सेवाग्राहीसँग घुस लिँदालिदै वडा सचिव पक्राउ
राजविराज: सेवाग्राहीसँग घुस लिँदालिदै बिहीबार राजविराजबाट सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देव पक्राउ परेका छन्।
राजविराजस्थित राष्ट्रिय वाणिज्य वैंक नजिक सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले देवलाई पक्राउ गरेको जनाएको छ।
गाउँपालिकामा गरिएको दुई लाख ६८ हजारको सडक ग्राभेलको कामको भुक्तानी फछ्र्यौटका लागि वडा सचिव देवले उपभोक्ता समितिसँग ५३ हजार रुपैयाँ घुस मागेका थिए।
सो वारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुनसरीको ईटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी परेको थियो। अख्तियारका प्रहरी नायव उपरिक्षक रमेश वस्नेतको नेतृत्वमा खटिएको टोलीले बैंक नजिक ५३ हजार रुपैयाँ घुस लिदालिदै देवलाई पक्राउ गरेको हो।
पक्राउ परेका देवलाई घुसवापत लिएको रकमसहित आवश्यक कारवाहीका लागि इटहरीस्थित आयोगको सम्पर्क कार्यालय लगिएको छ।