सडकबाटै नगरपालिका कार्यालय सञ्चालन
धादिङ: जिल्ला समन्वय समितिको गेट अगाडीको पीच सडकमा टेवुल कुर्चि राखिएको छ। समय-समयमा परिरहेको पानी ओत्नको लागि त्रिपाल पनि टाँगिएको छ।
कुर्चिमा बसिरहेका छन नीलकण्ठ नगरपालिका उपमेयर मनराज भण्डारी र ३ नम्वर वडाका वडा अध्यक्ष। साथमै छन कार्यलयका कर्मचारीहरु पनि। यो दृष्य हो नीलकण्ठ नगरपालिका कार्यलयको।
बुधवार मेयर भीम प्रसाद ढुङगाना सहित नगरपालिकाका कर्मचारीहरुको टोली टेवुल कुर्चि लिएरै जिल्ला समन्वय समितिबाट कार्यलय संचालन गर्न जाँदा स्थानिय प्रशासनले अवरोध गरेपछि नगरपालिकाले जिल्ला समन्वय समितिकै गेटबाट कार्यलय चलाइरहेको छ।
यसअघि नगरपालिकाको कार्यलय भाडाको घरबाट संचालित थियो। व्यक्तिको घरमा कोठा भाडामा लिएर साघुरो तरिकाले कार्यलय संचालन गरिरहेका बेला खाली हुँदै गएको जिल्ला समन्वय समितिको भवनमा नगरपालिका कार्यलय राख्न पाउनु पर्ने भन्दै जिल्ला समन्वय समितिबाट टेवुल कुर्चि नै लिएर गएका नगरपाकिलाको टोलीलाइ स्थानिय प्रशासनले भित्रै पस्न नदिएपछि उनीहरुले विरोध स्वरुप सडकबाटै कार्यलय संचालन गरेका छन।
नगरपालिकाको टोली जिल्ला समन्वय समितिमा प्रवेश गर्न खोज्ने तर प्रहरीले छेक्ने क्रममा बुधवार प्रहरी र कर्मचारीहरुवीच केहीवेर धकेला धकेल समेत भयो। नीलकण्ठ नगरपालिका मेयर ढुङगाने भने, 'नगरपालिका र जिसस एउटै मन्त्रालय अन्तरगत हुन्, जिससमा कोठाहरु खाली बस्ने, हामी जनताबाट कर उठाएर भाडा तिर्ने गर्न भएन भनेर संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयमा भन्यौँ, उसले समन्वय गरेर चलाउनु भनेर पत्र पठाएको भएपनि त्यसलाइ बेवास्था गरिएकाले बाध्य भएर टेवुल कुर्चि बोकरै आउनुपरेको हो। हामीले प्रशासनले भित्रै पस्न नदिएपछि बाहिर सडकबाटै कार्यलय चलाएका हौँ।'
धादिङमा जिल्ला समन्वय समितिको निर्वाचन हुन भने वाँकी छ। साउन २३ गतेको लागि निर्वाचन तोकिएर उम्मेद्वारी समते दर्ता भइसकेको छ। जिससको निर्वाचनमा नेकपा एमालेको एकल बहुमत छ र उसले उठाएको उम्मेद्धारले जित्ने पक्का पक्की जस्तै भएको छ।
जिससमा एमालेले जित्ने पक्कापक्की भएको र नीलकण्ठ नगरपालिकामा नेपाली काँङग्रेस र नेकपा माओवादी केन्द्रको गठवन्धन रहेकाले यो घटनालाइ राजनितिक दाउपेचको रुपमा हेरिएको छ।
स्थानिय विकास अधिकारी जीवलाल भुषाल भने विदामा बसेका छन।मन्त्रालयले नै समन्वय गरेर कार्यलय संचालन गर्नु भनेर पत्र पठाउदा समेत स्थानिय विकास अधिकारीले कुनै जवाफ नदिइ विदामा बसेकाले आँफैले कार्यलय सार्न खोजिएको नीलकण्ठ नगरपालकामा उपमेयर मनराज भण्डारीले बताए।
नीलकण्ठ नगरपालिकाले जिससमा कार्यलय सार्दैछ भन्ने सुचना पाएपछि जिल्ला प्रशासन कार्यलय धादिङले जिल्ला समन्वय समितिमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको थियो।
जिल्ला प्रशासन कार्यलय धादिङले भने नीलकण्ठ नगरपालिकाको कर्मचारीहरुको टोलीलाइ भित्र पस्न नदिएको नभइ जिल्ला समन्वय समिति भित्रै जिसस निर्वाचन अधिकृतको कार्यलय राखिएकाले त्यसको सुरक्षार्थ सुरक्षाकर्मी परिचालन गर्नुपरेको बताएको छ।
धादिङमा जिल्ला समन्वय समितिको निर्वाचन भएको छैन। गत मंगलवार उम्मेद्वारी दर्ता भएपनि साउन २३ गतेलाइ निर्वाचनको मिति तोकिएको छ।
‘हामीले कानुन सम्मत तरिकाले चिठि काटेर मन्त्रालयको सिफारिस लिएर कार्यलय सार्न भनेर आएका हौँ, जवरजस्ती गरेको होइन।' मेयर ढुङगानाले भने, ‘संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयले नै समन्वय गरेर कार्यलय संचालन गर्नु भनेर पत्र पठाएको भएपनि स्थानिय विकास अधिकारीले त्यसको कुनै जवाफ नदिएर विदामा बस्ने काम गरेपछि हामीले सडकबाटै कार्यलय चलाएका हौँ।'
नगरपालिकाले कार्यलय सार्दैछ भन्ने सुचना पाएपछि प्रमुख जिल्ला अधिकारी महेश प्रसाद आचार्यले जिल्ला प्रशासन कार्यलयमा सर्वदलिय वैठक राखेको भएपनि त्यसले कुनै निचोड निकाल्न सकेन।
जिल्ला समन्वय समितिको निर्वाचन नजिकिदै गरेकाले सर्वदलिय छलफलमा निचोड निक्लन नसकेको छलफलमा सहभागी एक नेताले बताए। जिल्ला समन्वय समितिको निर्वाचनपछि आउने नयाँ प्रतिनिधिसंग छलफल गरेर कार्यलय संचालन गर्ने प्रस्ताव गरिएको भएपनि दलहरुवचि सहमती हुन नसकेको बताइएको छ ।