मुग्लिन सडकका दर्जन ठाउँमा पहिरो : २४ घन्टादेखि सवारी साधन अलपत्र
भरतपुर (चितवन) : नारायणगढ–मुग्लिन–सडकखण्डका दर्जन ठाउँमा पहिरो खसेपछि सडकखण्डको बीचबीचमा १ सय २५ भन्दा बढी सवारी साधन अलपत्र परेका छन् । बुधबार साँझ ७:३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाउन नसक्दा सडक २४ घन्टादेखि अवरुद्ध बनेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार, अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । त्यस ठाउँमा काठमाडौँबाट इलाम जान आउँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुबाहक बस र बा १५ च ९३८१ नम्बरको स्कारपियो जीप पहिरोले पुरिएका थिए ।
बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्कारपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेपछि चालक र यात्रु भागेर बाँच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ ।
उक्त सडकखण्डको चेपाङ डाँडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार, यो सडकको दुई किलो, तीन किलो, सेती दोभान, घुमाउनेलगायतका एक दर्जन ठाउँमा ठूलो पहिरोले अवरोध गरेको छ।
अन्य ठाउँमा पनि पहिरो खसेको र यकिन तथ्यांक आउन नसकेको प्रहरीको भनाइ छ। पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको र पहिरो पन्छाउन कठिन भइरहेको खनालले बताए ।
पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी पाँच वटा सवारीसाधन परिचालन गरिएको छ । ठाउँठाउँमा पहिरो खसेकाले बीचबीचमा सवारीसाधन अलपत्र परेका छन् । बुधबार साँझबाट पहिरो खसेर सडक रोकिएपछि यात्रु अलपत्र परेका छन् ।
बुधबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त सडकखण्डको अवलोकन गर्दै निर्माण कार्य छिटो सक्न निर्देशन दिएका थिए ।
भरतपुर–माडी सडक अवरुद्ध
चितवनको माडीस्थित मुगई खोलामा आएको बाढीले जिल्ला सदरमुकाम भरतपुरसँगको यातायात सम्पर्क टुटेको छ । माडी नगरपालिकामा रहेको ठाडो खोलामध्येको सबैभन्दा ठूलो मुगई खोलामा गएरातिदेखि अविरल वर्षाका कारण पानीको सतह बढेको छ ।
माडी नगरपालिकाको साविकका २ गाविस अध्योध्यापुरी र कल्याणपुर पूर्णरुपमा तथा बघौडा गाविसको आधा भागको जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्क टुटेको हो । खोलामा बाढी आएपछि माडी क्षेत्रमा जानेआउने सवारी साधान र पर्साको ठोरीबाट आउने जाने सयौं सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।
माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले खोलाको तल्लो तटीय क्षेत्रका स्थानीय वासिन्दालाई सर्तक रहन आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय लगायत विaभिन्न सामाजिक संघसंस्थाहरुसँग सम्भावित क्षति न्यूनीकरणका लागि पहल गरिरहेको बताए ।
इच्छाकामनामा खानेपानी अभाव
चितवनको इच्छाकामना गाउँपालिकामा पहिरोले खानेपानी पाइप बगाउँदा पानीको अभाव सिर्जना भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ का भोटेश्वरा, किट्श्वरा र पाम डाँडाका १ सय ५० घरधुरीले उपभोग गर्दै आएको खानेपानी पाईप गएरातिको भारी वर्षासंगै आएको पहिरोले बगाएको स्थानीय मानबहादुर गुरुङले जानकारी दिए ।
पहिरोले चार घरको खेती गर्दै आएको बारी बगाएको छ । ठाउँठाउँमा पहिरो खसिरहेको छ । पहिरो खसेका कारण गोठमा रहेको गाइभैँसीलाई उद्धार गर्न नसकिएको गुरुङले बताए ।
झरीसंगै धेरै ठाउँमा जमिन चिराचिरा परेको छ । वडा नम्बर ५ भोटेश्वराका ५० घर पहिरोले पुरिने डर भएपछि स्थानीय त्रसित छन् ।