शाह सरकारका सुरक्षा सल्लाहकारमा नियुक्त
काठमाडौं: सरकारले पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) सुरेन्द्र बहादुर शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बिहिबार विहान बसेको बैंठकले गृहमन्त्री जनार्दन शर्माको सिफारिसमा शाहलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको हो।
शाह गृहमन्त्री शर्माको गृह जिल्ला रुकुमका सहपाठी समेत हुन् । सुरक्षा सल्लाहकारमा नियुक्त शाह प्रहरी भित्रका ‘क्लिन’ अधिकृतको
रुपमा चिनिन्छन् । प्रहरी प्रतिष्ठान, अपराध अनुसन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरी लगायतको ईन्चार्ज भएर काम गरीसकेका शाह मुलुकको आन्तरिक एवं बाह्य सुरक्षा संवेदनशिलतामा दख्खल राख्छन् । शाह गृह मन्त्रालयमै बस्ने छन् ।
मन्त्रिपरिषद्ले ११ जना प्रहरी नायब महानिरिक्षक (डीआइजी) बाट एआइजी बढुवालाई अनुमोदन गरेको छ । डीआइजीहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमलसिंह बम, मिङ्मार लामा, रणबहादुर चन्द र बिजयकुमार भट्टलाई गत असार ३० गते एआइजी बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस विरुद्ध लोक सेवा आयोगको उजुरी छानविन समितिमा डीआइजी मधुसुदन पुडासैनीले उजुरी दिएपनि अयोगले खारेज गरेपछि सरकारलाई बढुवा गर्न बाटो खुलेको थियो ।