरु भएको हो। वीरेन्द्रनगरमा रहेको सुरक्षित घर नेपालले संरक्षण दिने भएपछि सीमाको उद्धार प्रक्रिया थालिएको छ ।
कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ निवासी मिमसरा विष्टले पतिको हत्या गरेपछि अदालतले उनलाई जेल सजाय सुनाएको थियो। अदालतको आदेशपछि मिमसरा दुई वर्षदेखि जेलमा छन्। बाबुको हत्या भएको र घरमा संरक्षण गर्ने कोही नभएपछि चार वर्षिया बालिका सीमा पनि आमासँगै कारागार भित्र छिन्। आमासँगै सीमाले जेलभित्र सजाय भोगिरहेको र उनी शिक्षा पाउनबाट बञ्चित भएको समाचार बिहीबार अन्नपूर्णमा प्रकाशित भएको थियो।
समाचार प्रकाशित भएपछि बिहीबार नै वीरेन्द्रनगरमा रहेको सुरक्षित घर नेपाल नामक बालगृहले सीमालाई संरक्षण दिने प्रतिबद्धता जनाएको छ। संस्थाका अध्यक्ष हरिराम भारतीले सीमाको पालनपोषण र शिक्षाका लागि आफूहरु सहयोग गर्न तयार भएको बताए ।
संस्थाको प्रतिबद्धतापछि सीमाको उद्धारका लागि आवश्यक कागजपत्र बनाउन सुरु भएको कारागारले जनाएको छ। कालिकोट कारागारका निमित्त जेलर मोहनप्रसाद आचार्यले बालिकाको जन्मदर्ता, गाउँपालिका र जिल्ला बाल कल्याण समितिको अनुमति तथा सिफारिस बनाउने काम सुरु भएको जानकारी दिए।
सबै प्रक्रिया पूरा भएपछि केही दिनमा नै सीमालाई वीरेन्द्रनगर पठाइने उनको भनाइ छ। सीमाको उद्धारका लागि आवाज संस्था सुर्खेत र महिला तथा बालबालिका कार्यालय सुर्खेतले पनि समन्वय गरिरहेका छन्। सुरक्षित घर नेपालले प्रदेश ६ अन्तर्गतका कारागारमा रहेका बालबालिकालाई उद्धार गरेर संरक्षण दिदैं आएको छ। सीमालाई पनि उद्धार गरेर उनको शिक्षामा सहयोग गर्ने बालगृहले जनाएको हो। सँगै जन्मिएकाहरु नर्सरीमा भर्ना भए पनि जेलभित्र भएका कारण सीमाले त्यो अवसर पाउने सकेकी थिइनन्।